
५ माघ, काठमाडौं । सन् २०२० मा चीनको अर्थतन्त्रमा २.३ प्रतिशतको वृद्धिदर हासिल भएको छ । चीनको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सले सोमबार दिएको जानकारीअनुसार कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका धेरै मुलुकहरुको अर्थतन्त्रमा संकुचन देखिएको अवस्थामा चीनको आर्थिक वृद्धिदर भने अपेक्षा गरिएभन्दा धेरै देखिएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गत अक्टोबरमा चीनको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।
सन् २०२० को चौथो त्रैमासमा चीनको अर्थतन्त्रमा देखिएको सुधारको कारण चीनको आर्थिक वृद्धिदर पनि अपेक्षाभन्दा धेरै देखिएको हो । चौथो तथा अन्तिम त्रैमासमा चिनियाँ अर्थतन्त्र ६ दशमलव ५ प्रतिशतले बढेको थियो । सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ६ प्रतिशत थियो । यद्यपि २०२० को सुरुआतमा नै चीन कोरोनाको महामारीमा परेकाले चिनियाँ अर्थतन्त्र पनि प्रभावित बनेको थियो ।
पहिलो त्रैमासमा ६.८ प्रतिशतको संकुचनमा परेको चिनियाँ अर्थतन्त्र दोस्रो त्रैमासमा ३.२ प्रतिशत बढेको थियो । त्यस्तै तेस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्रमा ४.९ प्रतिशतको वृद्धिदर हासिल भएको थियो । निजी खपत र खर्च बढेसँगै चिनियाँ अर्थतन्त्रमा पनि सुधार देखिएको हो । कोरोना नियन्त्रणका लागि सरकारले चालेको प्रभावकारी योजना तथा कोरोनाबाट प्रभावित व्यवसायहरुलाई सहयोग गर्न ल्याइएको राहत कार्यक्रमको कारण अर्थतन्त्रमा सुधार देखिएको हो ।
प्रतिक्रिया 4