+
+

नेकपा एमाले : एउटै नाम, तीन ठाम

सइन्द्र राई सइन्द्र राई
२०७७ चैत ३ गते २३:५०

३ चैत, काठमाडौं । संघीय संसदको सवैभन्दा ठूला दल नेकपा एमाले मंगलबार तीन ठाउँमा देखियो–बालुवाटार, सानेपा र बल्खुमा । तीनै ठाउँ नेकपा एमालेको ब्यानर प्रयोग भएपनि व्यवहारिक रूपमा  पार्टीभित्रका पार्टीका रुपमा थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको चियापान गियो भने सानेपामा बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाबारे पत्रकार सम्मेलन र बल्खुमा उपाध्यक्ष वामदेव गौतमको कार्यसम्पादन समितिको बैठक ।

बालुवाटार र बल्खुमा आयोजित कार्यक्रमको त समय पनि एउटै थियो– विहान एघार बजे । दुवैतिरको कार्यक्रम नसकिँदै सानेपामा भोलि शुरू हुने राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन खनाल–नेपाल समूहको पत्रकार सम्मेलन शुरु भयो ।

‘बाइ द वे’ चर्चा गरेको भन्दै चियापान समारोहबाट अध्यक्ष ओलीले पार्टीका नेताविरुद्ध फायर खोले–, अचाक्ली भो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो अब हुन सक्दैन

ओलीले अगाडि थपे, ‘अनुशासनहीन भयो भने पार्टीको विधान छ, देशको कानून छ, संसद् नियमावली छ, दल सम्बन्धी कानून छ, यो सबैतिर ध्यानाकर्षण गराउँछु ।’

नेपाल समूहको भेला रोक्न आग्रह गर्दै ओलीले त्यसो नगरिए कारबाही गर्ने चेतावनी दिए ।

यसको जवाफ एक घण्टा पनि पर्खनु परेन । खनाल–नेपाल समूहको पत्रकार सम्मेलन सचिव योगेश भट्टराईले दिए, तपाईले गर्ने प्रत्येक कारबाहीका लागि हामी लामबद्ध छौं ।’

अर्का नेता सरेन्द्र पाण्डेले पनि ध्यक्ष ओलीले नै विधान विपरीत गुटको भेला गरेको भन्दै प्रश्न गरेका छन्, पार्टी विधान विपरीत काम गर्ने अध्यक्ष पनि कारबाहीको भागी हुने हो कि होइन  ?’

यसअघि आफ्नो समूहको बैठकमा उपाध्यक्ष गौतमले पार्टी विभाजनसम्म आइपुग्नुमा सवै नेताहरुको दोष भएपनि पुनर्मिलनमा ओली समस्या बनेको बताए । उनले भने, ‘अदालतको फैसला लगत्तै एकताबद्ध पार्टी बनाउन आह्वान गर्नुपर्ने केपी ओलीले उल्टै पुनर्स्थापित एमालेका पदाधिकारी हटाएर समस्या ल्याउनुभयो ।’

आमने–सामने

पुस ५ मा संसद विघटनपछि साबिकको नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित हुुँदा गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

सर्वोच्चको २३ फागुनको फैसलाले पुनस्र्थापित भएको एमालेमा ओली र माधवकुमार नेपाल समूहको विवाद चर्कियो । एमाले विभाजन उन्मुख भएपछि वामदेव गौतमले अभियानको नाम फेरे, नेकपा एमाले राष्ट्रिय एकता अभियान ।

अभियानका सचिव बाबुराम थापा थापा एमाले एकता नगरी वाम एकता सम्भव नरहेकाले अभियानको नाम फेरेको बताउँछन् । ‘अदालतले नेकपा विघटन गरेर एमाले ब्यँुताइदियो, तर एमाले नै दुई वटा बन्यो । पहिले यसलाई मिलाउन भनेर एमाले एकता अभियान चलाएका हौं’, उनले भनेका छन् ।

यो अभियान एमालेकै एउटा घटक बनेको उनी स्वीकार्छन् । तर ओली वा खनाल–नेपाल तर्फभन्दा भिन्न सांगठानिक संरचनामा यो अभियान सञ्चालित छ ।

एमालेमा मूल संघर्ष भने अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको समूहबीच देखिएको छ ।

५ पुसमा प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भंग गरेपछि खनाल–नेपाल लगायत नेताहरु ओलीबाट अलग भएका थिए । तर २३ फागुनमा सर्वोच्च अदालतले फेरि एमाले ब्युँताए दिएपछि खनाल–नेपाल प्रचण्डसँग अलग भए । ओलीले भने प्रचण्डसँग मिलेर चार पटक आफूलाई कारबाही गर्ने खनाल–नेपालले आत्मालोचना गर्नुपर्ने बताएका छन् । खनाल र नेपाल समूहको तर्क भने वादविवादबारे समिक्षा गरौंला, तर अदालतको फैसलाअनुसार २ जेठ २०७५ मा फर्किनुपर्ने छ ।

सार्वजनिक वाद प्रतिवादसँगै दुबै समूहले अलग–अलग गतिविधि गरिररहेका छन् । अध्यक्ष ओलीले २८ फागुनमा आफू निकट केन्द्रीय सदस्यहरुको बैठक राखेर विधान संशोधन गर्ने, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी खारेज गर्ने, आफू इतर समूहका नेताहरुको विभागीय जिम्मेवारी खोस्ने, आफूलाई साथ दिने माओवादी तर्फका २३ नेतालाई केन्द्रीय सदस्य मनोयन र जिम्मेवारी दिने निर्णय गरेका छन् । २९ फागुनमै महिला र पत्रकारको भेला भयो । विशेषगरी सम्पर्क मञ्चहरुको नेतृत्व चयन गरिरहेका ओलीले ५ पुस यता गरिएका कुनै निर्णय नबदल्ने अडान लिएका छन् ।

यसको काउन्टरमा नेपाल पनि समानान्तर गतिविधि बढाएको छ । ओलीले गरेको संगठनात्मक निर्णयलाई मान्यता नदिन माग गर्दै १ चैतमा निर्वाचन आयोगमा पत्र बुझाएको यो समूहले भोलि बुधबारदेखि दुई दिने राष्ट्रिय कार्यकर्ता भेला बोलाएका छन् ।

६ चैतमा महिला र पत्रकारको एकैदिन राष्ट्रिय भेला हुँदैछ भने ७ चैतमा युवा भेला राखिएको छ । नेपाल समूहमा रहेका पार्टी सचिव योगेश भट्टराई भेन यो समानान्तर गतिविधि नभएर पार्टी पुनर्संरचना गरिएको बताउँछन् ।

‘अदालतले हामीलाई जुन ठाउँमा जान आदेश दिएको छ, त्यहीबाट पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौं । त्यही नै हाम्रो निर्णय हो’, उनी भन्छन् । यो समूहको गतिविधि र निर्णयले भने ओलीले पेलेर अगाडि बढेकाले छुट्टै पार्टी निर्माणको अभ्यास थालेको बुझ्न गाह्रो पर्दैन । जस्तो– २८ फागुनको ओलीको निर्णय प्रति आपत्ति जनाउँदै यो समूहका ११ स्थायी कमिटी नेताहरुले १ चैतमा सार्वजनिक संयुक्त बक्तव्यमा उल्लेखित आरोप । उक्त बक्तव्यमा, ओलीलाई पार्टी विसर्जनतिर लागेको गम्भीर आराप लगाइएको छ ।

तर अध्यक्ष ओलीले भने २८ फागुनको निर्णय सच्याउनुको साटो पार्टी नेताहरुमाथि अनुशासनको कारबाही गर्ने संकेत दिएको छ । ७ चैतमा बोलाएको केन्द्रीय कमिटीको बैठकले बोलाएका उनी विभागीय जिम्मेवारी र पार्टी संरचनाबारे निर्णय गर्ने सम्भावना हरको ओली निकट एक नेताले जाजकारी दिए । उनका अनुसार केन्द्रीय कमिटीको बैठकमा नेपाल खेमाका नेताहरु नआए जिल्ला इन्चार्जदेखि बाँकी विभागीय प्रमुखहरु तोकिन सक्ने उनी बताउँछन् ।

प्रदेश तहको नेतृत्व टुंग्याउनुका साथै विदेश, प्रचार, प्रवास, आर्थिक र निर्वाचन विभागको प्रमुख तोकिसकेका छन् । ७ चैतमा खनाल र नेपाल खेमालाई थप भूमिकाविहीन बनाउने गरी पार्टी संरचना बनाउने सम्भावना रहेको उनी निकट नेताहरु बताउँछन् ।

जबकी नेपाल समूहले केन्द्रीय कमिटीमा आउनकै लागि पनि २८ फागुनको निर्णय खारेजलाई शर्त बनाएको छ । सोमवार पार्टी कार्यालय धुम्बाराहीमा भएको शीर्ष नेताहरुको वार्तामा पनि नेपाल समूहका नेताहरुले २३ फागुनको फैसला अनुसार, २ जेठ २०७५ को सांगठानिक संरचना नभए सहमति हुन नसक्ने बताएका थिए । तर ओलीले आफ्नो निर्णय पुनर्विचार गर्न चाहेनन् । त्यसको जवाफमा नेपाल समूहले पनि राष्ट्रिय भेलाबाट राजनीतिक कार्यक्रम, सांगठानिक संरचना र आगामी रणनीति समेत तय गर्ने संकेत दिएका छन् ।

यद्यपि तीनै समूहका नेताहरु एकताबद्ध एमाले सम्भव रहेको र आफूहरुको गुटगत त्यसका लागि भएको तर्क गर्न छाडेका छैनन् । एकता अभियानका लागि समूह बनाएका गौतम मात्र होइन, बालुवाटारमा चियापान गर्ने ओली समूह, सानेपामा राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुटेको माधव समूहले पनि त्यही तर्क गरेका छन् । तर, तीन वटै कार्यक्रममा प्रकट अभिव्यक्तिले भने एमाले त्यस विपरत विभाजनको दिशातिर उन्मुख भएको प्रष्ट संकेत छ ।

तीनै समूहका नेताहरुमा भने साझा निष्कर्ष छ, एमाले पहिलेको एमाले जस्तो रहेन ।

खनाल–नेपाल समूहको पत्रकार सम्मेलनपछि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अनलाइनखबरसँग भने, ‘तीन वर्ष अगाडिको एमाले कस्तो थियो ? अहिले त्यस्तो छैन ।’

यसमा ओली समूहका नेताहरु पनि सहमत छन् । प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘समय अझै छ । सम्वाद र छलफलका माध्यमबाट सवै ठाउँ उभिने बातावरण बनाउनुपर्छ । यसको विकल्प पनि छैन’, उनी भन्छन् । तर, एमाले पहिलेको जस्तो नरहेकोमा भने उनी नेता पाण्डेसँग सहमत छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?