Comments Add Comment

घरमै बिरयानी पकाउन के-के चाहिन्छ, कसरी बनाउने ?

बिरयानी एक दक्षिण भारतीय एवं मध्यपूर्वमा विकास भएको खाद्य परिकार हो । अहिले काठमाडौं लगायत नेपालका विभिन्न सहरी भेगमा समेत यसको उपलब्धता छ । विश्वका विभिन्न ठाउँमा उत्पत्ति भएको बिरयानी चर्चामा छन् । जस्तै दक्षिण भारतमा हैदराबादी बिरयानी चर्चित छ भने इराकी बिरयानीको पनि चर्चा राम्रै हुन्छ। यसबाहेक दक्षिण भारतीय चिकेन बिरयानी नामबाट पनि बिरयानीको अर्को ब्राण्ड बिकास भएको छ । यसबाहेक पनि चिकेन दम बिरयानी, इरानी बिरयान र बर्मेली बिरयानीहरू मुख्यतया विश्वमा विभिन्न ठाउँमा विकास भएका बिरयानीहरु हुन् ।

वास्तवमा बिरयानीको वास्तविक स्वाद नेपालका अधिकांश रेस्टुरेन्टमा नपाउने गरेको गुनासो सुन्ने गरिन्छ । कतिपयले रेस्टुरेन्टमा बनाइने बिरयानी भन्दा आफ्नै घरमा बिरयानी बनाएर खाने समेत गरेको पाइन्छ । आखिर आफ्नै घरमा बिरयानी बनाउनु पर्‍यो भने के–के सामान चाहिन्छ र कसरी बनाइन्छ भन्ने विधिलाई तल उल्लेख गरिएको छ । मांसाहारीहरूको लागि चिकेन बिरयानी सबैभन्दा धेरै रोजाइमा पर्ने गर्छ । सोही चिकेन बिरयानीलाई घरमा बनाउनु पर्‍यो भने कसरी बनाउने त ?

खाद्य परिकार : बिरयानी (मांसाहारी)
खाने संख्या : चारदेखि छ जना
समय : ३० मिनेटदेखि एक घण्टा
क्यालोरी : ३४८

आवश्यक सामग्री
– ५०० ग्राम बासमती चामल
– ७५० ग्राम कुखुराको मासु
– ४–५ हरियो अलैँची
– १ ठूलो अलैँची
– १५० ग्राम दही
– ३ वटा सामान्य आकारको प्याज
– ४ वटा सामान्य आकारको गोलभेडा
– २ वटा हरियो खुर्सानी (काटेको अवस्थामा)
– २ वटा सामान्य चम्चा अदुवाको धुलो
– ३ वटा ठूलो चम्चामा बिरयानी मसला
– एउटा हरियो धनियाको ठूलो डाँठ सहित पात पनि
– एउटा ठूलो चम्चामा पुदिनाको पत्ति
– आवश्यक पर्ने नुन
– खाना पकाउनको लागि आवश्यक भाँडाकुँडा आदि ।

बिरयानी बनाउने तरिका
–सबैभन्दा पहिले तोकिएको बासमती चामललाई १० मिनेटसम्म भिजाएर राख्नुहोस् ।
–चामल भिज्ने बेलासम्म मासु काटकुट गर्ने र अरु मसलाहरू जम्मा पार्न सकिन्छ ।
–त्यसपछि प्याज, धनियाँपत्ती, पुदिना र टमाटरलाई काटेर तयार पार्नुहोस् ।
–त्यसपछि खाना पकाउने भाँडामा घिउ राखेर त्यसमा प्याज, हरियो अलैँची र ठूलो अलैँची राखेर घरभरि नै सुगन्ध फैलिने बेलासम्म भुट्नुहोस् । त्यसपछि त्यसमा मासु राखेर राम्रोसँग भुट्नुहोस् ।
–जब मासु सहितको सामग्रीलाई राम्रोसँग भुट्नुहुन्छ । त्यसपछि टमाटर, अदुवा, लसुनको पेस्ट र हरियो खुर्सानी, दही, बिरयानी मसला, नुनलाई एकै पटक मिसाएर राम्रोसँग चलाउनुहोस् ।
–त्यसलाई आगो अलिक कम गरेर १०–१२ मिनेटसम्म पकाउनुहोस् । जब चिकेन पाकेर नरम बन्न थाल्छ त्यसपछि आगो बन्द गरेर सफा भाँडोले तताएर राख्नुहोस् ।
–त्यसपछि चामल पकाउने भाँडामा २–३ लिटर पानीको साथमा चामल र थोरै नुन पनि राखेर त्यसलाई उमाल्न थाल्नुहोस् ।
– जब चामल राखेको भाँडामा पानी उम्लिन थाल्छ । त्यसपछि त्यो भाँडाबाट पानी हटाउर एउटा ठूलो भाँडोमा चामल फैलाएर राखिदिनुहोस् । त्यतिबेलासम्म चामल आधा पाकिसकेको हुन्छ ।
–त्यसपछि पहिले पकाएको मासुलाई उमालेको चामल राखेको भाँडामा मिलाएर खन्याउनुहोस् । त्यसमाथि धनिया र पुदिनाको पत्ता छरिदिनुहोस् र सोही भाँडोमा बिर्काे लगाएर १०–१५ मिनेटसम्म सानो आगोमा पकाएपछि त्यसलाई तात्तातो अवस्थामा नै खानुहोस् । यसरी घरमै हामी स्वादिष्ट बिरयानी बनाउन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment