Comments Add Comment

दलहरुको आन्दोलनमा राष्ट्रपतिको यौनिकतामाथि हमला भयो : सांसद पौड्याल

राष्ट्रियसभा सांसद विमला राई पौड्यालले राजनीतिक दलले गरेको आन्दोलनमा राष्ट्रपतिको यौनिकतालाई विषय उठाइएको भन्दै आपत्ति जनाएकी छन् । केही दिनअघि काठमाडौंमा नेकपाको प्रचण्ड– माधव समूहले गरेको विरोध कार्यक्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी भएको थियो ।

त्यस क्रममा राष्ट्रपतिको यौनिकतामाथि हमला भएको भन्दै उनले भनिन्, ‘त्यहाँ जुन किसिमको नाराहरु लागे । यदि पुरुष राष्ट्रपति भएको भए र त्यही काम गरेको भए यस्तो नारा लाग्दैनथ्यो ।’

३/३ जना पूर्वप्रधानमन्त्री सहभागी कार्यक्रममा राष्ट्रपतिको यौनिकताको विषयमा नाराबाजी हुनु लज्जास्पद र आपत्तिजनक भन्दै उनले माफी माग्न आग्रह गरिन् । ‘यदि त्यस्तो नारा लगाउने मान्छे राजनीतिक मान्छे हो भने सार्वजनिक रुपमा माफी माग्ने कि नमाग्ने ?’ उनले प्रश्न गरिन् ।

लोकतान्त्रिक आन्दोलनमा पुरुष बराबरै महिलाको पनि सहभागिता रहेको भन्दै सांसद पौड्यालले राजनीतिमा विरोध र समर्थन गर्न पाइने भए पनि राजनीतिक संस्कार चाहिने बताइन् । ‘राम्रो काम, नराम्रो कामको विरोध गर्न पाइन्छ, (संसद विघटनलाई ) कसैले राम्रो भनेका छन्, कसैले नराम्रा भनेका छन’ उनले भनिन् ‘यो विषय सर्वोच्च अदालत र निर्वाचन आयोगमा कुरा पुगेको छ, त्यहाँ छलफल होला । तर किन महिलाको यौनिकतासँग जोडेर कुरा गरिन्छ ?’

अहिले राजनीतिक दलका नेताहरुले गर्ने भाषण छोराछोरीसँग बसेर हेर्न लाज हुने पौड्यालले बताइन् ।

राष्ट्रपतिको यौनिकताको विषयमा नाराबाजी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएको र भेला आयोजना गर्नेविरुद्ध पनि मुद्धा हाल्ने तयारी भएको उनले बताइन् ।

सांसद पौड्यालले उपप्रधानमन्त्री भइसकेको व्यक्तिले प्रधानमन्त्रीमा महिलाको अंग परेको छ भनेर भाषण गरेको पनि टिप्पणी गरिन् । नेकपा नेता भीम रावललाई लक्षित गर्दै पौड्यालले उक्त आरोप लगाएकी थिइन् । तर रावलले प्रधानमन्त्रीमाथि त्यस्तो टिप्पणी नगरेको बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment