Comments Add Comment

ओली सरकारले जनतासँग माफी माग्नुपर्छ : पौडेल

९ फागुन, स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग माफी माग्नुपर्ने बताएका छन् । नेपाल तरुण दल आँधिखोला गाउँपालिका स्याङ्जाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका छन् ।

नेता पौडेलले ओली सरकारले कुनै काम गर्न नसकेको, लोकतन्त्र रक्षा गर्न नसकेको र चुनावमा समृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप लगाए । नेकपाको दुई तिहाइ बहुमत प्राप्त सरकारले देशको सही नेतृत्व गर्न नसकेको उनको भनाइ थियो ।

‘लामो समयपछि आन्दोलनबाट प्राप्त लोकतन्त्र नेकपा सरकारमा गएपछि झन् धरापमा पार्दै गएको छ, ३ वर्षसम्म कुनै ठोस परिवर्तन हुन सकेको छैन, देशका समस्याहरू दिन प्रतिदिन बढ्दै गएको छ । कोभिडको कारणले जनता अप्ठ्यारोमा पर्दा पनि सरकारले कुनै योजना ल्याउन सकेन, समयमा मल उपलब्ध गराउन सकेन, चौतर्फी भ्रष्टाचार र महँगी मौलाएको छ । सरकारले कुनै कारवाही गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सकेन, नेकपाको पार्टी पनि असफल भइसकेको छ’, उनले भने ।

ओली सरकारले गराउने चुनाव निष्पक्ष नहुने उनले दाबी गरे । ‘असंवैधानिक कदम नसच्चिई गरेको चुनावको वैधानिकता हुँदैन । त्यो झन् असंवैधानिक हुन्छ । त्यसमा कांग्रेस प्रस्ट हुनुपर्छ, केपी ओलीका कदम नसच्चिएसम्म चुनावमा जानु भनेको असंवैधानिक कदमलाई स्वीकार्नु हो,’ नेता पौडेलले भने ।

ओलीको तानशाही व्यवस्थालाई लोकतान्त्रिकको संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गरेजस्तै भएको उनले बताए ।

कार्यक्रममा उनले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्त कांग्रेसले स्थापना गरेको मुद्दा हो । यसले स्वतन्त्र अदालतको परिकल्पना गरेको छ । तर, स्वतन्त्र भएर फैसला गर्दैगर्दा आन्दोलनबाट प्राप्त भएको शक्ति पृथकीकरणको सिद्धान्तलाई  मार्न मिल्दैन । अदालतले कुल्चिने प्रयास गर्यो भने न्यायालयको दिवाल भित्र नै न्याय मर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment