Comments Add Comment

म्यानमारमा एकैदिन ३८ प्रदर्शनकारी मारिए, चिनियाँ लगानीको व्यवसायमाथि आक्रमण

२ चैत, काठमाडौं । म्यानमारमा सेनाविरुद्धको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागी ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारमा सेनाले कू गरेपछि आइतबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको हो ।

आइतबार प्रदर्शनकारीहरुले चिनियाँ व्यवसायमा पनि आक्रमण गरेका थिए । चिनियाँ लगानीको व्यवसायमा आक्रमण गरेसँगै केही स्थानमा सैन्य कानुन लागू भएको घोषणा गरिएको थियो । चीनले म्यानमारको सेनालाई साथ दिएको भन्दै म्यानमारका प्रदर्शनकारी चीनप्रति आक्रामक देखिएका हुन् ।

म्यानमार फेब्रुअरी १ देखि सेनाले प्रजातन्त्र पक्षधर नेताहरुलाई हिरासतमा लिँदै सत्ता आफ्नो हातमा लिएको थियो । सेनाले गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सत्ता आफ्नो हातमा लिएको थियो । यद्यपि गत नोभेम्बरको निर्वाचनमा चुनिएका प्रतिनिधिहरुले भने म्यानमारमा सेनाको शासन अस्वीकार गर्दै मानिसहरुलाई सेनाबाट आफ्नो सुरक्षा आफैं गर्न आग्रह गरेका छन् ।

आइतबार भएको आन्दोलनको क्रममा यान्गोन सहरमा मात्र २१ प्रदर्शनकारीको प्रहरीको गोली लागी मृत्यु भएको थियो । एसिस्टेन्ट एसोसिएसन फर पोलिटिकल पि्रजनर्स -एएपीपी)ले आइतबार कम्तीमा ३८ प्रदर्शनकारीको मृत्यु भएको र अन्य धेरै प्रदर्शनकारीहरु घाइते भएको बताएको छ । स्वास्थ्यकर्मीहरुले दिएको जानकारीअनुसार यान्गोनको हलियाङ थार्यार क्षेत्रमा धेरै मानिसको मृत्यु भएको थियो र यहाँ धेरै मानिसहरु प्रहरीको गोली लागी घाइते भएका छन् ।

चीनले यो क्षेत्रमा रहेको चिनियाँ लगानीको काराखानाहरुलाई प्रदर्शनकारीहरुले लक्षित गरी आक्रमण गरिरहेको भन्दै सुरक्षा मागेपछि म्यानमारको सेनाले यो क्षेत्र र आसपासका क्षेत्रमा सैन्य कानुन लागू गरेको थियो । चीनले यो क्षेत्रमा रहेका आफ्ना १० कारखानामा प्रदर्शनकारीले आगजनी गराएको बताएको छ । आगजनी गरिएका कारखानाहरुमा अधिकांश कपडा उत्पादन कारखाना थिए । त्यस्तै एक चिनियाँ होटलमा पनि आक्रमण भएको छ ।

सामाजिक सञ्जाल फेसबुकको पेजमार्फत् चिनियाँ दूतावासले कारखानाहरु लुटिएको र तोडफोड गरिएको तथा धेरै चिनियाँ कर्मचारीहरु घाइते भएको र थुनिएको बताएको छ । चिनियाँ दूतावासले म्यानमारसँग प्रभावकारी कदम चाल्दै हिंसाको अन्त्य गर्न पनि आग्रह गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment