Comments Add Comment

६ महिनामा साढे ६ खर्बको आयात, निर्यातमा सामान्य सुधार

८ माघ, काठमाडौं । कोरोना भाइरसका कारण मुलुकभित्र अर्थतन्त्रका धेरैजसो क्षेत्र प्रभावित बने । तर, वैदेशिक व्यापारमा आयातको हिस्सा भने प्रभावित भएको छैन । यसलाई अन्तराष्ट्रिय व्यापारको तथ्यांकले पुष्टी गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा कुल ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत वर्ष यसै अवधिको तुलनामा मात्र ४.८१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा कोरोनाको कुनै पनि प्रभाव थिएन ।

परिस्थिति सामान्य रहेको अवस्थाकै हाराहारीमा अहिले आयात पुगेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । आव २०७६÷७७ मा ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस अवधिमा निर्यात भने सामान्य वृद्धि भएको छ । ६ महिनामा नेपालबाट ६० अर्ब ७९ करोड ९९ लाख रुपैयाँ बराबरको वस्तु विदेश निर्यात भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ६.१४ प्रतिशतले बढी हो । अघिल्लो आवको यस अवधिमा ५७ अर्ब २७ करोड ७९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

व्यापार घाटामा सामान्य सुधार

तथ्यांक अनुसार ६ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार ७ खर्ब २२ अर्ब ४ करोड पुगेको छ । कुल वैदेशिक व्यापारको आकार समेत अघिल्लो आवको तुलनामा ३.९८ प्रतिशतले घटेको पाइएको छ ।

आयातमा सामान्य कमी आउँदा यसले कुल व्यापारको आकार समेत घटाएको छ । यस अवधिमा भएको आयात र निर्यातका आधारमा व्यापार घाटामा सामान्य सुधार देखिएको छ । तथ्यांक अनुसार ६ महिनाको अवधिमा नेपालको व्यापार घाटा ६ खर्ब ४४ करोड रुपैयाँ बराबरको रहेको छ ।

अघिल्लो वर्ष यसै अवधिमा व्यापार घाटा ६ खर्ब ३७ अर्ब रुपैयाँको थियो । यो वर्ष व्यापार घाटामा ५.८० प्रतिशतको सुधार देखिएको हो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.८७ प्रतिशतले घटेको पाइएको छ ।

निर्यातले पेट्रोलियम पदार्थको समेत आयात धान्दैन

६ महिनाको अवधिमा नेपालले निर्यात गरेको कुल ६० अर्ब ७९ करोड रुपैयाँले यस अवधिमा पेट्रोलियम पदार्थको आयात समेत किन्न पुगेन । तथ्यांक अनुसार यो अवधिमा नेपालमा ८० अर्ब ६० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस अवधिमा १९ अर्ब बराबरको तरकारीजन्य वस्तु आयात भएको छ ।

आइरन र स्टीलको आयात ६३ अर्ब ४८ करोड बराबरको भएको छ । यी वस्तु भने विकास निर्माणमा बढी प्रयोगमा आउँछन् । नेपालको वैदेशिक व्यापार १३२ भन्दा बढी मुलुकसँग भएको देखिएको छ ।

यस्तो रह्यो ६ महिनाको वैदेशिक व्यापार

आयात : ६ खर्ब ६१ अर्ब २४ करोड (४.८१ प्रतिशत घटेको)

निर्यात : ६० अर्ब ७९ करोड (६.१४ प्रतिशत बढेको)

व्यापार घाटा :६ खर्ब ४ करोड (५.८० प्रतिशत घटेको)

कुल वैदेशिक व्यापार :७ खर्ब २२ अर्ब ४ करोड (३.९८ प्रतिशत घटेको)

व्यापारमा आयातको हिस्सा :९१.५८ प्रतिशत (०.८७ प्रतिशत घटेको)

व्यापारमा निर्यातको हिस्सा:८.४२ प्रतिशत (१०.५४ प्रतिशत बढेको)

भारतसँग ३ खर्ब ९५ अर्ब व्यापार घाटा

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । सोहीकारण व्यापार घाटा समेत सोही मुलुकसँग बढी छ । तथ्यांक अनुसार ६ महिनाको अवधिमा नेपालले भारतबाट ४ खर्ब ३८ अर्ब ८२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसअवधिमा निर्यात भने ४३ अर्ब ५२ करोड बराबरको वस्तु निर्यात भएको छ ।

यसले व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड देखिएको छ । यस अवधिमा चीनतर्फ मात्र ५० करोडको सामान निर्यात हुँदा ९६ अर्ब ३२ करोड बराबरको वस्तु आयात भएको छ । चीनसँग ९५ अर्ब ८१ रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment