Comments Add Comment

किन शुक्रबार नै निष्कासन हुन्छ आईपीओ ?

१८ फागुन, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले पूर्वनिर्धारित समय परिवर्तन गर्दै आगामी शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला गर्ने भएको छ । यसअघि आइतबारदेखि सुरु हुने भनिएको आईपीओ निष्कासन ज्योतिले २ दिन अगाडि सार्दै शुक्रबारदेखि नै निष्कासन शुरु गर्ने भएको हो ।

यस कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । ६६ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गर्न लागेको हो ।

यस कम्पनीभन्दा पहिले आईपीओ निष्कासन गरेको महिला लघुवित्त वित्तीय संस्थाले पनि पूर्व निर्धारित परिवर्तन गर्दै शुक्रबारदेखि आवेदन खुला गरेको थियो ।

यी दुई कम्पनीहरु मात्रै होइन कोरोनापछि आईपीओ जारी गर्ने अधिकांश कम्पनीहरुले शुक्रबार नै रोज्ने गरेका छन् । तुलनात्मक हिसाबले अन्य दिनभन्दा शुक्रबार धेरै कम भिजिटरहरु हुने नेपाल मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष मेखबहादुर थापा बताउँछन् । ‘अन्य दिनभन्दा शुक्रबार कार्यालय पनि चाडै छुट्टी हुन्छ, भिजिटर पनि कम हुने भएका कारण शुक्रबार नै रोज्ने गरिएको छ,’ अध्यक्ष थापा भन्छन् ।

‘लोड व्यवस्थापन गर्नै धौ-धौ छ’

सेयर कारोबारको सम्पूणै लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सन्तोष न्यौपाने अहिले आवेदकहरुको संख्या निकै बढेको कारण ‘लोड म्यानेजमेन्ट’ गर्नै समस्या भएको बताउँछन् । एकै पटक धेरैले सिडिएसको वेवसाइड खोल्न खोज्दा समस्या हुने गरेको उनले बताए ।

अहिले आईपीओका लागि लगानीकर्ताहरुले सिडिएसकै वेवसाइटमा रहेको ‘मेरो सेयर’ मा गएर आवेदन दिने हो ।

आवेदकहरुको संख्या निकै ठूलो हुँदा बेला बेलामा सिस्टम नै बन्द हुने गरेको छ । यसको कारण नै लोड व्यवस्थापन हुन नसक्नु हो ।

सेयर कारोबार सार्वजनिक बिदा बाहेक आइतबारदेखि बिहीबारसम्ममात्रै हुन्छ । कारोबार हुने दिनमा लोड धेरै भयो भने दैनिक कारोबार प्रणालिमा समेत समस्या आउन सक्ने प्रवक्ता न्यौपाने बताउँछन् । शुक्रबार भने कारोबार नहुने भएको र लोड पनि कम हुने भएकाले शुक्रबार नै आईपीओ आवेदनका लागि खुला गर्ने गरिएको उनको भनाइ छ ।

‘ट्रेडिङ सेटलमेन्टमा समस्या आउन सक्छ, अन्य कामका असर नपरोस भनेर हामीले शुक्रबार आवेदन खुला गर्नुस् भनेका हौँ’ प्रवक्ता न्यौपाने भन्छन्, ‘सुरुआती दिनहरुमा लोड धेरै हुने हो, कारोबार नहुने दिनमा हुँदा धेरै सहज हुने भएर नै शुक्रबार रोजिएको हो ।’

प्रणालीलाई बलियो बनाउने हो भने आईपीओ आवेदन गर्नका लागि शुक्रबार नै पर्खनु पर्दैन । तर अहिले पर्याप्त श्रोत साधनहरु नभएका कारण समस्या भएको उनले बताए । यसको सजकीकरणका लागि सीडीएसले काम गरिरहेको समेत उनको भनाइ छ ।
‘हामीले निकै सहज बनाउन लागि परेका छौँ, तर यसका लागि केही समय लाग्छ,’ उनी भन्छन्, ‘हामी अझै बलियो नहुने बेलासम्मका लागि हामीले शुक्रबारदेखि सुरु गर्छौं, त्यसपछि जुनबार आवेदन खुला गरे पनि फरक पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment