Comments Add Comment

ओलीलाई योगेश भट्टराईको जवाफ : कारबाहीका लागि हामी लामबद्ध छौं

३ चैत, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिएका छन् ।

मंगलबार बालुवाटारमा आयोजित चियापान समारोहमा एमाले अध्यक्ष ओलीले गुटगत भेला गरे कारबाही हुनसक्ने चेतावनी दिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने धम्की भाषा प्रयोग नगर्न चेतावनी दिए ।

उनले इतिहासको कठघरामा उभिँदा आइपर्न सक्ने प्रश्नको उत्तर दिने हिम्मत राखेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । ‘कारबाहीले राजनीति अगाडि बढ्दैन । पार्टी अगाडि बढ्दैन । यो अंहकारपूर्ण अभिव्यक्ति हो,’ भट्टराईले भने, ‘हामी सबै एकपछि अर्को कारबाही खान तयार छौं । हामीलाई कुनै पश्चाताप छैन ।’

‘मुलुकका लागि, संविधानका लागि र हामीले प्राप्त गरेको जनसमर्थनका लागि उभिएको मान्छे हो । हामीलाई त्यसमा कुनै हीनताबोध छैन । त्यसैले तपाईले गर्ने प्रत्येक कारबाहीका लागि हामी लामबद्ध छौं ।’

इतिहासले सोधेका प्रश्नको उत्तर दिन असमर्थ भएको बेला इतिहासले ओलीमाथि कठोर कारबाही गर्ने उनले बताए । ‘शायद त्यो बेला तपाईंको निम्ति दुई थोपा आँशु चुहाउने मान्छे नहुन पनि सक्ला,’ भट्टराईले भने, ‘त्यसैले धम्कीको भाषा नबोलौं, संयमताका साथ अगाडि बढौं भन्ने मेरो आग्रह छ ।’

उनले पार्टीको इतिहासतर्फ फर्केर हेर्न र दललाई सुदृढ बनाउने काममा लाग्न पनि उहाँले प्रधानमन्त्री ओलीलाई सुझाव दिए । एमाले सचिव भट्टराईले अघि भने, ‘दुई वर्ष बालुवाटारमा चैनका साथ बस्ने हो भने यो बारुदको गन्ध नफैलाउनुहोस् । यसले तपाईलाई दुर्घटनातर्फ लैजान्छ ।’

उनले बुधबार काठमाडौंमा हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता ग्रहण गर्न प्रधानमन्त्रीलाई अनुरोध गरे । देशभरिबाट आएका कार्यकर्ता नेकपा एमालेकै भएको र पार्टी अध्यक्षको हैसियतले आफ्ना कार्यकर्ताको भेलाको प्रमुख आतिथ्यता ग्रहण गरी सम्बोधन गर्न आग्रह गरे ।

भट्टराईले भने, ‘तपाईले कसैलाई खटाउनै पर्दैन नजर लगाउन । आफैं आउनुहोस् । यो भेलामा को को आएका छन् देशभरिबाट तपाईं नै हेर्नुहोस् । प्रमुख आतिथ्यता ग्रहण गर्नुहोस् । उद्घाटन गर्नुहोस् । देशभरबाट आएका तपाईकै कार्यकर्ता हुन् । के भन्नुहुन्छ उहाँहरुलाई तपाईले भन्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment