Comments Add Comment

हमालसँग सहकार्यको तयारीमा धिरेन, भन्छन्–‘हाम्रो सम्बन्ध विग्रिएको थिएन’

नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेका धिरेन अब भने पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेका हुन् ।

एक समयका चर्चित नायकले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँग मिलेर चलचित्र बनाउन लागेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै धिरेनले भने–‘राजेन्द्र पनि पुराना कलाकारलाई लिएर चलचित्र बनाउने सोचमा थिए । हाम्रो सोच मिलेपछि सहकार्य गर्ने तयारीमा लागेका हौं ।’ कोरोनापछि माहोल राम्रो बन्दै गयो भने चलचित्रको काम अगाडि बढाउने उनको योनजा छ ।

धिरेनले भने–‘यो चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ र मैले काम गर्ने गरि अगाडि बढ्ने सोच मेरो छ । दर्शकहरुले पनि हामी पुराना कलाकारलाई एकसाथ पर्दामा हेर्न चाहनुभएको छ । हामी एकसाथ आयौं भने दर्शकले रुचाउनुहुनेछ भन्ने विश्वास छ ।’

धिरेनका अनुसार, दर्शकले उनी र राजेश हमालको केमेष्ट्रीलाई निकै रुचाएका थिए । दर्शकको यही चाहना पुरा गर्नका लागि सहकार्यको तयारी थालेको धिरेन बताउँछन् । चलचित्रमा शिव श्रेष्ठलाई भने अतिथी भूमिकामा लिने उनको सोच छ ।

राजेश र धिरेनले ‘सिमाना’, ‘भिष्मप्रतिज्ञा’ जस्ता सफल चलचित्रमा काम गरेका थिए । अब आफू र राजेन्द्र खड्गी छलफलमा बसेर काम अगाडी बढाउने धिरेनले बताए ।

बजारमा राजेश र धिरेनको सम्बन्ध राम्रो नभएको हल्ला भएपनि त्यो हल्लामात्र भएको धिरेनले बताए । आफूहरुको प्रस्ताव राजेशले स्विकार गर्नेमा आशावादी रहेको धिरेनले बताए । उनले भने, –‘राम्रो कथा बनाएर प्रस्ताव राख्यो भने राजेशजीले स्विकार गर्नुहुन्छ भन्ने आश छ ।’

धिरेन शाक्य पुराना कलाकार लिएर चलचित्र बनाउँदा विदेशमा पनि राम्रो माग हुने बताउँछन् । उनले भने–‘चलचित्रको छायांकनका लागि चाहिने सामाग्री सबै आफैसँग । यसैले पनि चलचित्र बनाउन सहज हुन्छ । राजेन्द्र पनि जोडिएपछि चलचित्र एक्सनप्रधान हुने भैहाल्यो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment