Comments Add Comment

‘पीएसजीले रामोस र मेसीसहितको टिम बनाउँदैछ’

२१ पुस, काठमाडौं । लिओनल मेसी र सर्जियो रामोस । मेसी बार्सिलोना अनि रामोस रियल मड्रिडको नेतृत्व गरिरहेका छन् । दुवै खेलाडीको क्लबसंग सम्झौता यही सिजनको अन्त्यमा सकिँदैछ ।

दुवै खेलाडीले यही जनवरीमा अबको गन्तव्य तय गर्न सक्छन् । तर रियल रामोसलाई राख्न चाहन्छ । रियलले जस्तै बार्सिलोनाले पनि मेसी अन्त नजाओस् भन्ने चाहन्छ ।

तर सम्झौता सकिएपछि यी खेलाडी कुन क्लबमा जालान् त ? यसको सम्भावित उत्तरहरु पनि छन् ।

दुवै खेलाडीको गन्तव्य फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) हुन सक्न स्पेनिस अनलाइन मार्काले समाचारमा उल्लेख गरेको छ ।

करिब दुई दशक रियलको सेन्टर ब्याक रामोस र बार्सिलोनाका फरवार्ड मेसी एक अर्का विरुद्ध खेले । अब भने यी दुई खेलाडी एउटै फ्रान्सेली क्लबमा हुन सक्नेछन् ।

यद्यपि त्यसको लागि आउने समर कुर्नुपर्नेछ । दुवैको सम्झौता २०२१ जुन ३० मा सकिँदैछ ।

डिसेम्बर ३० मा एल्चे विरुद्ध खेल्नुअघि रामोसले रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजसंग कुराकानी गरेको एल चिरिङ्गुइटो प्रिजेन्टर जोसेफ पेड्रेरोलले सोमबार खुलासा गरेका छन् ।

‘फ्लोरेन्टिनो पेरेजले पीएसजीबाट रामोसका लागि कुनै अफर नआएको विश्वास राखेका छन् । कम्तीमा पीएसजीको नेतृत्वले रियलसंग कुरा गरेको आधारमा उनले यसो भनेका हुन्’ पेड्रेरोलले भने, ‘तर रामोसका अनुसार पीएसजीले उनी र मेसीसहितको उत्कृष्ट टिम बनाउन चाहन्छ ।’

पेड्रेरोलले कोभिड-१९ को अहिलेको अवस्थामा यदि खेलाडीलाई पीएसजीले आकर्षक प्रस्ताव गरे त्यसलाई स्वीकार गर्नुपर्ने अवस्थामा फ्लोरेन्टिनो रहेको पनि बताए ।

कप्तान रामोसले तत्कालका लागि रियलले राखेको पहिलो नविकरण प्रस्ताव अस्वीकार गरेका छन् । त्यसैले उनीहरु यस विषयमा कुराकानी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment