Comments Add Comment

एकता जोगाउन अध्यक्षले पहल गर्नुपर्छ, फुट्यौं भने बर्बाद हुन्छ : गोकर्ण विष्ट

१३ चैत, काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकता जोगाउने पहल प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुपर्ने बताएका छन् । बालुवाटारमा बसेको संसदीय दलको बैठकमा बिष्टले एमाले विभाजन भए कम्युनिष्ट आन्दोलन नै बर्बाद हुने बताए ।

पार्टी विघटन गर्न देशभित्र र बाहिरका शक्तिहरु लागिपरेकाले यसबाट जोगिनुपर्ने उनको सुझाव थियो । पार्टी विभाजन रोक्न नेताहरुले संयमतता, गम्भीरता र लचकताका साथ समाधान खोज्नुपर्ने विष्टले बताए ।

‘२०५४ सालमा स–साना कुरामा द्वन्द्व हुँदा पार्टी विभाजन भयो । दुई पार्टी मिलेर बहुमत ल्याउन १८ वर्ष पर्खनु पर्‍यो । अहिले असावधानी र इगोका साथ पार्टी विभाजनको तहमा पुग्यौं भने आन्दोलन ध्वस्त हुन्छ, फेरि उठाउन गाह्रो हुन्छ’, उनको भनाइ थियो ।

तर, फेरि पनि पार्टी एकता जोगाउन अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा ओलीले नै पहल लिनुपर्ने विष्टको भनाइ थियो । पार्टी एकताबद्ध बनाउन २ जेठ २०७५ कै एमाले संरचनामा फर्कनुपर्ने पनि उनले बताए ।

‘अदालतले पार्टीलाई साविकको हैसियतमा फर्कायो । त्यसको केन्द्रीय कमिटीको बैठक राखेर अगाडि कसरी बढ्ने भन्ने सन्दर्भमा थप छलफल गर्न सकिन्छ, निकास खोज्न सकिन्छ । समझदारीले नै समाधान खोज्न सकिन्छ’, विष्टले भने ।

तर, यसअघि बसेको बैठकलाई आधिकारिक भन्ने दावी नगर्न पनि उनले आग्रह गरे । ‘पार्टीको बैठक बस्ने भनेर मलाई पनि बोलाइएको छैन । न म्यासेज आएको छ, न फोन आएको छ । त्यसलाई कसरी बैठक मान्न मिल्छ ?’, विष्टले प्रश्न गरे ।

पार्टी एकता जोगाउन आधिकारिक बैठकमा फर्किँदा विवादको विषय समाधान हुने पनि विष्टले बताए । ‘आधिकारिक बैठकमा फर्कौ र त्यहाँबाट समाधान खोजौं । यो ठूलो विषय छैन । इगोले आन्दोलन बर्बाद पार्न हुन्न’, विष्टको भनाइ थियो ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले पुनर्स्थापना गरेपछि बसेको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरु शुक्रबार पहिलो पटक सहभागी भएका थिए ।

सहभागीमध्ये वरिष्ठ नेता खनाल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु विष्ट र योगेश भट्टराईले आफ्नो कुरा राखेका थिए । बालुवाटारमा बोलाइएको दलको बैठकमा नेता नेपाल र उपाध्यक्ष भीम रावल भने गएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment