+
+

काठमाडौंको नगरसभाको ८औं अधिवेशनमा ३ वटा विधेयक पेश

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते १८:१४

२७ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको आठौं अधिवेशन सुरु भएको छ । अधिवेशनमा तीन वटा विधेयक पेश भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक– २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक– २०७७’ पेश भएका हुन् ।

ती विधेयकहरु विभागीय प्रमुखहरु क्रमशः हरिकुमार श्रेष्ठ, हरिबहादुर भण्डारी र दीपक अधिकारीले प्रस्तुत गरेका थिए। यी विधेयकहरु आगामी माघ ७ गतेको बैठकमा निर्णयका लागि पेश हुने महानगरपालिकाले जानकारी दिएको छ । पुस २४ गते बसेको महानगरको ५५ औं कार्यपालिका बैठकले आजको सभामा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सुरु बैठकमा चालु आर्थिक बर्षको ५९ वटा कार्यक्रममा संशोधन प्रस्ताव गरिएको छ । यसरी प्रस्ताव गरिएका कार्यक्रमहरुमा निशुःक वितरणका लागि औषधि खरिद, सार्वजनिक सम्पत्तिको मर्मत तथा संरक्षण, स्वास्थ्य उपकरण खरिद, मठमन्दिर, गुठीघर, देवता घरजस्ता सांस्कृतिक संरचनाको पुननिर्माण, मर्मत सम्भार तथा सौन्दर्य बढाउने, सडक स्तरोन्नति गर्ने, ढल तथा मंगाल निर्माण गर्ने काम रहेका छन् । त्यस्तै सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य, यातायात तथा सुरक्षा व्यवस्थापन नगर साझेदारी कार्यक्रमलगायत छन् ।

सातौं नगर सभाबाट स्वीकृत कार्यक्रममध्ये केही कार्यक्रमको शीर्षक मिलाउनु पर्ने, केहीको स्रोत सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनमा आउन नसक्ने कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने योजनामा परिवर्तन गर्नुभएको भएकोले बजेट संशोधन प्रस्ताव गरिएको हो ।

‘विभिन्न वडाबाट पूर्वाधार निर्माणका धेरै माग आइरहेका छन्,’ सभाका अध्यक्ष एवं प्रमुख शाक्यले भने, ‘ती मागलाई लागतमा रुपान्तरण गरेर हेर्दा अर्बौंको बजेट आउन सक्छ । यसरी माग भएका योजनालाई आगामी बर्षको कार्यक्रममा समेट्ने छौं । अहिले भने स्वीकृत नीति र कार्यक्रम तथा कानूनले दिएको अधिकार प्रयोग गरेर केही शीर्षकहरुमा बजेट संशोधन प्रस्ताव गरिएको हो ।’

सभाले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिएको छुटलाई चैत्र मसान्तसम्म दिने निर्णय गरेको छ । कोभिड १९ को महामारी नसकिएकोले महानगरबासीलाई दिइएको कर छुटको सुविधा थप ३ महिनासम्म बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?