Comments Add Comment

भौतिक पूर्वाधारको बजेट सिलिङ १ खर्ब ४८ अर्ब

फाइल तस्वीर

४ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब ४८ अर्ब बराबरको बजेट सिलिङ पाएको छ । यो चालु आर्थिक वर्षको भन्दा करिब १० अर्ब मात्रै बढी हो ।

चालु आर्थिक वर्ष २०७७/७८ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ३८ अर्ब बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा यो मन्त्रालयले एक खर्ब ६३ अर्ब बजेट पाएको थियो ।

योजना आयोगले यसै हप्ता मन्त्रालयलाई आगामी वर्षहरुको लागि बजेट सिलिङ पठाएको छ । अब यही सिलिङका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गरिनेछ ।

मन्त्रालय स्रोतका अनुसार आगामी वर्ष सडक विभागका लागि १ खर्ब १६ अर्ब बराबरको सिलिङ दिइएको छ । यसमध्ये अधिकांश हिस्सा वैदेशिक ऋण परिचालनतर्फ रहेको मन्त्रालयका एक अधिकारीले बताए ।

अहिले विभिन्न दाताहरुको ऋण सहयोगमा सडक विस्तार र सुरुङमार्ग निर्माणको आयोजनाहरु सञ्चालनमा छन् । पूर्व–पश्चिम राजमार्गको विस्तार र मध्यपहाडी, मदनभण्डारी, हुलाकी र उत्तरदक्षिण कोरिडोर राजमार्गहरुको निर्माणमा नै आगामी वर्षको बजेट केन्द्रित हुने भएको छ ।

आगामी वर्षबाट सिद्धबाबासहित केही ठाउँमा सुरुङमार्ग निर्माण थाल्ने र काठमाडौंको ग्वार्को चोकमा फ्लाइओभर निर्माण गर्ने काम सुरुआत गर्ने तयारी छ । त्यसबाहेक मुग्लिन–नागढुंगा सडक विस्तार गर्ने लगायतका परियोजना पनि थालिनेछन् ।

आगामी वर्ष रेल विभागले पनि करिब २५ अर्बभन्दा बढीको बजेट पाउने देखिएको छ । पूर्व–पश्चिम रेलमार्गको झापा–सुनसरी खण्डको निर्माणका काम पनि आगामी वर्षबाट सुरु गर्ने तयारी छ ।

‘आगामी वर्ष सकेसम्म नयाँ कार्यक्रम नराख्न भनिएको छ,’ ती अधिकारीले भन्छन्,‘ बहुवर्षीय ठेक्कामार्फत क्रमागत रुपमा अघि बढेका आयोजनाहरु छिटो सक्न सिलिङसँगैको मार्गदर्शनले जोड दिएको छ ।’

भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता दीपक भट्टराई सिलिङ आएकाले अब आवश्यक कार्यक्रमहरु र विनियोजनमा केन्द्रित भएर छलफल सुरु हुने बताउँछन् ।

‘सिलिङलाई आधार बनाएर आगामी वर्ष पूर्वाधार विकासमा के–के गर्न सकिन्छ भनेर अब सम्बद्ध निकायहरुसँग छलफल सुरु हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment