Comments Add Comment

पर्सामा १२ हजार ४०० मतदाता थपिएपछि १० वटा मतदान केन्द्र थपियो

११ माघ, वीरगञ्ज । पर्सामा १२ हजार ४ सय मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि १२ हजार ४ सय मतदाता थपिएका हुन् ।

निर्वाचनपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा फोटोसहित मतदाता नामावली संकलन कार्य जारी राखिएको थियो ।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन र नयाँ निर्वाचनको घोषणा गरेपछि ६ गतेबाट मतदाता नामावली संकलन कार्य स्थगित भएको छ ।

वि.स. ०७४ सालमा पर्सामा २ लाख ८९ हजार ५४ मतदाता रहेकोमा अहिले ३ लाख १ हजार ४ सय ७३ जना पुगेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

माघ १५ गते देशभरिका सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली प्रकाशित हुँदैछ । मतदाता नामावलीमा कुनै मतदाताको विवरणमा त्रुटि भएमा सच्याउने र कसैको नाम दोहोरो भएको, मृत्यु भएको वा अन्य कारणले नाम हटाउनुपर्ने भएमा उजुरी दिन माघ १६, १७ र १८ गतेको समय तोकिएको छ ।

मतदाता संख्या बढेसँगै जिल्लामा मदान केन्द्र पनि थपिएको छ । बैशाख १७ र २७ गते हुन लागेको संसदीय निर्वाचनको लागि पर्सामा ३ सय ६१ वटा मतदान केन्ऽ तोकिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन् । ‘१ हजार मतदाता बराबर एउटा मतदान केन्द्र तोकिएको हुन्छ, मतदाता संख्या बढेकोले पर्सामा १० वटा मतदान केन्द्र थपिएको छ,’ उनले भनिन् ।

छिपहरमाई गापा-३ नेपाल राष्ट्रिय प्रावि बुडगाई, वडा नं ४ नेराप्रावि तुलसीबर्वा, सखुवाप्रसौनी-३ नेपाल राष्ट्रिय प्रावि कौवावन कटैया, कालिकामाई गाउँपालिको नेपाल राष्ट्रिय प्रावि तीनडोबिया मुडली, पोखरिया नगरपालिको नेपाल राष्ट्रिय प्रावि वसन्तपुर, पोखरिया वडा नं ५ श्रीराधाकृष्ण प्रावि सतवरिया, बहुदरमाई नगरपालिका- ४ नेपाल राष्ट्रिय प्रावि डोकैला बहुअरी, वीरगञ्ज महानगर- ५ को थारू छात्रावास विर्ता, वीरगञ्ज- २२ जगरनाथपुर, मनियारी निमावि, वीरगञ्ज- २९ नेपाल राष्ट्रिय प्रावि बसडिल्वा गरी १० वटा केन्द्र थप गरिएको कार्यालय प्रमुख झाले बताइन् ।

यसअघि पर्साको १४ स्थानीय तहमा १ सय ६७ वटा मतदान स्थल र ३ सय ५१ वटा मतदान केन्ऽ रहेकामा अब मतदान केन्द्रको संख्या ३ सय ६१ पुगेको छ । मतदान स्थल भने पुरानै कायम छ ।

वीरगञ्ज-२३ प्रसौनी गाउँको उत्तर बगैंचामा मतदान स्थललाई यातायात कार्यालयको ट्रायल सेन्टरमा सार्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी झाले बताइन् ।

कालिकामाईमा ६, छिपहरमाई ८, जगरनाथपुरमा ११, जीराभवानीमा ९, ठोरीमा ७, धोबिनीमा ७, पकाहामैनपुरमा ६, पटेर्वासुगौलीमा ८, पर्सागढीमा १२, पोखरियामा ११, बहुदरमाईमा ११, विन्दवासिनीमा ९, वीरगञ्जमा ५५ र सखुवाप्रसौनीमा ७ वटा मतदान स्थल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment