Comments Add Comment

बेलौरी छोटी भन्सार स्तरोन्नतिको माग

१५ चैत, कञ्चनपुर । कञ्चनपुरको बेलौरी छोटी भन्सारको स्तरोन्नति गर्न व्यवसायीहरुले माग गरेका छन् । भन्सार कार्यालयको स्तरोन्नति गरिए यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि भई आर्थिक, सामाजिक र धार्मिक गतिविधि बढ्ने व्यवसायीहरुले बताएका छन् ।

छोटी भन्सार कार्यालयमा हाल न्यून मात्रै राजस्व सङ्कलन हुँदै आएको छ । भन्सार कार्यालयको स्तरोन्नतिसँगै कर्मचारीको व्यवस्था गरिए लाखौंको राजस्व सङ्कलन हुने बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर साउदले बताए ।

छोटी भन्सार कार्यालय पुनस्र्थापनासँगै स्तरोन्नति गर्ने उद्देश्यले २०७५ साल मंसिरमा काठमाडौंमा भएको नेपाल–भारत दुवै देशका भन्सार विभागको उच्चस्तरीय प्रतिनिधिमण्डलको भेलाले बेलौरी छोटी भन्सार कार्यालयसहित देशका पाँचवटा सीमा बिन्दुमा भन्सार कार्यालय स्थापना गर्ने र स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेपनि कार्यान्वयन नभएको साउदले बताए ।

‘उक्त निर्णय हालसम्म लागू हुन सकेको छैन,’ उनले भने, ‘पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यसमेत गरेका छौं ।’ दुई दिनअघि मात्रै संघको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उनकै निवासमा भेटेर भन्सार कार्यालय स्तरोन्नतिका लागि माग पत्रसमेत बुझाइएको उनले बताए ।

‘मन्त्री भट्टले सरकारको नीति तथा कार्यक्रममा भन्सार कार्यालय स्तरोन्नतिका लागि समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘सकारात्मक जवाफ पाएका छौं । यस विषयमा अर्थ मन्त्रालयसँगसमेत छलफल गर्ने अश्वासन दिनुभएको छ ।’

१९१७ देखि २०१९ सालसम्म कैलाली र कञ्चनपुरको मुख्य भन्सारको रुपमा रहेको बेलौरी जिल्ला सदरमुकाम विस्थापित भएपछि ओझेलमा पर्दै आएको छ ।

बेलौरी–धनगढी २५ किलोमिटर हुलाकी राजमार्ग पनि लगभग ८०/९० प्रतिशत कालोपत्रे भएको छ । खुला सिमानासम्म नै आवादी क्षेत्र भएकाले सिमानामा कुनै नदी नाला र जंगल छैन । वाणिज्य व्यापार तथा पर्यटकीय सुगमताको यस क्षेत्रले प्रचूर सम्भावना बोकेको छ ।

भन्सार कार्यालयको स्वामित्वमा ३० हजार वर्ग मिटरभन्दा बढी जग्गा रहेको छ । जग्गाको स्वामित्व भएको भन्सार परिसरमा तीनवटा भवन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment