५ माघ, काठमाडौं । पृथु बास्कोटा र आदिल खानले अर्धशतक प्रहार गरेपछि बागमती प्रदेशले प्रधामन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमलाई ३०० रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९९ रन बनाएको हो ।
बागमतीका फागि पृथुले सर्वाधिक ८४ रन बनाए । उनले ९४ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । यस्तै ओपनर आदिलले ८६ बल खेल्दै १० चौका मद्दतमा ६३ रन बनाए ।
६० रन हुँदा ओपनर आकाश थापा र पारस खड्कालाई गुमाएपनि आदिल र पृथुले तेस्रो विकेटका लागि शतकिय साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।
कप्तान ज्ञानेन्द्र मल्ल र विपिन खाचार्यले समान ३२ रन जोड्दा पारस खड्काले २०,ईशान पाण्डेले १७, आकाश थापाले १३ रन जोडे । मनरेश गिरी १० रनमा अविजित रहे ।
सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए । यस्तै भोजराज भट्ट र सन्तोष भट्टले २-२ र विनोद लामाले १ विकेट लिए ।
आइतबार भएको खेलमा साविक विजेता नेपाल पुलिसलाई ७ विकेटले पराजित गरेको बागमती लगातार जित हात पार्ने लक्ष्यमा छ ।
प्रतिक्रिया 4