Comments Add Comment

बालबालिकाका लागि जरुरी छ यस्तो आनीबानी

हामी चाहन्छौं, आफ्ना बच्चा स्वस्थ होस् । तन्दुरुस्त होस् । तगडा होस् । बलियो होस् । फूर्तिलो होस् । सधै सक्रिय र उर्जावान् होस् ।

यसका लागि कामना गरेर मात्र पुग्दैन, उनीहरुलाई केही कुरामा अभ्यस्त गराउनुपर्छ ।

बच्चाहरुलाई सफा र चिरिच्याट्ट बनाइदिएमा उनीहरु स्वस्थ मात्रै रहदैनन्, उनीहरुको आकर्षण र आत्मविश्वास पनि बढ्छ । बच्चाहरुलाई सानोमा स्वस्थ बनाइदिने मात्रै होइन उनीहरुलाई आफ्नो सरसफाइ कसरी गर्ने भनेर पनि सिकाउनुपर्छ ।

हरेक बच्चामा बाल्यकालदेखि लागेको बानी ठूलो हुँदा सम्म पनि बसिरहन्छ त्यसैले उनीहरुलाई सानैदेखि आफ्नो सरसफाइको बारेमा सिकाउनुपर्छ ।

मुखको सरसफाई

मुखको सरसफाई प्रत्येक बच्चाको दिनचर्याको एक प्रमुख हिस्सा हुनुपर्छ । मुखको सरसफाईमा उचित ध्यान दिएमा बच्चाहरु दाँतको समस्या,सास गन्हाउने र मुटुको रोगबाट बच्न सक्छन् ।

आफ्नो बच्चालाई दिनमा २ पटक कम्तीमा पनि २ मिनेटको लागि आफ्नो दाँतलाई ब्रसले सफा गर्न आवश्यक छ । विशेषगरि खाना खाएपछि मुखको सफाइ आवश्यक छ ।

—बच्चालाई कम उमेरदेखि नै सँधै ब्रस र कुल्ला गर्ने बानी बसाल्नुहोस् ।

—जिब्रो सफा गर्ने टंग क्लिनरले जिब्रो पनि सफा गर्न सिकाउनुहोस् ।

—आफ्नो बच्चाको दाँत नियमित रुपले जाँच गराउनुहोस् ।

शरीरको सरसफाई आफ्नो बच्चाहरुमा सकेसम्म दैनिक नुहाउने बानी बसाल्नुहोस् । दैनिक नुहाउनाले शरीर त सफा नै रहन्छ उनीहरुको मृत छाला पनि निस्कन्छ ।

बच्चालाई नुहाइदिँदा शरीरका विभिन्न भागहरु जस्तैः हात खुट्टा, हत्केला, जोर्नीहरु, कम्मर नाभी, घुँडा आदीलाई राम्रोसँग सफा गर्नुहोस् ।

बच्चाहरुमा हप्तामा २ पटक कपाललाई स्याम्पु लगाएर धुने बानी बनाउनुहोस् यसले कपालबाट तेल र फोहोर राम्रोसँग निस्कन्छ ।

हातको सरसफाइ

बच्चामा हात नियमित धुने बानी बसाउनुहोस् । उनीहरुलाई हात धुन थोरै समय मात्रै लाग्छ भन्ने सिकाउनुहोस् । साथै उनीहरुलाई हात धुनाले विभिन्न रोगका ब्याक्टेरियाहरु फैलनबाट रोक्न र बिरामी हुनबाट बच्न सकिन्छ भनेर बुझाउनुहोस् ।

विशेषगरि खाना खाएपछि र खानुअघि हात धुन सिकाउनुपर्छ । हाँछ्यु वा खोकेपछि, कुनै खेल खेलेपछि, वासरुम गएपछि हात धुन पर्छ भनेर सिकाउनुहोस् ।

बच्चाहरुलाई हात धुने समयमा साबुन, ह्यान्डवास र पानीको सही प्रयोग गर्न सिकाउनुहोस् ।

खुट्टाको सरसफाई

फोहोर खुट्टाले दुर्गन्ध आउनेमात्रै होइन दाद र अन्य संक्रमणको पनि खतरा बढ्छ त्यसैले बच्चालाई खुट्टा सफा राख्न पनि धेरै आवश्यक छ भन्ने थाहा हुन पर्छ ।

बच्चामा दिनमा २ पटक खुट्टा सफा गर्ने बानी बसाउन पर्छ । औंलाहरुको बीच भागलाई राम्रोसँग पुछेर सुकाउन भन्नुहोस् किनभने औंलाहरुको बीचको ठाउँ भिजेर फंगस हुन सक्छ ।

शौच

बच्चालाई सौच गर्ने सहि तरिका थाहा हुन पर्छ । सँधै अगाडीबाट पछाडितर्फ धुन सिकाउनुहोस । पछाडिबाट अगाडिको तर्फ धोएमा संक्रमणको खतरा बढ्न सक्छ भन्ने कुरा उनीहरुलाई थाहा हुन पर्छ ।

त्यस्तै बच्चालाई ट्वाइलेट गरिसके पछि फ्लस गर्ने बानी सिकाउन पर्छ ।

बच्चालाई संक्रमणबाट बच्न हरेक पटक ट्वाइलेटबाट आए पछि हात धुन धेरै आवश्यक छ भन्ने बुझाउनुपर्छ ।

नङको सरसफाई

बच्चाहरुले आफ्नो नङलाई सफा राख्न सिक्नुपर्छ । किनभने फोहोर नङमा ब्याक्टेरियाहरु जम्मा हुन्छ जसले बिरामी बनाउन सक्छ ।

बच्चाहरुको दाँतले नङ टोक्ने बानी हुन्छ त्यसैले उनीहरुलाई दाँतले नङ काटेमा फोहोर हुन्छ र ब्याक्टेरियाहरु पेटमा पुगेर बिरामी बनाउन सक्छन् भन्ने सिकाउनुपर्छ ।

यसरी सुत्न सिकाउनुहोस्

बच्चाहरुलाई ८—१० घन्टा गहिरो निन्द्रामा सुत्ने बानी बसालिदिनुपर्छ । पुरै निन्द्रा सुतेमा उनीहरुको शारीरिक र मानसिक विकास राम्रो रहन्छ भन्ने उनीहरुलाई थाहा हुन पर्छ ।

सँधै नाइट सुट पहिरिएर सुत्ने बानी बसाइदिनुहोस् किनभने आरामदायक कपडामा उनीहरु गहिरो निन्द्रा सुत्न सक्छन् ।

बच्चालाई आफ्नो ओछ्यानलाई सफा गर्न सिकाउनुहोस् । कम्तीमा पनि सातामा एकपटक तन्ना फेरिदिनुहोस् ।

उनीहरुलाई रातमा ब्रस गरेर हात खुट्टा राम्रोसँग धोएपछि मात्रै बिस्तरामा जान सिकाउनुहोस् ।

बच्चाहरुलाई रातमा सुत्नु अगाडि पिसाब फेर्न जाने बानी बनाउनुहोस् ताकी रातमा उठ्दा निन्द्रा डिस्टर्ब नहोस् ।

घर वा कोठाको सरसफाई

बच्चाहरु जुत्ता चप्पललाई यताउता नराखेर सँधै जुत्ता राख्ने र्याकमा राख्न सिकाउनुहोस् ।

बच्चाहरु फोहोर र अन्य कुनै बेकार चीजहरुलाई डस्टबिनमा राख्न पनि सिकाउनुहोस् ।

त्यस्तै उनीहरुलाई कपडाहरु पट्याएर दराजमा राख्न सिकाउनुहोस् ।

खाना खानु अघि

खाना खानुअघि र पनि राम्रोसँग हात धुन सिकाउनुहोस् ।

हात र मुख पुछ्न सफा कपडाको प्रयोग गर्न सिकाउनुहोस् ।

बच्चाहरु फलफूल आदि खानभन्दा पहिले त्यसलाई सफा पानीले राम्रोसँग धुन सिकाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment