
१० चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा तीव्र उचारचढाव देखियो । तीव्र उतारचढावकाबीच सेयर कारोबार मापक नेप्से परिसूचक १४ अंक भन्दा धेरैले बढेर बन्द भएको छ । नेप्सेमा कारोबार हुने धेरै जसो समूहको सबइन्डेक्स बढ्दा समग्रमा बजार हरिया देखियो ।
यद्यपि, केहि समूहहरुको सूचक घटेको पनि छ । मंगलबार नेप्से परिसूचक १४ दशमलव ५७ अंकले उकालो लागेर २ हजार ५ सय २८ दशमलव ९५ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने स्थिर जस्तै देखिएको छ । यो सूचक मात्रै ०.०२ प्रतिशतले बढेको छ ।
कारोबार रकम भने ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ पुगेकोे छ । मंगलबार कारोबार भएका २०८ कम्पनीहरुको मध्ये साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) को सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज धेरै कमाउने यहि कम्पनीका लगानीकर्ता हुन् । एसटीसीको सेयर मूल्य एकैदिन १ हजार ५० रुपैयाँले बढेर ११ हजार ५५० रुपैयाँ पुगेको छ । यस कम्पनीको कारोबार रकम पनि १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
सेयर मूल्यमा प्रभाव पार्ने खासै कुनै औपचारिक निर्णय नभइ एक्कासी मूल्य बढेपछि एसटीसी शंकाको घेरामा छ । सेयर बजारका जानकार हरिकुमार कार्की लाभांश सम्बन्धी सूचना चुहिएको (इन्साइडर ट्रेडिङ) भएको हुनसक्ने आशंका गर्छन । यस संस्थाले आकर्षक लाभांश दिन्छ भनेर सूचना चुहिए पछि धेरैले सेयर किनेको हुनसक्ने उनको अनुमान छ ।
‘हाम्रो बजारमा इन्साइडर ट्रेडिङ नयाँ कुरा होइन, सूचना हुनेहरुले बद्मासी गर्न सक्छन्’ उनले भने, ‘पहिले पहिले पनि भइ नै रहेको हो, अहिले पनि मूल्य बढ्ने कुनै निर्णय औपचारिक रुपमा बाहिर नआएकाले शंका गर्ने प्रसस्त ठाउँ छ ।’
सेयर बजारका लगानीकर्ता नयन बास्तोला पनि बोनस दिने सूचनाका कारण सेयर मूल्य १० प्रतिशतले बढेको बताउँछन् । कम्पनीले कति प्रतिशत लाभांश दिने भनेर निर्णय वा प्रस्ताव केहि गरेको छैन ।
तर बाहिर ६० प्रतिशतको हल्ला चलेर पनि सेयर मूल्य बढेको हुनसक्ने उनले बताए । अहिले एक्कासी सेयर मूल्य बढ्नुले इन्साइडर ट्रेडिङ भएको हुनसक्ने उनको पनि आशंका छ ।
कुन–कुन कम्पनीले धेरै कमाए ?
धेरै कमाउनेको शिर्ष स्थानमा एसटीसी नै भइहाल्यो । दोस्रो नम्बरमा भने चन्दगिरी हिल्स देखिएको छ । केहि दिन यता लगातार रुपमा चन्द्रागिरीको सर्किट लेभलमै कारोबार भइरहेको छ ।
मंगलबार पनि यस कम्पनीको १५६ रुपैयाँले सेयर मूल्य बढेर १ हजार ७ सय १९ रुपैयाँ पुगेको छ ।
यी हुन् धेरै गुमाउने कम्पनीहरुः
मंगलबार समग्रमा सेयर बजार बढेपनि बैंकिङ, विकास बैंक, फाइनान्स लगायतका समूहहरु घटेका छन् । कम्पनीवाइज हेर्दा सबैभन्दा धेरै लगानी गुमाउनेमा पञ्चकन्यामाई हाइड्र हाइड्रोपावर कम्पनीका लगानीकर्ता देखिएका छन् ।
यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको छ । दोस्रोमा भने सप्तकोशी डेभलपमेन्ट बैंक र तेस्रोमा हिमालय पावर पार्टनर कम्पनीका सेयर लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
यी दुबै कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4