Comments Add Comment

ओली-नेपाल समूह : भौतिक रुपमा एकठाउँ, अडानमा दुरी

टरेको छैन एमालेमा फुटको खतरा

१३ चैत, काठमाडौं । समानान्तर गतिविधि गर्दै आएको नेकपा एमालेको संस्थापन र नेपाल समूह शुक्रबार संसदीय दलको बैठकमा एकैठाउँमा उभिए । पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु पनि सहभागी भए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा नेपाल समूहमा रहेका वरिष्ठ नेता झलनाथ खनाल मञ्चमा ओलीको दायाँतिर बसे भने घनश्याम भुसाल र गोकर्ण विष्ट सांसदहरुको लहरतर्फ पहिलो पङ्तिमै बसे । बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमालेमा विभाजनको जुन रेखा देखिएको थियो, त्यो अन्त्य भएको छ । अब पार्टी एक ढिक्का हुन्छ ।’

तर दुवै समूहका नेताहरुले भने अझै एमालेमा फुटको खतरा टरिनसकेको बताएका छन् । उनीहरुका अनुसार अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैले आ–आफ्नो अडान छाडेका छैनन् । र, सहमतिमा पुग्ने कुनै संकेत देखिएको छैन ।

माधव नेपालको बटमलाइन

संसदीय दलको बैठकमा जानुपूर्व शुक्रबार बिहान नेपाल समूहका उपलब्ध केन्द्रीय सदस्यहरु र संघीय सांसदहरुको बैठक कलंकीस्थित मेगा बैंक्वेटमा बसेको थियो ।

बैठकमा वरिष्ठ नेता नेपालले एमाले र माओवादी एकता हुनुअघिको अवस्था अर्थात् २ जेठ २०७५ मा फर्किनुपर्ने आफूहरुको बटमलाइन भएको बताए । ‘फागुन २३ यता भएका सबै निर्णय फिर्ता लिनुपर्छ, त्यो भयो भने अरु मिलाएर जान सकिन्छ’ उनको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

अन्यथा चैत ४–५ मा भएको राष्ट्रिय कार्यकर्ता भेलाले गरेको निर्णयअनुसार गतिविधि तीव्र बनाउनुपर्ने उनले बताए । ओलीको राज सधैं नरहने भन्दै उनले भने, ‘निराश हुनुपर्दैन । हामीले मात्र एमाले र कम्युनिष्ट एकतालाई जोगाउन सक्छौं ।’

बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम चलिरहेकै थियो । बालुवाटारमा ३ बजे दलको बैठक बोलाइएका कारण सांसदहरुसँग पनि छलफल भयो र नेताहरु हिंडे ।

वरिष्ठ नेता नेपाल र रावल भने संसदीय दलको बैठकमा गएनन् । कलंकीको बैठकमा दुवै नेताले गम्भीर आरोप लगाएर स्पष्टीकरण सोधेको भन्दै संसदीय दलको बैठकमा नजाने बताएका थिए ।

बालुवाटार बैठकमा गएका नेपाल समूहका सांसदहरुमध्ये खनालसहित चार जना नेताले धारणा राखे ।

समय मागेर करिव १५/२० मिनेट बोलेका वरिष्ठ नेता खनालले २३ फागुनको सर्वोच्चको फैसलाबाट नवौं महाधिवेशनबाट निर्वाचित कमिटी, पास भएको विधान पूर्ववत् अवस्थामा फर्किएकाले २ जेठ २०७५ को कमिटीमा फर्किन आग्रह गरे । त्यसका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पहल लिनुपर्ने बताए ।

सांसदहरु योगेश भट्टराई र गोकर्ण विष्टले पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने बताए ।

२३ फागुन अगाडिका विषय कालो इतिहास भएको भन्दै भट्टराईले भने, ‘अब २ जेठ २०७५ मा फर्किऔं र उज्यालो भविष्यतिर अगाडि बढौं ।’ दलको विधान समेत हतारमा पास गरिएको भन्दै उनले सबैलाई मस्यौदा उपलब्ध गराएर छलफल गर्न र सबै उपस्थित भएको केन्द्रीय कमिटीबाट अनुमोदन गर्न प्रस्ताव गरे ।

ओलीको अडान : निर्णय उल्टिंदैन, कारबाही हुन्छ

नेपाल समूहका सांसदहरु दलको बैठकमा आएर राखेको प्रस्तावमा अध्यक्ष ओली भने सहमत भएनन् ।

उनले प्रष्ट शब्दमा भनेका छन्, ‘२८ फागुनको निर्णय उल्टिंदैन । सबै पार्टी र संसदीय दलको अनुशासनमा सबै बस्नुपर्छ । जो बस्दैन, अनुशासनको कारबाही हुन्छ ।’

उनले त्यसो भनिरहँदा घनश्याम भुसालले बीचमै उठेर तथ्य नबंग्याउन आग्रह गरे । २८ फागुनका बैठकबारे आफूहरुलाई कुनै सूचना नआएको भन्दै उनले भने, ‘जसरी एक पक्षले राष्ट्रिय भेला गर्‍यो, तपाईंहरुले पनि त्यही गर्नुभयो ।’

तर अध्यक्ष एवं दलका नेता बैठकका लागि सूचना नै नदिएको तथ्य स्वीकार गरेनन् । उनले भनेका छन्, ‘पार्टीमा मिल्ने अवस्थामा चासो राखेर आउन सक्नुहुन्थ्यो, आउनु भएन । त्यसपछि पनि आउनुभएन । आज आउनुभयो तपाईंहरुलाई स्वागत छ । तर पछाडि फर्किन सकिंदैन, पार्टीका निर्णय उल्टिंदैनन् ।’

आफू २ जेठ २०७५ मै फर्किएको दाबी गर्दै उनले सरकार र पार्टीको पक्षमा उभिएका साबिक माओवादी केन्द्रका नेताहरुको व्यवस्थापन मात्र गरेको बताए । एमालेको २४१ सदस्यमा माओवादी केन्द्रका २३ जनालाई थपेर २६४ सदस्यीय केन्द्रीय कमिटी बनाएको र त्यसले गरेको निर्णय विधिसम्मत भएको भन्दै ओलीले भने, ‘विधिसम्मत त्यो निर्णयबाट फर्किन सकिंदैन ।’

साथै उनले नेपाल समूहका नेताहरुलाई कारबाही गर्ने बताए । केन्द्रीय कमिटीले स्पष्टीकरण सोधेको चारमध्ये दुई जना (माधवकुमार नेपाल र भीम रावल)को जवाफ आएको भन्दै उनले भने, ‘त्यो अत्यन्त नकारात्मक छ । त्यो कारबाहीको भागिदार छ ।’ प्रमुख सचेतक भट्टराईका अनुसार कुन प्रकृतिको कारबाही गर्ने भन्ने आगामी केन्द्रीय कमिटी बैठकले निर्णय गर्नेछ ।

तर त्यसअघि बाँकी दुई नेताको जवाफ पार्टीलाई सकारात्मक कोणबाट आओस् भन्ने ओलीले चाहेका छन् । स्पष्टीकरण सोधिएकामध्ये घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले जवाफ दिन बाँकी छ ।

सजिलो छैन सहमति

एमालेको सम्भावित विभाजनलाई रोक्नुपर्छ भन्ने मत राख्दै आएका नेताहरुका अनुसार संसदीय दलमा माधव नेपाल समूह उपस्थित हुनु सकारात्मक हो । तर ओली पक्षका प्रमुख सचेतक भट्टराईले भनेको जस्तो फुटको खतरा टरेको भने होइन ।

नाम उल्लेख नगर्ने शर्तमा एक नेता भन्छन्, ‘सहमति अझै टाढा छ, फुटको खतरा टरेको छैन ।’ उनका अनुसार अध्यक्ष ओली पार्टी फुटे पनि फुटाेस्, अर्को पक्षलाई पेलेर जाने मुडमा देखिएका छन् भने नेता नेपाल पनि झुक्ने पक्षमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् ।

ट्रेन्डिङ

Advertisment