२० फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्टिय मापदण्डको खेलकुद पार्क बन्ने भएको छ । तिलोत्तमा नगरपालिका–६ मा ६० हजार दर्शक क्षमताको खेलकुद पार्क बनाउन लागिएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको खेलकुद पार्कको लागत १६ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
यो स्पोर्ट्स पार्कमा दक्षिण एसियाली खेलकूद (साफ) मा खेलाइने सबै खेल एकै साथ खेलाउन सकिने छ । नेपालमै पहिलो र नमुनाका रुपमा लिइएको खेलकुद पार्कको गुरुयोजना बिहीबार अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा सार्वजनिक गरिएको छ । पार्क निर्माणका लागि बजेटको व्यवस्था गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।
तिनाउ तटीय क्षेत्रमा निर्माण गरिने स्पोर्ट्स पार्कको गुरुयोजना अनुसार दश वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । कुल ६५ बिघा क्षेत्रफलमा निर्माण हुने स्पोर्टस पार्कमा आधुनिक र प्रविधियुक्त कभर्ड हल र स्टेडियम निर्माण गरिने भएको छ । स्पोर्टस पार्कमा साफमा खेलिने कुल २८ प्रकारका खेल मध्ये गल्फ र बोटिङ बाहेकका २६ प्रकारका खेल एकैसाथ खेल्न सकिने छ ।
राति र दिउँसोमा जुनसुकै समयमा पनि खेल्न मिल्ने गरी निर्माण हुन थालेको स्पोर्टस पार्कमा फुटवल, क्रिकेट, व्याडमिन्टन, एथलेटिक्स, आर्चरी, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिसिङ, फिल्ड हकी, भलिबल, जुडो, हेन्डबल, कबड्डी, कराते, खो खो खेल्न सकिने छ । त्यस्तै सटिङ स्विमिङ, एकास, टेबलटेनिस, तेक्वान्दो ,लन टेनिस, टेनिस, रेसलिङ, हुसु वेटलिफ्टिङ, टीटी लगायतका खेल खेल्न सकिने छ ।
क्राउन डिजाइन एण्ड रिसर्च सेन्टर ललितपुरले तयार गरेको स्पोर्टस पार्कको गुरुयोजना इन्जिनियर सुनिल लम्सालले सार्वजनिक गरेका हुन् ।
भैरहवामा निर्माण सम्पन्न हुँदै गरेकोे अन्तर्राष्ट्रिय विमानस्थल, तारे होटल, प्रयाप्त जग्गा र मुलुककै मध्यभागमा रहेको रुपन्देहीको तिलोत्तमा नगर क्षेत्र स्पोर्टस पार्कका लागि उपयुक्त मानिएको छ ।
२ सय महिला ४ सय पुरुष गरी ६ सय विभिन्न खेलकुदका विद्यार्थीलाई आवासीय रुपमा राख्न सकिने गरी एकेडेमीको पनि निर्माण हुने भएको छ । १० हजार सवारी साधन पार्किङ गर्न मिल्ने गरी गुरुयोजना बनाइएको तिलोत्तमा स्पोर्टस पार्क निर्माण समितिका अध्यक्ष दीपक पाठकले जानकारी दिए ।
स्पोर्टस पार्क तिनाउ नदी तटीय क्षेत्रमा निर्माण गर्न लागिएकोले बाढीको खतरा भने कायमै रहेकोले नदी तटीय क्षेत्रमा रिटेनिङ वाल लगाउन जरुरी रहेको इन्जिनियर लम्सालले बताए ।
गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्री पौडेलले निकै महत्वपूण आयोजना सम्पन्न गर्न लाग्ने रकमको सवालमा सरकार गम्भीर हुने धारणा राखे । अर्थमन्त्री पौडेलले बजेटको अभाव हुन नदिने र समयमै निर्माण हुने गरी आयोजनामा जुट्न आह्वान समेत गरे । यो आयोजनको प्रतिफल रुपन्देहीले मात्र नभई राष्ट्रले नै प्राप्त गर्ने भन्दै अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न गर्ने दायित्व लिने बताए ।
१० वर्षमा निर्माण सम्पन्न गर्ने गरी गुरुयोजना तयार गरिएको स्पोर्टस पार्क निर्माणका लागि आवश्यक पर्ने आर्थिक रकम सरकार र स्थानीय तहले व्यवस्थापन गर्न सकेमा र समयमै निर्माण गर्न सके रुपन्देहीको मात्र नभई नेपालकै खेलकुद क्षेत्रको विकासका लागि स्पोर्टस पार्क कोशेढुंगा सावित हुने अध्यक्ष पाठकले बताए ।
प्रतिक्रिया 4