Comments Add Comment

पुलिस र लुम्बिनीबीचको खेलमा कीर्तिमानै कीर्तिमान

८ माघ, काठमाडौं । नेपाल पुलिस क्लबका सुनील  धमलाले बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको चौथो संस्करण प्रधानमन्त्री कपमा राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेश विरुद्ध शतक प्रहार गरे । १०४ रन बनाएका धमलाले झण्डै पुलिसको इनिङ्सको आधा इनिङ्स एक्लै ब्याटिङ गरे ।

प्रधानमन्त्री कपमा धमलालको यो पहिलो शतक हो । उनले १४५ बल खेल्दै १०४ रन बनाए । जसमा ७ चौका र १ छक्का समावेश थियो ।

पुलिस र लुम्बिनी दुबै टिमले  पुरै ५०/५० ओभर ब्याटिङ गरे । जारी प्रतियोगितामा सय ओभर नै ब्याटिङ भएको यो पहिलो खेल हो । टस हारेको पुलिसले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा लुम्बिनीले पनि पूरै ५० ओभरमा ब्याटिङ गर्‍यो तर ७ विकेट गुमाएर २३६ रन मात्र बनाउन सकेपछि पुलिसले खेल ७४ रनले जित्यो ।

यस सिजन पूरै इनिङ्स ब्याटिङ भएको यस खेलमा अन्य विभिन्न कीर्तिमान बनेका छन् । यस्तै एक कीर्तिमान यस्तो बनेको छ कि राष्ट्रिय प्रतियोगितामै सबैभन्दा छिटो अर्धशतक प्रहार भएको छ ।

खेलमा एक शतक र तीन अर्धशतक प्रहार भए । सुनील धमलाले प्रहार गरेको शतक यस संस्करणको दोस्रो हो । यसअघि उद्घाटन खेलमै आर्मीका कप्तान विनोद भण्डारीले गण्डकी विरुद्ध नटआउट १११ रन बनाएका थिए ।

पवनको शानदार कीर्तिमान

पुलिसका पवन सर्राफले १३ बलमै अर्धशतक प्रहार गर्दै नयाँ कीर्तिमान नै बनाए । पवनले मात्र १३ बल खेल्दै अर्धशतक प्रहार गरे । उनले इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गर्दै कीर्तिमान बनाएका हुन् ।

जसमा पवनले ४० रन त बाउन्ड्रीबाट मात्रै प्रहार गरेका थिए । उनले ६ छक्का र १ चौका प्रहार गरे । ४७.२ ओभरमा टिमको स्कोर २५४ हुँदा क्रिजमा प्रवेश गरेका पवनले त्यसपछि विष्फोटक ब्याटिङ नै गरे ।

उक्त ओभरमा २ बल खेलेका उनले सिंगल र चौका गरी ५ रन बनाए । ४९ औं ओभरमा आरिफ शेखले पहिलो बलमा १ रन लिँदै पवनलाई स्ट्राइक दिए । विक्रम भुसालको उक्त ओभरमा पवनले ५ बल खेल्दै २ छक्कासहित १७ रन जोडे । अन्तिम ओभरअघि पवनले ७ बल खेल्दै २२ रन जोडेका थिए । ओभरको अन्तिम बलमा सिंगल लिँदै अन्तिम ओभरमा स्ट्राइक आफै राखेका पवनले त्यसपछि झनै विस्फोटक ब्याटिङ गरे । सौरभ खनालले बलिङ गरेको अन्तिम ओभरमा पवनले ४ छक्कासहित २८ रन जोडे र अर्धशतक पूरा गरे ।

घरेलु क्रिकेटमा पवनले कीर्तिमान कायम गर्दा सुनील धमलाको शतक नै छायामा पर्‍यो । खेलको म्यान अफ दि म्याच पुरस्कार धमलाले पाए तर चर्चा पवनको भइरहेको थियो । पवनले बलिङमा समेत दुई विकेट लिएका थिए ।

४७ ओभरपछि क्रिजमा गएर अर्धशतक प्रहार गर्ने अर्को कीर्तिमानसमेत पवनले बनाएका छन् । यस्तै पवनले थोरै बल खेलेर बाउण्ड्रीबाट धेरै रनसमेत बनाए ।

पवन र आरिफ शेखले पाँचौ विकेटका लागि १६ बलमा ५६ रनको साझेदारी गरे । खेलमा सुस्त सुरुवात गरेपनि विकेट बचाएको पुलिसले अन्तिम ७ ओभरमा ११३ रन बनाएको थियो ।

५४६ रनको कीर्तिमान

पूरै इनिङ्स ब्याटिङ भएको यस खेल जारी प्रतियोगितामा सर्वाधिक रन बनेको खेलसमेत बनेको छ । १०० ओभरमा कूल ५४६ रन बन्यो ।  पुलिसले ३१० र लुम्बिनीले २३६ रन बनायो ।

यसअघि उद्घाटन खेलमा त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच ९८ ओभरको खेल हुँदा ४७६ रन बनेको थियो । जसमा आर्मीले ५० ओभर खेल्दै २८७ रन बनाएको थियो । गण्डकीले ४८ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो ।

५४६ रन प्रधानमन्त्री कपको इतिहासमा एकै खेलमा बनेको सर्वाधिक रनको कीर्तिमानसमेत हो । यसअघि तेस्रो संसक्रणमा एपीएफ र बागमति (प्रदेश ३) बीचको खेलमा ५३५ रन बनेको थियो । यस्त तेस्रो संस्करणमै आर्मी र प्रदेश ३ बीचको खेलमा पनि ५०१ रन बनेको थियो । यी दुवै खेल पूरा १०० ओभर नै ब्याटिङ भएको थियो ।

 सर्वाधिक छक्का – २५

पुलिस र लुम्बिनी बीचको खेलमा यस संस्करणको सर्वाधिक छक्का प्रहार भयो । दुई टिमले गरी कूल २५ छक्का प्रहार गरे । जसमा पुलिसले १५ र लुम्बिनीले १० छक्का प्रहार गरेको थियो ।

पुलिसका पवन र दीपेन्द्र सिंह ऐरीले ६-६ छक्का प्रहार गरे । यस्तै लुम्बिनीका सौरभ खनाल र कृष्ण कार्कीले समान ५ छक्का प्रहार गरे । पुलिसका आरिफ शेखले २ र सुनील धमलाले १ छक्का प्रहार गरे ।

यस्तै पवन र दीपेन्द्रले प्रहार गरेको ६ छक्का यस संस्करणको एक इनिङ्समा एक खेलाडीले प्रहार गरेको संयुक्त रुपमा सर्वाधिक छक्का समेत रह्यो । आजै मुलपानी मैदानमा भएको खेलमा एपीएफका आसिफ शेखले पनि गण्डकी प्रदेश विरुद्ध ६ छक्का प्रहार गरेका थिए ।

प्रधानमन्त्री कपमा एकै खेलमा प्रहार भएको यो सर्वाधिक छक्कासमेत हो । यसअघि २०१७ को पहिलो संस्करणमा आर्मी र तात्कालिन पश्चिमाञ्चल विकास क्षेत्र बीचको खेलमा २३ छक्का प्रहार भएका थिए ।

सर्वाधिक रनको साझेदारी

पुलिसलाई उच्च स्कोर बनाउन सहयोग गरेका सुनिल धमला र दीपेन्द्र सिंह ऐरीले सर्वाधिक रनको साझेदारी गरे । यी दुईले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरे । यस संस्करणमा यो कुनै पनि विकेटका लागि भएको सर्वाधिक साझेदारी हो । उनीहरुले १०६ बलमा उक्त साझेदारी गरेका थिए । जसमा दीपेन्द्रले ७० र सुनील धमलाले ५७ रन योगदान गरे ।

यसअघि आर्मीका अनिल मण्डल र विनोद भण्डारीले चौथो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । यस संस्करणमा अहिलेसम्म ४ पटक शतकीय साझेदारी भएको छ ।

यस्तै सातौं विकेटका लागि सौरभ खनाल र कृष्ण कार्कीले ५९ रनको साझेदारी गरे । प्रतियोगितामा सातौं विकेटका लागि यो पहिलो अर्धशतकिय साझेदारी हो भने सर्वाधिक रनको साझेदारी हो ।

प्रधानमन्त्री कपमा सर्वाधिक रनको साझेदारी भने एपीएफका सुवास खकुरेल र प्रदीप ऐरीको नाममा छ । २०१८ मा भएको दोस्रो संस्करणमा यो जोडीले प्रदेश २ विरुद्ध २३१ रनको साझेदारी गरेका थिए । प्रधानमन्त्री कपमा यो एक मात्र दोहोरो शतकीय साझेदारी हो । जहाँ सुवास र प्रदिप दुवै खेलाडीले शतक प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment