+
+
Shares

दयाहाङका ‘बा’ बनिरहने माओत्सेले पेन्सन पट्टामा श्रीमतीलाई बनाए ‘आमा’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ मा दयाहाङ राईकी आमाको भूमिकामा कलाकार प्रतीक्षा गुरुङ देखिएकी छिन् ।
  • यो फिल्म २६ भदौदेखि हलमा रिलिज हुने भएको छ ।

‘तेरो बाउले त मसँग जीवन मात्र चलाएछ, प्रेम त उसैसँग गरेछ’ माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ को ट्रेलरमा अभिनेता ‘दयाहाङ राई’ सँग उनकी आमाले यस्तो घतलाग्दो संवाद बोन्छिन् ।

फिल्म क्षेत्रमा नयाँ अनुहारझैं लाग्ने ती आमा पात्र को होलिन् ? यही भदौ २६ देखि रिलिज हुन लागेको फिल्मको ट्रेलर हेरेपछि कतिपय दर्शकलाई यस्तो लागिरहेको हुनसक्छ ।

उनी हुन्, कलाकार प्रतीक्षा गुरुङ ।

कलाकार अवतारमा माओत्से गुरुङ दयाहाङका कहिले दाइ भए त कहिले बा, कहिले ठूलो बा, कहिले मामा । फिल्म डिग्री माइला, दिमाग खराब, मिस्टर झोले लगायतमा उनी दयाहाङका बा बनेका छन् ।कतिपय दर्शकहरूले त माओत्सेसँग प्रत्यक्ष भेट्दा उनलाई साँच्चिकै दयाहाङको बा ठानिरहेका हुन्छन् ।

फिल्म दयारानीमा तस्वीर मै सही, उनी हजुरबा अवतारमा झुल्किन्छन् । रोचक कुरा के भने, अरूबेला दयाहाङका बा बनेका माहोत्सेले पेन्सन पट्टामा आफ्नी जीवनसंगिनीलाई दयाहाङकी आमाको भूमिकामा उभ्याएका छन् ।

‘माओत्से दाइ दया दाइको बाउ बनेर खेल्दा भइरहेकै थियो । यसपालि भाइजूलाई आमा बनाइयो, रमाइलो भयो नि’ फिल्मका सहलेखक तथा कास्टिङ निर्देशक सुरज तमू ठट्यौली पारामा सुनाउँछन् ।

करिब आधा दर्जन गुरुङ फिल्ममा अभिनय गरेकी प्रतीक्षा फिल्मको पर्दाबाट ओझेल भएको थुप्रै वर्ष बितिकेको थियो । उनी पछिल्लो समय पोखराको निजी विद्यालयमा पढाउँदै आएकी छिन् ।

यता, कथा बुनिरहेको क्षण फिल्मलाई बलियो प्रभाव पार्ने आमा चरित्र चाहिने भयो । कास्टिङ गरिरहेका सुरजलाई माओत्सेले भने, ‘आमाचाहिं खाइलाग्दो चाहिन्छ है भाइ ।’

‘यसो किन भनेको हुन् भनेर विचार गर्दा माओत्से दाइका आमा र आन्टी पनि खाइलाग्दो ज्यानका थिए । सायद उहाँको स्मृतिमा आमाको आकृति त्यस्तै थियो’ सुरज भन्छन् । उसो त आफ्नै विगतका कथालाई सुन्दर तरिकाले टिप्ने खुबी भएका माओत्सेले कल्पेको चरित्रमा आफ्नैको आकृति देख्नु स्वभाविक थियो । सुरज ‘खाइलाग्दो’ देखिने कलाकार खोज्न थाले । ‘यति खोज्यौं, खोज्यौं । तर भेटिएन । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तो एउटा उपाय सुल्झ्यो’ सुरज सुनाउँछन् ।

सुरजले आफ्नो आँखाले ठम्याएको चरित्रबारे माओत्सेलाई भने, ‘दाइ, भाउजूलाई फोन गरौं न ।’

सुरजले भन्नासाथ माओत्सेलाई लाग्यो, ‘मैले सोचेको पात्र पनि त यस्तै हो ।’ हत्तनपत्त माओत्सेले फोन गरे । तर, प्रतीक्षालाई फिल्म खेल्न मनाउनु सहज कहाँ थियो र ? निकै आग्रहपछि उनले भनिन्, ‘मलाई हप्तामा शुक्रबार र शनिबार सुटिङ पारे खेल्छु ।’

तर एउटा पात्रका लागि सिंगो सुटिङ नै होल्ड कसरी गर्नू ? सम्भव थिएन । अनुकूल नहुने भएपछि उनले अडान लिइन्, ‘म मेरा विद्यार्थीहरूको पढाइ बिगारेर तपाईंको फिल्म खेल्न सक्दिनँ ।’ त्यतिबेला फिल्म ०८२ को कात्तिकमा खिच्ने तयारी थियो । संयोगबस्, सुटिङ कात्तिकबाट सरेर पुसमा पुग्यो । ‘खुसीको कुरा, त्यतिबेला उनको जाडो विदा पर्यो । त्यसपछि कथा सुन्न तयार भइन्’ माओत्से भन्छन् ।

सुरजले कथा सुनाउनुअघि भने, ‘भाइजू, तपाईंको रोल आमाको हो ।’ ‘दयाको आमाको रोल मलाई सुहाउला र’ सुन्नासाथ प्रतीक्षाले भनिन् । कथा सुन्दै जाँदा फिल्ममा आमाको उपस्थिति र कथालाई त्यो भूमिकाले पार्ने प्रभावले उनलाई तान्दै लग्यो । अन्तिममा उनले राजी भएको संकेत गर्दै भनिन्, ‘वर्कसप त हुन्छ नि ?’

राजी भए पनि एउटा कुराको भने उनले टुंगो लगाउनु थियो । त्यो थियो- पारिश्रमिक । ‘मलाई कतिमा सम्झौता गर्ने’ सुरजलाई सोधिन् । सुरजले हाँस्दै भने, ‘भाउजू, तपाईं त घरकै मान्छे । फिल्म पनि तपाईंकै हो ।’ तर प्रतीक्षाको फरक तर्क थियो, ‘माओत्से गुरुङ पो मेरो बुढा हो । फिल्ममा त निर्देशक हो नि ।’

फिल्ममा पारिश्रमिक तय त भयो । ‘तर मैले दिएको चाहिं छैन है, फिल्म चलेपछि सबै तिमीलाई भनेको छु’ माओत्से ठट्यौली पारामा सुनाउँछन् ।

प्रतीक्षाले दयाहाङको आमा चरित्रमा आफ्नो तर्फबाट निकै महेनत गरिन् । उनको लवज र संवादले टिमलाई नै प्रभावित पार्थ्यो । मनिटर अघि बसेर डाइरेक्सन गरिरहेका माओत्सेलाई जीवनसाथी प्रतीक्षाले बोलेका कतिपय बुलन्द संवादहरू सुन्दा लाग्थ्यो ‘यो गाली मलाई नै भनेको हो कि !’

लाहुरे संस्कृतिको कथामाथि बनेको यो फिल्मले पेन्सनको मुद्दालाई उधिनेको छ । प्रतीक्षाको पात्रले नाममा झैं फिल्ममा पनि कुनै कुराको निरन्तर प्रतीक्षा गर्छ । त्यो प्रतीक्षाको फल के होला ?

‘यसका लागि पनि भदौ २६ सम्मै पर्खनुपर्ने हुन्छ’ कुनै सस्पेन्स छाड्दै माओत्से दर्शकलाई हलसम्म आमन्त्रण गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?