Comments Add Comment

अमेरिकाको टेक्सासमा हिमपातले जनजीवन अस्तव्यस्त

लाखौं मानिस विद्युतबाट बञ्चित

फाइल तस्वीर

६ फागुन, काठमाडौं । अमेरिकाको टेक्सासमा हिमपात तथा त्यसपछि आएको आँधीको कारण जनजीवन अस्तव्यस्त बनेको छ । अहिले यो राज्यको धेरै स्थानमा विद्युत् आपूर्ति ठप्प भएको छ । अधिकारीहरुले विद्युत् आपूर्ति सुचारु गराउन प्रयास गरिरहेका छन् ।

अहिले टेक्सासका २७ लाख मानिसहरुको बसोबास भएको स्थानमा विद्युत् आपूर्ति बन्द छ । जानकारहरुले विद्युत् आपूर्ति बन्द भएकाले संरचनामा पनि नकारात्मक असर पर्न सक्ने चेतावनी दिएका छन् र साथै यसले कोरोना भाइरस (कोभिड–१९) को महामारीको सामना गरिरहेका अस्पतालमा थप दबाब सिर्जना हुन सक्ने बताइएको छ ।

टेक्सासका एक सयभन्दा धेरै क्षेत्रमा मानिसहरुलाई पानी तताएर पिउन सुझाव दिइएको छ । यो राज्यका धेरै मानिसहरु खानेपानीको सुविधाबाट पनि वञ्चित भएका छन् । टेक्सासमा आइतबारसम्म नै तापक्रम निकै चिसो रहने अनुमान गरिएको छ । अहिले टेक्सासको समग्र विद्युत् क्षमताको ४० प्रतिशत विद्युत् अवरुद्ध भएको छ । केही स्थानमा प्राकृतिक ग्यास निकाल्ने कुवा, पाइपलाइन चिसोले कारण जमेर बन्द भएका छन् भने टर्वाइन पनि हिउँले ढाकिएर बन्द भएका छन् ।

चिसोको कारण अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या अझै धेरै हुन सक्ने अधिकारीहरुले बताएका छन् । तर, अहिलेसम्म उनीहरुको शव भने निकाल्न सकिएको छैन । मौसमविद्हरुले भने अब टेक्सासमा आँधी सकिएको र बिस्तारै मौसम सफा हुँदै जाने बताएका छन् । यद्यपि चिसो भने अझै केही दिनसम्म बाँकी रहनेछ ।

टेक्सासको सबैभन्दा ठूलो सहर होउस्टनका अस्पतालमा पनि खानेपानीको अभाव देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment