+
+
Shares

पशुपतिनाथमा फागुन २५ देखि विशेष पूजा

रासस रासस
२०७७ फागुन १९ गते १३:३९

१९ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए ।

हाललाई एक हजार १ सयदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजा मात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । कोषले महाशिवरात्रीको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते महाशिवरात्रीका दिन पाँच हजार १ सय र ११ हजार रुपैयाँका गरी दुई किसिमका विशेष पूजा मात्र गर्ने गरी तयारी गरिएको उनले बताए ।

महाशिवरात्रीका दिन पाँच हजार १ सयको रसिद काटी विशेष पूजा गर्नेबाट दुई र ११ हजार रुपैयाँको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजनालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५-७६ मा विशेष पूजाबाट नौ करोड ४० लाख ९३ हजार रुपैयाँ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोना महामारीका कारण विशेष पूजा रोकिएको थियो ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?