Comments Add Comment

प्रदेश २ मा लागूऔषधकै कारण बढ्यो जघन्य अपराध

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका सुरज साहको हत्या आरोपमा पक्राउ परेका अभियुक्तहरु ।

१५ चैत, जनकपुरधाम । गत बिहीबार सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित खेतमा स्थानीय ३० वर्षीय सुशील रायको टाउको काटिएको अवस्थामा शव फेला पर्‍यो ।

११ चैतको राति उनीसँगै लागूऔषध प्रयोग गर्न बसेका उनका साथीहरूले नै धारिलो हतियारले टाउको काटेर सुशीलको हत्या गरेको प्रहरीले बतायो ।

स्थानीय ४५ वर्षीय कमल पण्डित भनिने विमलकान्त पाठक र उनका ४० वर्षीय भान्जा अशोक झाले सुशीलको टाउको काटी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । ११ चैतको राति यी तीनै जनाले लागूऔषध प्रयोग गरेको र विवाद भएपछि दुवै मिलेर उनको टाउको काटेर हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार एक वर्ष ८ महिनामा प्रदेशमा १४९ वटा हत्या र ५२० जबरजस्ती करणीका घटना हुँदा अधिकांशमा लागूऔषध प्रयोगकर्ताकै संलग्नता छ ।

२४ फागुनको राति बाराको निजगढ नगरपालिका–९ मा १८ वर्षीय रोहित शर्माको घाँटीमा चक्कु घोपेर उनकै साथी अरुण साहले हत्या गरे । यी दुईबीच लागूऔषध सेवन गर्ने क्रममा विवाद हुँदा रौतहटको चन्द्रपुर नगरपालिका–९ कै २९ वर्षीय साहले शर्माको हत्या गरेको प्रहरीले बतायो । साहलाई प्रहरीले २५ फागुनमा रौतहटबाट हत्या आरोपमा पक्राउ गरिसकेको छ ।

लागूऔषध प्रयोगकर्ताबीचको आपसी विवादका कारण आफ्नै साथीको हत्या गर्ने क्रम बढिरहेको यी घटनाले देखाएको प्रदेश २ का प्रहरी पवक्ता एसपी कृष्ण प्रसाईं बताउँछन् ।

यस्तै, ३० चैत २०७६ मा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी नदी बाँधको छेउमा स्थानीय सुरज साह मृत अवस्थामा फेला परे । प्रहरीको अनुसन्धानबाट उनी लागूऔषध प्रयोगकर्ता रहेको र उनको हत्या लागूऔषध प्रयोगकर्ता उनकै साथी मिलेर गरेको तथ्य बाहिर आयो ।

मृतक सुरज, उनका साथी सुजितकुमार मुखिया, कृष्णकुमार मुखिया र चन्द्रशेखर मण्डलसँगै बसेर गाँजा पिउँदै चोरीको योजना बनाइरहेका थिए । चोरी गर्न आवश्यक पर्ने ताल्चा काट्ने कटर, खुकुरी र बोरा ल्याउनका लागि सुरज साहलाई जिम्मा दिइयो । साहले जिम्मा दिएको सामान ल्याए ।

प्रहरीको अनुसन्धानले यो ल्याएपछि उनका साथी मिलेर ताल्चा काट्ने कटरले साहकै टाउकोमा हान्दा उनको ज्यान गयो । यी चारै जनाले ‘सोनपिच’ नामको सोलुसन नामक लागूऔषध सुँघेका थिए । करिब १८ दिनपछि १७ वैशाख २०७७ मा साथीको हत्यामा संलग्न भएको आरोपमा यी चारै जना पक्राउ परे ।

यसैगरी धनुषाको सबैला नगरपालिका–७ स्थित लबटोली बस्ने २५ वर्षीय अरुण मण्डलको २८ जेठ २०७६ को राति गोली हानेर हत्या गरियो । उनलाई पनि सँगै बसेर गाँजा पिउने साथी १९ वर्षीय श्रवण मण्डलले गोली प्रहार गरेको प्रहरीको अनुसन्धानले देखायो ।

मण्डलद्वयसहितका युवा घर नजिकैको पोखरीमा बसेर गाँजा पिउने क्रममा विवाद भयो । त्यही विवाद बढेपछि श्रवणले अरुणमाथि गोली प्रहार गरे । उनको घटनास्थलमै ज्यान गयो । गोली हानेपछि फरार भएका श्रवण ३२ जेठमा पक्राउ परे ।

*****

प्रदेश २ मा लागूऔषध सेवन गरेर आफ्नै साथीको हत्या गरिएका यी चारवटा घटना एक वर्षभित्रै भएका हुन् । यी चार घटनाले प्रदेशका कतिपय युवा लागूऔषधको कुलतमा पर्दै गएको देखाएको प्रहरीको भनाइ छ ।

प्रदेश २ का प्रहरी पवक्ता एसपी कृष्ण प्रसाईं ८० प्रतिशत अपराधिक घटना लागूऔषधकै कारण भइरहेको बताउँछन् ।

उनका अनुसार लागूऔषध प्रयोग गरेर हत्या र जबर्जस्ती करणी गर्ने गरेको भएपनि पछि ती मुद्दा कर्तव्य ज्यान र जबर्जस्ती करणीमा परिणत हुने भएकाले लागूऔषधकै कारण हत्या र करणी भएको तथ्यांक प्रहरीमा छुट्टै रहँदैन ।

‘यद्यपि ८० प्रतिशत यस्ता अपराधिक घट्ना लागूऔषध प्रयोग गरेरै कारण हुने गरेको देखिन्छ,’ उनी भन्छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार एक वर्ष ८ महिनामा प्रदेशमा १४९ वटा हत्या र ५२० जबरजस्ती करणीका घटना हुँदा अधिकांशमा लागूऔषध प्रयोगकर्ताकै संलग्नता छ ।

गाँजादेखि हेरोइन र चरेससम्मको कारोबार

प्रदेश २ का आठ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । जसका कारण लागूऔषध ल्याउन सजिलो छ । लागूऔषधसहित पक्राउ पर्नेहरू भारतबाटै ल्याइरहेको अवस्थामा पक्राउ पर्ने गरेका छन् ।

विभिन्न किसिमको ट्याब्लेट र इन्जेक्सनदेखि गाँजा, चरेस र हेरोइनसम्मको प्रयोग यो प्रदेशमा हुने गरेको प्रहरीको भनाइ छ । यी लागूऔषधको कारोबार तथा प्रयोग हुन नदिन प्रहरीले आफ्नोस्तरबाट कोशिस गरिरहेको बताउँछ ।

चालू आर्थिक वर्षको फागुन महिनासम्म १ हजार ९१० किलो, ३४५ ग्राम ३४३ मिलीग्राम गाँजा प्रदेशका आठै जिल्लाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसबाहेक ६५५ ग्राम, २ हजार ३१५ मिलीग्राम ब्राउन सुगर, १४४ किलो, ६८५ ग्राम, ६० मिलिग्राम चरेस, २२ ग्राम, ९६० मिलीग्राम हेरोइन, १६ किलो, ५५० ग्राम अफिम नियन्त्रणमा लिएको छ ।

यही अवधिमा ४४ हजार ६२० वटा अन्य विभिन्न किसिमका लागूऔषध नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रसाईं बताउँछन् ।

२० महिनामा १६ सय ५२ जना पक्राउ

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रदेशमा प्रहरीले पछिल्लो २० महिनामा एक हजार ६५२ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ को फागुनसम्मको अवधिमा लागूऔषध शीर्षकमा एक हजार १२२ वटा मुद्दा दर्ता भएको छ ।

आर्थिक वर्ष २०७६–७७ मा ९६२ मानिस लागूऔषधसहित पक्राउ पर्दा ६३५ वटा मुद्दा दर्ता भएको छ । सबैभन्दा बढी सिराहामा २४२ जना पक्राउ परेका प्रवक्ता प्रसाईंले बताए । यहाँ १६२ वटा मुद्दा दर्ता भएका छन् ।

चालू आर्थिक वर्षको फागुनसम्म ६९० जना समातिँदा ४८७ वटा मुद्दा दर्ता भएका छन् । यो आर्थिक वर्षमा पनि लागूऔषधसहित पक्राउ पर्ने र मुद्दा दर्तामा सिराहा नै अगाडि देखिएको छ । यो जिल्लामा १४९ जना पक्राउ पर्दा ११० वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा कम रौतहटमा ३३ जना पक्राउ पर्दा २४ वटा मुद्दा दर्ता भएको छ ।

प्रदेश सरकारको ध्यान सौन्दर्यकरणमा

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले केही समयअघि महिला हिंसाविरुद्धको एक कार्यक्रममा लागूऔषधकै कारण जबर्जस्ती करणीदेखि अन्य अपराध बढेको स्वीकार गरे । तर, मुख्यमन्त्रीले समस्या न्यूनीकरणका लागि कुनै योजना ल्याउन नसकेको गुनासो बढेको छ । लागू औषध नियन्त्रणका लागि प्रदेश सरकारले बजेटसमेत छुट्याएको छैन ।

चालू आर्थिक वर्षको बजेटमा त लागूऔषध नियन्त्रणमा रकम विनियोजन भएको छैन तर पोखरी सौन्दर्यकरणमा करोडौं बजेट छुट्टयाइएको छ । सरकारले पोखरी सौन्दर्यकरण गर्न ५३ करोड छुट्टयाएको छ भने चुरे क्षेत्रमा जलाशय निर्माण गरी मनोरञ्जनात्मक स्थलको डिजाइन र निर्माणको लागि ३ करोड छुट्टयाएको छ ।

प्रदेशका युवाहरु लागूऔषधको कुलतमा फस्दै गएको तथ्यांक उच्च भए पनि प्रदेश सरकारले उन्नत नश्लका बोयर बोका खरिद तथा वितरणका लागि २ करोड विनियोजन गरेको छ ।

बढी प्रतिशत अपराध लागूऔषध प्रयोगकर्ताबाटै : डीआईजी सिंह

लागूऔषध र मादक पदार्थका कारण बढी अपराधिक घटना भइरहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए । ८० देखि ८५ प्रतिशत घटना लागूऔषध र अत्याधिक मदिरा सेवनका कारण भइरहेको उनको भनाइ छ ।

उनका अनुसार ५० प्रतिशत आपराधिक घटना अत्याधिक मदिरा र ३५ प्रतिशत घटना लागूऔषध प्रयोगका कारण भइरहेको देखिएको छ ।

लागूऔषध प्रयोग गर्नेलाई दण्ड होइन माया : समाजशास्त्री अजय यादव

लागूऔषधको दुष्प्रभावको पहिलो कारण खुल्ला सीमा छ, जसकारण लागूऔषध ओसारपसार गर्न सजिलो हुन्छ । अर्काे चाँडै आम्दानी हुने भएकाले पनि केही मानिस यसप्रति आकर्षित छन् । तेस्रो संगतको प्रभावले पनि लागूऔषध प्रयोग गर्ने बढिरहेका छन् । चौथो कुरा कानुन फितलो छ । कानुन त छ तर, राजनीतिक दलले यस्ता व्यक्तिको पृष्ठपोषण गर्नु पनि लागूऔषध प्रयोग बढ्नुको कारण हो जस्तो लाग्छ ।

प्रहरीले लागूऔषधसहित मान्छेलाई पक्राउ त गर्छ, तर प्रहरी र अड्डा अदालतमा पैसा दिएर मुद्दालाई कमजोर बनाइन्छ । परिवारले जुन रुपमा चासो लिनुपर्ने हो त्यसरी लिइएको पाइँदैन । निकै जटिल अवस्थामा मात्र परिवारले चासो दिएको देखिन्छ । शुरुमै सानो गल्ती गर्दा ध्यान दिने हो भने ठूलो दुर्घटनाबाट बचाउन सकिन्छ ।

लागूऔषध दुर्व्यसनको सवालमा परिवारको दायित्व प्राथमिक र समाजको ‘सेकेण्डरी’ हुन्छ । परिवारले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । परिवारले ध्यान नदिएकै कारण अन्तिम अवस्थामा आएपछि लागूऔषध प्रयोगकर्ताले अपराध गर्नेदेखि आत्महत्यासम्म गर्ने गरेका छन् ।

लागूऔषध प्रयोगबाट छुटकारा दिलाउनका लागि, नियन्त्रण गर्नका लागि युवाको मानसिकतामा परिवर्तन ल्याउनुपर्छ । प्रयोग गर्नेहरुलाई लक्षित गरी दण्ड सजाय छाडेर मूलधारमा ल्याउने काम गर्नुपर्छ ।

यस्ता कार्यक्रम विश्वका विभिन्न मुलुकमा पनि भइरहेको छ । यहाँ पनि गर्नुपर्छ । सजायभन्दा ‘यो गलत हो, यसले नराम्रो परिणाममा पुर्‍याउँछ ‘ भन्ने कुरा मायाले सम्झाउन सक्नुपर्छ । जुन जरुरी छ । एनजीओहरुले कार्यक्रम त गर्छन् तर एउटा कोठामा सीमित हुन्छन् । भौगोलिक दृष्टिले भन्नुपर्दा भारतसँग खुल्ला रहेको सीमा नाकाका सम्भावित स्थानमा निगरानी ‘प्वाइन्ट’ राख्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment