Comments Add Comment

कर्णाली सरकार सुरक्षित रहेको माओवादी केन्द्रको दाबी

४ चैैत, सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले प्रदेश सरकार नढल्ने दाबी गरेकी छन् ।

बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठकले गरेका निर्णयहरु आधिकारिक एमालेको नभएको भन्दै उनले प्रदेश सरकार सुरक्षित रहेको दाबी गरिन् ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय आधिकारिक एमालेको निर्णय होइन, यो निर्णयमा एमाले स्वयं एकताबद्ध छैन,’ प्रमुख सचेतक नेपालीले अनलाइनखबरसँग भनिन्, ‘केन्द्रीय राजनीतिको समीकरणअनुसार नै प्रदेशमा समीकरण हुन्छ, सरकार अहिले नै ढल्दैन ।’

कर्णाली प्रदेश सरकारलाई नेकपा (एमाले)को समर्थन कायमै रहेको माधव नेपाल समूहले स्पष्ट पारेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका प्रकाश ज्वालाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका छन् ।

एमालेबाट सरकारमा सहभागी मन्त्रीले समेत राजीनामा दिने सम्भावना नरहेको प्रमुख सचेतक नेपालीको दाबी छ । ‘सरकार अझै पनि बहुमतमा छ, एमालेको ओली समूहको १० जनाको गुटगत भेलाले सरकार फेरबदल हुन सक्दैन,’ उनले भनिन् ।

४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित २० जना, माओवादी केन्द्र १३ जना, नेपाली कांग्रेस ६ जना र राप्रपा नेपालका १ जना सदस्य छन् । अहिले एमालेभित्र ओली पक्षका १० जना सांसद देखिएका छन् ।

केही दिनअघि मात्रै नेपाल समूहमा रहेका पदम रोकाया र पद्मा खड्का ओली पक्षमा देखिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment