
१० चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदले श्रीलंकामा तमिल विद्रोहका क्रममा भएको गम्भीर मानवअधिकार उल्लंघनका घटनाको विषयमा छानबिन गर्न अधिकार पाएको छ ।
श्रीलंकाले विद्रोही समूह तामिल टाइगर्स विरुद्धको युद्धमा गम्भीर किसिमको मानवअधिकार उल्लंघन गरेको भन्दै यस विषयमा मंगलबार यूएनएचआरसीमा मतदान भएको थियो । उक्त मतदानमा नेपाल र भारतसहित १४ मुलुक तटस्थ बसेका छन् ।
परिषदका ४७ सदस्य मुलुकमध्ये २२ वटाले श्रीलंकामा भएको गम्भीर मानवअधिकारको अनुसन्धान हुनुपर्ने पक्षमा मतदान गरेका थिए भने ११ मुलुकले विपक्षमा मतदान गरेका थिए ।
चीन, बंगलादेश र पाकिस्तानले प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
मंगलबारको मतदानमा श्रीलंकाको विरुद्धमा धेरै मत परेसँगै राष्ट्रसंघ मानवअधिकार उच्च आयुक्तको कार्यालयले श्रीलंकाको युद्ध अपराधको दस्तावेजीकरण गर्ने अधिकार पाएको छ ।
सन् २००९ मा सकिएको गृहयुद्धको क्रममा भएको युद्ध अपराधको सूचना संकलन तथा संरक्षण गर्ने अधिकार उच्च आयुक्तको कार्यालयले पाएको हो ।
प्रतिक्रिया 4