Comments Add Comment

‘आधा घण्टामै पशुपति दर्शनको व्यवस्था’

२७ फागुन, काठमाडौं । बिहान नौ बजेको अवधिसम्म करिब दुई लाख जनाले पशुपतिनाथको दर्शन गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

लाइनमा बसेको आधा घण्टामै पशुपतिनाथ दर्शनको व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

शिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो छ । पूजा गर्नका लागि श्रद्धालुहरु झिसमिसेमै लाइनमा बसेका थिए । बिहान चार बजे नै पशुपतिका चारवटै ढोका खुल्ला गरिएका थिए । लाइनमा बसेका सबैलाई जतिसक्दो छिटो र सहज रुपमा पूजा गर्ने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।

यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले मात्र पशुपति दर्शन गर्ने अनुमान गरिएको छ । विगत वर्षमा शिवरात्रिका दिन १० लाखभन्दा बढीले दर्शन गर्ने गरेका थिए ।

मित्रपार्क-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली-गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल-तिलगंगा, पिंगलास्थान-सुमार्गीभवन अगाडिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन/तीन र पश्चिमबाट चार वटा भित्री लाइनको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment