Comments Add Comment

धनगढी फुटबल क्लबको प्रशिक्षकमा तेपे फुजा नियुक्त

५ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले प्रशिक्षकमा नाइजेरियाली नागरिक तेपे अयोडेजी फुजा अनुबन्धित भएका छन् । धनगढी एफसी सञ्चालन गर्ने गो ड्रिमर्स प्रालिका प्रमुख सुवास शाहीले तेपे फुजासँग सम्झौता भएको जानकारी दिए ।

फुजाकै अगुवाइमा मनाङ मर्स्याङ्दी क्लबले २०७५ सालको शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो । सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लब (२००६) बाट गरेका थिए ।

त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेड, पियरलेस, हिन्दुस्तान एफसी, टलिगञ्ज अग्रगामी, मोहम्मडन स्पोर्टिङ र चेन्नई एफसीको टिम सम्हालेका थिए ।
गो ड्रिमर्सका प्रमुख शाहीले धनगढी एफसीको प्रशिक्ष्ँकमा तोपे फुजालाई आबद्ध गर्न पाउँदा खुशी लागेको बताए ।

‘जीवन नै फुटबलमा बिताइरहेका उनले नेपालसहित दक्षिण एसियाली फुटबललाई नजिकबाट हेरिरहेका छन्, नेपाली खेलाडीहरूको स्तर र क्षमताबारे जानकार छन् । उनको अगामनले धनगढी एफसीेले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ’ शाहीले भनेका छन् ।

प्रशिक्षक तेपे फुजाले नेपाल सुपर लिगको पहिलो संस्करणमा नै महत्वपूर्ण जिम्मेवारी पाउँदा खुशी र उत्साहित भएको बताए ।

‘उत्कृष्ट मार्की प्लेयर र टिमको सम्पर्कमा रहेका बिदेशी खेलाडीहरूले गर्दा मलाई धनगढी एफसीमा सामेल हुने आग्रह स्वीकार्न समय लागेन । क्लबको व्यवस्थापन र टिम मालिकको लक्ष्य देखेर म निक्कै प्रभावित भएको छु’ उनले भने ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आगामी वैशाख ११ देखि २५ गतेसम्म आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment