Comments Add Comment

फेवातालमा डुब्यो राजारामको पदक जित्ने सपना

राजारामका बुबा कुलबहादुर ।

३ चैत, पोखरा । २०७५ भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको थियो । प्याराग्लाइडिङ तर्फको पुरुष क्रस कन्ट्रीमा नेपालले रजत पदक हात पार्दै चर्चा र प्रशंसा बटुल्यो ।

पहिलो पटक भाग लिन पोखरादेखि गएको टोलीले पदक नै जितेपछि प्याराग्लाइडिङ प्रतियोगितामा बल्ल धेरैको नजर पुग्यो । त्योभन्दा अघि प्याराग्लाइडिङलाई खेलको रुपमा समावेश गरिएकै थिएन । व्यावसायिक रुपमा पोखरामा उडान भरिने भएपनि खेलाडी उत्पादन गर्ने गरी राज्यले लगानी गरेकै थिएन ।

प्याराग्लाइडिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने गरी नेपाली सेनाले खेलाडी उत्पादन गर्ने सोच बनायो । एसियाली खेलकुदमा पदक जितेयता नै नेपाली सेनाले प्याराग्लाइडिङको तालिममा  पठाउन थाल्यो ।

खेलाडी उत्पादन गर्ने सेनाको योजनाअनुसार अहिले २० जनाले प्याराग्लाइडिङको तालिम लिइरहेका छन् । त्यही टोलीबाट १ महिनादेखि पोखरामा प्याराग्लाइडिङको अभ्यास गरिरहेका थिए, धादिङको निलकण्ठ नगरपालिका–२ सिउँडीबारका २३ वर्षीय जवान राजाराम राना मगर ।

पोखरामै पनि प्याराग्लाइडिङ प्रतियोगिता हुँदै थियो । आउँदो प्रतियोगितामा नेपालबाट भाग लिएर पदक जित्ने सपनासहित मगरले पोखराको आकाशमा सोमबार सोलो (एकल) उडान भरिरहेका थिए ।

राजारामले हावामा कावा खाँदै पदक जित्ने सपना पूरा गर्न पाएनन् । अभ्यासकै क्रममा सोमबार प्याराग्लाडिङबाट फेवातालमा खसेर राजारामको ज्यान गएको छ । नेपाली सेनाको खेलकुद विभागबाट छनोट भएर पोखरामा तालिमका लागि आएका थिए ।

‘प्याराग्लाडिङको राष्ट्रिय खेलाडी उत्पादन गर्न छनोट गरेर हेडक्वाटरले पोखरा पठाएको छ । १ महिनादेखि तालिम चलिरहेको थियो,’ नेपाली सेनाको पश्चिम पृतनाका सूचना अधिकृत सेनानी प्रेमप्रसाद पौडेलले भने, ‘तालिमकै क्रममा तालमा खसेर उपचारका क्रममा राजारामको ज्यान गयो ।’

उडानकै क्रममा उनी फेवातालमा डुबेका थिए । तत्काल उद्धार गरेर रानीपौवास्थित नेपाली सेनाकै अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको सेनानी पौडेलले जानकारी दिए ।

कालीजंग गण रसुवामा कार्यरत राजाराम प्याराग्लाडिङ अभ्यासका लागि पोखरा आएका थिए । ‘विजयपुर ब्यारेकबाट सराङकोट पुर्‍याउने, ल्याउने काम भइरहेको थियो ।

राष्ट्रिय खेलाडी उत्पादन गरेर आउँदो प्रतियोगितामा सहभागी गराउने योजना थियो,’ पौडेलले भने, ‘तर अभ्यासकै क्रममा फेवातालमा खसेका राजारामलाई बचाउन सकिएन ।’

राजारामको शव बुझेर परिवारले मंगलबार अन्त्येष्टि गरिसकेको छ । चार वर्षअघि मात्र नेपाली सेनामा प्रवेश गरेका राजारामले प्याराग्लाडिङ प्रतियोगिताको अभ्यास गर्ने रुचि देखाएका थिए । विभागले राजारामलाई छनोट गरी तालिमका लागि पोखरा पठाएको थियो ।

‘प्रतियोगिता जित्छु । देशको नाम राख्छु भनेको थियो । दशैंमा घर गएर फर्किएको थियो,’ राजारामका बुबा कुलबहादुर रानाले भने, ‘तर सबै सपना अधुरै रहे’ कुलबहादुरकै कारण राजाराम पनि नेपाली सेनामा भर्ती भएका थिए ।

कुलबहादुर अवकाशप्राप्त नेपाली सैनिक हुन् ।  उनका दाजु ऋषि रानामगर सेनामै कार्यरत छन् । सँगै तालिम लिइरहेका सहकर्मीले राजारामले कुशलतापूर्वक खेल सिकिरहेको र पदक जित्ने दृढ विश्वास पनि उनमा रहेको बताए ।

‘दुर्घटनाका कारणबारे अनुसन्धान अगाडि बढिरहेको छ । प्राधिकरणले पनि अध्ययन गर्ला,’ सेनानी पौडेलले भने, ‘राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अभ्यास भइरहेकाले यसलाई गम्भीर रुपमा हेरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment