Comments Add Comment

बारामा भेटिएको शवको पहिचान खुल्यो

२८ फागुन, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका– १० का १४ वर्षीय बालक साहिद हुसेन अन्सारी फागुन ११ गते हराए । गाउँमा विवाह भोज खान गएका छोरा नफर्किएपछि परिवार चिन्तित थिए । उनी परवानीपुर स्थित ज्ञानसागर एकेडेमी स्कुलमा कक्षा ७ मा पढ्थे । साथीभाइ, आफन्त र सम्भावित क्षेत्रमा उनको खोजी गरियो । तर कतैपनि फेला परेनन् । अभिभावकले छोराको खोजीका लागि प्रहरी पनि गुहारे । प्रहरीले खोजी गर्‍यो तर फेला पार्न सकेन ।

अचानक शुक्रबार बिहान गाउँकै एउटा उद्योग नजिक कालो थुप्रोमा शव फेला परेको खबर फैलियो । स्थानीय महिलाले शव देखेपछि हो-हल्ला गरेकी थिइन् । गाउँलेले शव भेटिएको बारे प्रहरीलाई खबर गरे । मातहतका एकाइबाट मात्रै नभएर जिल्ला प्रहरी कार्यालय बाराबाट डीएसपी गौतम मिश्रसहितको अनुसन्धान टोली घटना स्थल पुग्यो ।

शव एकदमै सडेगलेको अवस्थामा थियो । हात लगाउनु अघि प्रहरीले प्रादेशिक प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकुर झिकायो । कुकुरले केहीपनि पत्ता लगाउन सकेन । प्रहरीले शवको प्रकृति हेरेर घटनास्थल जाँच मुचुल्का तयार गरेर थप अनुसन्धान अघि बढाएको छ ।

परिवारका सदस्यले उसले लगाएको कपडाबाट बालकको शव पहिचान गरेका छन् । बालकका बुवा जाकिर हुसैनले हराएको १८ दिनपछि छोराको शव भेटिएको पुष्टि गरे ।

‘हराएको मेरो छोरा मरेको अवस्थामा भेटियो, मैले दुई वर्षसम्म लगाएको पेटी नै उसले लगाएको थियो । माथि रातो फुल भेस्ट र पहेँलो टिसर्ट लगाएको थियो, जिन्स पाइन्ट लगाएको थियो । त्यसैबाट पहिचान गर्न सफल भयौं,’ उनले भने, ‘डाक्टर बन्छु भन्थ्यो, छोडेर गयो ।’

जाकिरका दुई छोरा र एउटा छोरी मध्ये साहिद जेठो छोरा हुन् । गाउँमा कसैसँग केही झै-झगडा परेको र रिसइबी भएको आफूलाई याद नभएको उनी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिश्रले कपडाको आधारमा बालकको परिवारले शवको पहिचान भएको र थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

‘एउटा खुट्टा पुरिएको र एउटा खुट्टा बाहिर भएको शव सडेको अवस्थामा थियो । तालिमप्राप्त कुकुरले दिशा पत्ता लगाउन सकेन,’ उनले भने, ‘ शवको प्रकृति हेर्‍यौं, घटनास्थल जाँच मुचुल्का तयार गरेर गाउँघरमा बुझ्दैछौं ।’ पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्न सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment