Comments Add Comment

धरहरा पुनर्निर्माणमा अवरोध नगर्न मेयर शाक्यको आग्रह

२५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा पुनर्निर्माणकाे काममा अवरोध नगर्न आग्रह गरेका छन् ।

खिचापोखरी न्यूरोड व्यापार संघको ७ औं अधिवेशन तथा १३ औ साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले निहित स्वार्थ बोकेका केही व्यक्तिहरुले विभिन्न बहानामा धरहरा निर्माणको काममा अवरोध पुर्‍याउन खोजेको बताए ।

धरहरा निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा र व्यवसायीलाई दुवैलाई फाइदा हुने भएकाले दुवै पक्षले एकअर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने महानगर प्रमुख शाक्यको भनाइ छ । धरहरा बनाउने क्रममा सबैभन्दा बढी गाली आफूले खाएको भन्दै उनले महानगर एकाध समूहको विरोध र नाराबाजीमा नअल्झिने बताए ।

‘धरहरा बनाउन दिनुहोस् । विभिन्न बहानामा कहिले सम्पदाको नाममा, कहिले अभियन्ताको नाममा यहाँका बासिन्दा होइन, कहाँ–कहाँबाट आउँछन् । अवरोध गर्छन्,’ उनले भने, ‘तर हामीले त्यो कामलाई समयमा सम्पन्न गर्नुपर्छ र हामीले पनि सोचेका थियौं, त्यो काम सम्पन्न भयो भने यो क्षेत्रलाई व्यवसायिक रुपले उकास्छ ।’

शाक्यले एकले अर्कोलाई दोषारोपण गरेर नभई सबैले आ-आफ्नै स्थानबाट जिम्मेवार रहेर दायित्वबोध गर्न पनि आग्रह गरे ।

शाक्यले कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भइसकेकाले एकीकृत रुपमा अर्थतन्त्रलाई चलायमान बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment