Comments Add Comment

वर्ल्ड टेनिस टुर जे ५ : आरभ र अकीको जोडी फाइनलमा

फाइनल पुगेका नेपालका आरभ सम्राट हाडा र अकी जुवेन रावतको जोडी ।

२२ माघ, काठमाडौ । नेपालका अरभ सम्राट हाडा र अकी जुवेन रावतको जोडी वर्ल्ड टेनिस टुर–जे ५ को फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार भएको पुरुष डबल्सतर्फको सेमिफाइनलमा हाडा र रावतको जोडीले भारतको रोनिन लोट्लिकर र मोनिल लोट्लिकरको जोडीलाई ६–४,६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । फाइनलमा हाडा र रावतको जोडीले भारतका आर्यन लक्ष्मनन र आर्यन शाहीको जोडीको सामना गर्नेछ । लक्ष्मनन र शाहीको जोडीले भारतकै अमन धानिया र योभान नन्दनको जोडीलाई ६–२,६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

यता महिला डबल्सतर्फ नेपालकी अभिलासा विष्ट र जर्मनीकी सोन्जा जियानेवायवाको जोडी फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेन र भारतकी रिया उभेजाको जोडीलाई ६–४, ६–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

दोस्रो सेमिफाइनलमा भने नेपालकी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी पराजित भएका छन् । कोइराला र तामाङको जोडी बेल्जियमकी क्याट चोपेज र मार्टी ल्याम्बरजेटको जोडीसँग ६–४, ६–१ ले पराजितभएका हुन् । अब उपाधिका लागि विष्ट र जियाने वायवाको जोडीले चोपेज र मार्टीको जोडीको सामना गर्नेछ ।

यता पुरुष एकलमा भारतका अमन धानिया,अग्रिया यादव र तौरस रावत तथा फ्रान्सका भ्यालेन्टिन फाउरेले अन्तिम ४ मा स्थान पक्का गरेका छन् । धानियाले भारतकै आर्यन शाहीमाथि ६–२,६–० ले हराउँदा यादवले भारतकै अनार्घा गांगुलीलाई ६–४,६–३ ले निराश भए । त्यस्तै फाउरेले भारतका रोनिन लोट्लिकलाई ६–२,७–५ ले पराजित गर्दा रावतले स्पेनका थोमस परेजलाई ६–०,६–२ ले हराए ।

यता महिलातर्फ बेल्जियमकी मार्टी ल्याम्बरचेट र रोमने लङभेल्ली तथा अमेरिकाकी सायना देशपाण्डे र रातुजा चापाल्रले सेमिफाइनमा स्थान पक्का गरेका छन् । मार्टिले अन्तिम ४ मा स्थान पक्का गर्ने क्रममा फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेनमाथि ४–६,६–१,७–६ को जित हात पार्दा रतुजाले बेल्जियमकी क्याट चोपेजलाई २–६,६–४,६–२ को सेटमा हराइन ।

त्यस्तै रोमानेले जर्मनीकी सोन्जा जियानेवायवालाई ७–५,६–१ को सोझो सेटमा पराजित गरिन् ।यता देश पाण्डेले भारतकी मेकहला मनन रिटायर्ड हर्ट भएपछि अन्तिम ४ मा स्थान पक्का गरेकी हुन् ।

प्रतियोगितामा समान ३२–३२ पुरुष-महिला खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, कजाकस्तान, अमेरिका, बेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्र सहभागी छन् । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । साताव्यापी प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धा समावेश छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment