+
+
Shares

दयाहाङ राई भन्छन्- खुवालुङ हाम्रो आस्था हो, भत्काउन मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १२:५८

काठमाडौं । बिहीबार खुवालुङ सरोकार समूहको कार्यक्रममा अभिनेता दयाहाङ राई निकै कडा प्रस्तुत भए । उनले सरकारले किराँत सभ्यता र संस्कृतिमाथि धावा बोलिरहेको भन्दै खुवालुङ ढुंगा फुटाउन नमिल्ले बताए । राईले भने, ‘हाम्रा मूल्य, मान्यता र दर्शन हामीले थाहा नपाउँदै मासिन्छ । राज्य पक्षबाट नियोजितरुपमा सभ्यता समाप्त पारिने काम हुन्छ ।’

अभिनेता राईको यो भनाइ खुवालुङ फुटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध थियो । खुवालुङ सरोकार समूहको अवधारणा पत्र सार्वजनिक गरिने कार्यक्रममा अभिनेता दयाहाङले खुवालुङ किरात जातिको मात्र नभएर देशकै सम्पदा भएको बताए । उनले भने, ‘यदि किराँतलाई यो देशको नागरिक मानिन्छ भने खुवालुङ सम्पूर्ण देशकै सम्पदा हो ।’

कार्यक्रममा अधिवक्ता भीम राईले किराँतीको आस्थाको केन्द्र खुवालुङ संरक्षणका लागि अदालतको ढोकासम्म पुग्ने उद्घोष गरे । सरोकार समूहका संयोजक तथा लेखक राजन मुकारुङले पनि राज्यले खुवालुङ नफुटाउने लिखित प्रतिवद्धता व्यक्त नगरेमा कानुनी प्रक्रियामा जाने बताए ।

खुवालुङलाई फुटाउनुभन्दा आन्तरिक पर्यटकको केन्द्र बनाउन सुझाउँदै मूर्तिकार धनु याख्खाले भने, ‘समग्र समुदायको आस्थामाथि प्रहार गर्नुभन्दा उत्तम विकल्प त, खुवालुङलाई आन्तरिक पर्यटकीय गन्तव्य बनाउनुहुन्छ । राज्यले यतातिर ध्यान देओस् ।’

कवि चन्द्रवीर तुम्बापोले खुवालुङ फुटाए समग्र किराँत जातिको इतिहास समाप्त हुने चिन्ता व्यक्त गर्दै भने, ‘खुवालुङसँगै सुरु हुने किराँतको इतिहास समाप्त हुन्छ । इतिहास समाप्त हुनु भनेको जरा उखेलिनु सरह हो ।’

राजन मुकारुङको संयोजकत्वमा बिहिबार १२ सदस्यीय खुवालुङ सरोकार समिति गठन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?