News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीसहित शीर्ष नेताहरूको सुरक्षाकर्मी कटौतीप्रति असन्तुष्टि जनाएका छन्।
- पोखरेलले सरकारले राजनीतिक दलका नेताहरूको सुरक्षाकर्मी कटौतीको अभियान नै चलाएको टिप्पणी गरे।
- सरकारले पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड र माधवकुमार नेपालको सुरक्षाकर्मी कटौती गरेको छ।
१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीसहितका शीर्ष नेताहरूको सुरक्षाकर्मी कटौतीप्रति असन्तुष्टि जनाएका छन् ।
बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारले राजनीतिक दलका नेताहरूको सुरक्षाकर्मी कटौतीको अभियान नै चलाएको टिप्पणी गरे ।
चुनावका लागि सबैभन्दा महत्वपूर्ण पक्ष राजनीतिक दलहरू निर्वाध ढंगले जनताको बीचमा जान पाउने वातावरण बन्नुपर्ने उनको आग्रह छ । यसको प्रत्याभूति सरकारले प्रदान गर्नुपर्ने भन्दै उनले भने, ‘अहिले पछिल्लो समय छ– राजनीतिक दलका नेताहरूको सुरक्षाप्रति सरकार संवेदनशील छैन ।’
एकातिर राजनीतिक दलहरूप्रति घृणा पैदा हुने खालको व्यवहार भइराखेको र अर्कोतिर सुरक्षाकर्मी कटौती गर्ने कुरा सही नभएको उनको आग्रह छ ।
महासचिव पोखरेल अगाडि भन्छन्, ‘सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने ठाउँमा सुरक्षा कटौती गर्ने अभियान चलाइराख्या छ ।’
सुरक्षाको प्रत्याभुतिको जिम्मा सरकारको हुनुपर्नेमा राजनीतिक दलले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था बन्न पुगेको उनले बताए ।
सरकारलाई महासचिव पोखरेलको प्रश्न छ, ‘हरेक राजनीतिक दलहरूले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने खालको बाटोमा मुलुक हिँड्न थाल्यो भने त्यसले समाजमा शान्ति सुरक्षा कायम गर्छ कि समस्या ल्याउँछ ?’
पछिल्लो समय सबै राजनीतिक दलले आफ्नो शीर्ष नेताको सुरक्षाको जिम्मा आफैँ युवा दस्ता तयार गर्नुपर्ने अवस्था बनेको उनले गुनासो गरे ।
‘प्रत्येक राजनीतिक दलहरूले आफ्नो शीर्ष नेताको सुरक्षाका लागि आफ्नै युवा दस्ता तयार गर्नुपर्ने । के हामी सही बाटोमा जाँदैछौं ? यो त राज्यको कमजोरीको परिणाम हो’ सरकारलाई उनको आग्रह छ, ‘राज्यले सुरक्षा नदिँदा राजनीतिक दलहरूले आफ्नो सुरक्षा आफैँ गर्नेतर्फ जाने कुरा भनेको लोकतान्त्रिक समाजका लागि उपयुक्त होइन ।’
यस्तो विषयमा सरकार गम्भीर बन्नुपर्ने र सुरक्षाको जिम्मेवारी राज्यको हो भन्ने विषयमा बोध हुनुपर्ने उनको आग्रह छ ।
सरकारले पूर्वप्रधानमन्त्रीद्वय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गरेको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षाकर्मी समेत फिर्ता भएका छन् ।
यो पृष्ठभूमिमा एमालेका महासचिव पोखरेलले शीर्ष नेताहरूको सुरक्षाकर्मी कटौतीप्रति सार्वजनिक रुपमै असन्तुष्टि जनाएका हुन् ।
प्रतिक्रिया 4