
४ चैत, काठमाडौँ। नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्युनिस्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइरालासँगै मञ्चमा मैनाली पनि उपस्थित भएका हुन् ।
राधाकृष्ण मैनाली पुराना कम्युनिस्ट नेता हुन् ।
२०२८ मा झापा विद्रोहपछि १४ वर्ष जेलजीवन बिताएका मैनाली बहुदल आएसँगै २०४७ मा वाममोर्चाको कार्यवाहक अध्यक्ष बन्ने मौका पाएका थिए ।
एमालेमा रहँदा दुईपटक र एमाले विभाजनपछि मालेबाट एकपटक मन्त्रीसमेत बनेका उनले राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिपरिषदमा पनि मैनालीले शिक्षामन्त्रीको जिम्मेवारी निर्बाह गरिसकेका छन् ।
त्यतिबेला एमालेले कारबाही गरेपछि माओवादीमा प्रवेश गरेका उनी त्यहाँ सम्मानजनक स्थान नपाएको भन्दै केही महिनाअघि फेरि एमालेमै फर्किएका थिए ।
मैनालीले एमालेका तीन ठूला नेता अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपालको राजनीतिक जीवनलाई नजिकबाट व्यहोरेका छन् ।
प्रतिक्रिया 4