
१९ माघ, विराटनगर । सर्वसाधारणलाई चर्को ब्याजमा ऋण दिने र जसरी पनि असुल उपर गरी ठगी गरेको आरोपमा पक्राउ परेका विराटनगरका मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई जिल्ला अदालत मोरङले पूूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
सर्वसाधारणलाई ‘टाट’ पल्टाएको आरोप लागेका मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई सोमबार अदालतले थुनामा राख्ने आदेश दिएको हो ।
अदालतको आदेशपछि विराटनगर – ९ का ४५ वर्षका रौनियार कारागार चलान भएका छन् ।
जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालका अनुसार न्यायाधीश ईश्वर पराजुलीको इजलासले सोमबार १३ वटा मुद्दामा मन्टुलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
मिटरब्याजमा ऋण लगानी गरी मन्टुले मोरङका १७ जना सर्वसाधारणबाट करोडौं रुपैयाँ असुली गरेपछि उनी विरूद्ध ‘ठगी’ र आपराधिक लाभ लिएको भनी मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतमा १७ थान मुद्दा १२ माघमा दर्ता भएको थियो ।
कानुन व्यवसायीको बहसपछि अदालतले १३ वटा मुद्दामा पुर्पक्षको लागि थुनामा र ४ थान मुद्दामा ५ लाख ८० हजार रुपैयाँ धरौटी मागेको हो ।
२९ मंसिरमा मोरङ प्रहरीले मन्टुलाई विराटनगरस्थित घोघापुलचौकबाट पक्राउ गरी अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
मन्टुले १७ जना सर्वसाधारणलाई ९२ लाख ८८ हजार रूपैयाँ कर्जा दिएर २ करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको प्रहरीको दाबी थियो ।
प्रतिक्रिया 4