Comments Add Comment

शिरसुबा : गुरुङ समाजको यथार्थ कथा

फिल्म समीक्षा

गुरुङ समुदायमा लाहुर जाने परम्परा जारी छ । यही परम्परा र आञ्चलिकतालाई समेट्दै अनगिन्ती वृत्तचित्र-चलचित्र बनेका छन् ।

माओत्से गुरुङ निर्देशित चलचित्र ‘शिरसुबा’ यसैको सिलसिला हो । यद्यपि माओत्सेले भिन्न कोण, परिभाषासहित यसको कथा टिपेका छन् ।

भेज मेश्रो फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यस फिल्ममा कलाकार सुमन गुरुङ लिड रोलमा छिन् । यसबाहेक विश्वास गुरुङ, प्रीति गुरुङ, सुमित गुरुङ, आइतराम गुरुङ, सोम गुरुङ, डिबी गुरुङलगायत कलाकारले पनि फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सुन्दर गाउँ घान्द्रुक आसपासका क्षेत्रमा छायांकन गरिएको यो फिल्म गुरुङ भाषा, संस्कार र संस्कृतिमा आधारित भए पनि यसले आम कथाको प्रतिनिधित्व गर्छ ।

पार्टी प्यालेस र होटलको साँघुरो कोठामा च्यारिटी शोमा देखाउँदै आएको गुरुङ फिल्मलाई केही महिनादेखि मल्टिप्लेक्स हलमै प्रदर्शन गर्न थालेका छन् ।

कस्तो छ कथा ?

एउटा सुन्दर गुरुङ गाउँ । गाउँमा एउटा गुम्बा छ । त्यही गुम्बाका लामाले गोरखाबाट ल्याएर एउटी टुहुरीको पालनपोषण गरिरहेका हुन्छन् । उनकै नाम– शिरसुबा । लाहुरे संस्कार र वैदेशिक रोजगारीमा निर्भर उक्त गाउँमा एउटा शंकर नाम गरेको केटो छन् । गाउँमै वकिल बनेर बस्ने सपना छ ।

संयोगले शंकर र शिरसुबाको भेट हुन्छ । त्यो भेट पिरतीमा बदलिन्छ । तर, त्यो माया-पिरती परिपक्व हुन नपाउँदै दुवै भौतिक रूपले टाढिन्छन् ।

शंकर विदेशिएपछि भएको ‘कम्युनिकेसन ग्याप’ र ‘मिस अन्डरस्टाइन्ड’ले तिक्तता छाएको प्रेम सम्बन्ध वरिपरि फिल्म घुमेको छ । उनीहरूले भोगेको अलग कथा–व्यथाबीच फिल्म घुमेको छ । वैदेशिक रोजगारले सम्बन्धमा पारेको प्रभावको कथा पनि हो – शिरसुबा ।

के छ हेर्नलायक ?

समसामयिक विषयलाई काँचको पर्दामा उतार्न अब्बल निर्देशक हुन्– माओत्से गुरुङ । उनले चलचित्र शिरसुबामार्फत गुरुङ समाजको यथार्थलाई चित्रण गरेका छन् ।

गुरुङ फिल्ममा लाहुरेलाई भगवान समान देखाइन्छ । अझ गाउँघरमा लाहुरेको रवाफ नै बेग्लै । तर, पछिल्लो समय युवाहरूमा लाहुरे क्रेज उस्तै छैन । निर्देशक गुरुङले युवापुस्ताको बदलिंदो मानसिकतालाई यसमा पेश गरेका छन् ।

लाहुरे परम्परा अथवा वैदेशिक रोजगारमा जाने कुरालाई घुमाउरो पाराले कटाक्ष गरेका छन् । नायकबाट होस् या गोठालेको चरित्रबाट होस् विदेश जानु भन्दा मिहिनेत गरे स्वदेशमै सुन फलाउन सक्ने सन्देश दिन खोजेको छ ।

जीवन–भोगाइको कथा पस्किएर होस् वा स्वैरकल्पनाको संसार निर्माण गरेर; सन्देशमूलक कन्टेन्ट होस् वा कुनै मुद्दाको उठान नै गरेर– फिल्मले दिने मनोरञ्जन नै हो । तर याद राख्नुपर्ने कुरा कन्टेन्ट, मनोरञ्जन र शिक्षाबीच कसरी सन्तुलित बनाउने भन्ने कुरा हो । शिरसुबाले समाजका दुई वटा मुद्दालाई उठाएको छ– नारी वेदना अनि वैदेशिक रोजगारीको पीडा । मनोरञ्जनसँगै यी दुवै कुरालाई सूक्ष्म तरिकाले केलाउन निर्देशक सफल छन् ।

फिल्मका केन्द्रीय पात्र सुमन गुरुङको अभिनय तारिफ गर्न लायक छ । सुमन गुरुङले शिरसुबाको चरित्र माथि न्याय गरेकी छिन् । शिरसुबा नारी प्रधान चलचित्र हो । जसले समाजका शिरसुबाहरूको कथा सही तरिकाले बोकेको छ ।

नारी सहनशील र त्यागी हुन्छन् । अरूको खुशीको लागि दुःख पीडा झेल्न तयार हुन्छन् । त्याग गर्न सक्छन् । तर पुरुष मानसिकताले तिनै नारीलाई अनेक आशंकाले दबाउन खोज्छ । फिल्ममा महिनौंसम्म शिरसुबाले भोगेको दुःख पीडालाई बेवास्ता गर्दै नायकले उल्टो लाञ्छना लगाइदिन्छ । जसले पुरुष मानसिकताको सही चित्रण गरेको छ ।

निर्देशकको उच्च प्राथमिकतामा नपरेको कलाकार हो सुमित गुरुङ शेरजङ । उनको अभिनय यति दमदार छ कि दर्शक हलबाट निस्किसकेपछि पनि उक्त चरित्रलाई झ्वाट्टै मनमस्तिष्कबाट निकाल्न सक्दैन । फिल्ममा एक्सन छैन । भव्य कमेडी छैन । तर, पनि फिल्मले दर्शकलाई बाँधिराख्छ ।

कुनै न कुनै रूपमा मूल कथासँग सबै पात्र जोडिएकै छन् । कथाको वास्तविक उद्देश्यबाट फिल्म विचलित बनेको छैन । प्रतीकात्मक दृश्यभाषाले फिल्मलाई निकै कलात्मक बनाएको छ । फिल्मको छायांकन पक्ष सुन्दर छ । सिनेम्याटोग्राफर सुशन प्रजापतिको खिचाइ प्रशंसा गर्न लायक छ । विनोद रसाइलीको पाश्र्व संगीत तारिफयोग्य छ ।

कमजोरी के ?

नेपाली सिने क्षेत्रमा निर्देशकले नै पटकथा लेखेमा काम गर्न सजिलो हुने र सिनेमा राम्रो हुने मान्यता छ । सोही मान्यता पछ्याउँदै निर्देशक गुरुङले आफैं पटकथा लेख्न तम्सिएका छन् ।  तर, विमल गुरुङको ‘फिल्मी आइडिया’ लाई निर्देशक गुरुङले पटकथामा न्यायपूर्ण ढंगले समाउन सकेका छैनन् ।

गुम्बा बसेकी शिरसुबामा आध्यात्मिक चेत छ । उनलाई सांसारिक मोहमा सजिलै डुब्न नसकिने कुरा देखाउन खोजिन्छ । उनै शिरसुबा र शंकरको प्रेम पत्यारिलो ढंगले पेश गर्न सकिएको छैन । यस्ता थुप्रै दृश्य छन्, जसलाई पत्याउन हम्मे पर्छ ।

जस्तो खोलाको किनारमा अचेत अवस्थामा भेटिएकी शिरसुबालाई पाँच घण्टाको उकालो चढेर लेकमा पु¥याइएको, होश खुल्दा जादुमय ढंगले नायकको फोटो भेटिएको जस्ता दृश्य अविश्वसनीय छन् ।

नसुहाउँदो परिस्थितिमा पनि रोधी गीत समावेश छ । शिरसुबाको मृत्यु भएको खबरले भावशून्य भएको नायक छमछमी नाचेको देखाएको छ । अनावश्यक ठाउँमा कथाको बहावलाई बिथोल्ने गरी समावेश गरिएको गीत हेरेर दर्शकले मज्जा मान्दैनन् ।

सिनेमा सिर्जनशील माध्यम हो । दृश्यभाषा हो । कलात्मक हुनुपर्छ । तर हाम्रो सिनेमामा मौलिकताभन्दा बिकाउ बजारलाई महत्व दिइन्छ । यसले सिनेमाको मूल मर्म नै मार्ने गर्छ । संवादको सहाराले कथा भन्ने शैली रोजेर झारा टार्ने काम गर्छन् । जसले गर्दा कान र आँखामा मात्र सीमित हुन्छ । मनमस्तिष्कमा छुँदैन । केही हदसम्म यी गुण शिरसुबाले बोक्न सफल भएको छ । शिरसुबा उम्दा सिनेमाको उदाहरण होइन, मानक पनि होइन । तर, सीमित घेराभित्र रहेर बनेका चलचित्र बीच उदाहरणीय भने पक्कै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment