Comments Add Comment

आमाको मुहारमा मुस्कुराएको शान्तिश्रीको सफलता

कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरेकी गायिका आज लाखौं दर्शक–श्रोताको ढुकढुकीमा बस्न सफल भएकी छिन् ।

बोलमाया
एक बचन बोल
तिम्रै बोली
छ मलाई अनमोल !

तीन वर्षअघि सार्वजनिक भएको गीत ‘बोल माया’ ले सांगीतिक बजारमा छुट्टै तरंग ल्याइदियो । वैदेशिक रोजगारीमा गएकाहरूको दुःखान्त कथालाई उठान गरेको गीतले धेरैलाई भावुक बनायो । धेरैले गीतलाई गाउँघरको कथाका रूपमा बुझे ।

दुई वर्षअघि ‘बोल माया’ को चर्चा सेलाएकै थिएन । अर्को गीत सार्वजनिक भयो, ‘गलबन्दी’ ।

पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज, सोझी ठानेर !

गाउँघरको लोक जनजीवनलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको यो गीतले उस्तै चर्चा पायो । गीत १८ दिनमै युट्युबमा १ करोडभन्दा बढी पटक हेरियो ।

सुरिलो स्वरकी धनी गायिका शान्तिश्री परियारलाई चिनाउन यी गीत नै काफी छन् ।

तीन साताअघि एउटा गीत सार्वजनिक भयो, ‘चौका दाउ’ । जुन गीत अहिले युट्युबमा रुचाइन थालेको छ । धेरैले यसका हरफमा टिकटक बनाएका छन् । सार्वजनिक भएको तीन सातामा गीतलाई युट्युबमा ७० लाखभन्दा बढी पटक हेरिएको छ । पछिल्लो समय लोकसंगीतमा छाएकी छिन्– शान्तिश्री ।

आज धेरैको मन जितेकी शान्तिश्रीको विगतको कथा भने कष्टकर छ ।

दुःखद बाल्यकाल, गायनमा सानैदेखि रुचि

रोल्पाको विकट गाउँमा, निम्नवर्गीय परिवारमा जन्मिएकी हुन् शान्तिश्री । चार दाजुभाइ, तीन दिदीबहिनी, बुवाआमा गरी नौ जनाको परिवार । ज्यामी काम गरेर बुवाले परिवार पाल्दै आएका थिए ।

जनयुद्धको समय थियो । माओवादीले विद्यालयबाट विद्यार्थी ‘अभियान’ मा लग्ने समय थियो ।

त्यो त्रास र गाउँमा निकै दुःख भएपछि शान्तिश्रीको सपरिवार सदरमुकाम लिवाङ झ¥यो । त्यसबेला शान्तिश्री ७ वर्षकी मात्र थिइन् ।

सदरमुकाममा डेरा गरेर बस्न थालेपछि परिवारमा धेरै अभाव थियो । बाल्यकालमै शान्तिश्री बिहान घरको काम सिध्याएर विद्यालय जान्थिन् ।

सदरमुकामको विद्यालयमा पढ्न थालेपछि उनले आफूमा भएको प्रतिभा प्रस्फुटन गर्ने वातावरण पाइन् । सम्झिन्छिन्, ‘दुई कक्षामा पढ्दा बाल दिवसको दिन विद्यालयमा गायन प्रतियोगिता भयो । त्यसमा भाग लिएँ । प्रथम भएँ ।’

१३ वर्षको उमेरमा दाङ पुगेर क्षेत्रीयस्तरको दोहोरी प्रतियोगितामा भाग लिएर उनी तृतीय भइन् । त्यसबेला उनले ‘राष्ट्रिय स्तर’का कलाकारहरूलाई प्रत्यक्ष देख्ने मौका पाइन् । ‘त्यहाँ नारायण रायमाझी, रमेश बिजी, चन्द्र शर्मा, राजु परियार, सिर्जना विरही, बद्री पंगेनीलगायतका कलाकार पुग्नुभएको थियो’ उनी सम्झिन्छिन्, ‘त्यसपछि त गायिका बन्नुपर्छ भन्ने चाहना झन् चुलिएर गयो ।’केही रुपैयाँ पुरस्कार पाउँदा उनमा गायनप्रतिको आकर्षण बढ्दै गयो । सहकर्मी, छिमेकी, शिक्षकहरूले भन्न थाले, ‘यो त राम्रो गायिका बन्छे कि क्या हो !’

तर शान्तिश्रीका लागि त्यो सहज थिएन । बुवा बिरामी परेपछि उपचारका लागि बुवाआमा काठमाडौं आए । भाइबहिनीको हेरचाहको जिम्मेवारी अब शान्तिश्रीको काँधमा आइलाग्यो । दाइ, दिदीको विवाह भैसकेको थियो, शान्तिश्रीले बाध्यतावश विद्यालय छाडेर गिट्टी कुट्ने, बोक्ने काम गर्न थालिन् । उपचार गरेर फर्किएपछि बुवा कमाउनका लागि भारत गए ।

बुवा बिरामी परेपछि उपचारका लागि बुवाआमा दुवै काठमाडौं आए । भाइ–बहिनीको हेरचाहको जिम्मेवारी शान्तिश्रीको काँधमा आइलाग्यो । शान्तिश्रीले बाध्यतावश विद्यालय छाडेर गिट्टी कुट्ने, बोक्ने काम गर्न थालिन् ।

शान्तिश्रीलाई आफ्नो गायिका बन्ने सपना पूरा गर्न राजधानी जानुपर्छ भन्ने हुटहुटीले सताइरहेको थियो । तर, कसरी जाने उपाय सुझिरहेको थिएन । त्यसमाथि आमाको सहारा थिइन् उनी ।

जिल्लाकै एकजना प्रकाश जिसी दाइले काठमाडौं लगिदिने र दोहोरी साँझमा काम लगाइदिने बताए । उनी आमालाई ‘मनाउन’ लागिन् । धेरै प्रयासपछि आमालाई फकाएर २०६४ सालमा शान्तिश्री काठमाडौं छिरिन् ।

‘मान्नुभएको थिएन । तर छोराछोरीले धेरै कर गरेपछि कुनचाहिं आमाले चाहेको गर्न दिंदैनन् र ! उहाँलाई कन्भिन्स गराएँ । दाइसँग त लामो समय बोलचाल नै भएन’, काठमाडौं आउनका लागि गरेको संघर्षको कथा उनले अनलाइनखबरलाई सुनाइन् ।

परिवारबाट कहिल्यै नछुट्टिएकी उनले काठमाडौंमा एक्लोपन भोगिन् । अभाव झेलिन् । दुःख र कष्ट सहिन् । तैपनि रहर खातिर उनले यी सब अवस्थासँग पौठेजोरी खेलिन् ।

एक दिनका लागि गाउन गएकै दोहोरीमा जागिर

शान्तिश्री बालाजुचोकमा रहेको त्रिवेणी त्रिशूली दोहोरी साँझमा गाउन थालिन् । दोहोरी साँझ खासै चल्दैनथ्यो । तलब निश्चित थिएन, जाने–आउने चलिरहेको थियो ।

कसैको सट्टामा शान्तिश्रीले एकदिनका लागि बागबजारमा रहेको रमाइलो चौतारी दोहोरी साँझमा पुगेर गीत गाइन् । गाएकी के मात्र थिइन्, संचालक याम श्रेष्ठको मन जितिहालिन् । श्रेष्ठले त्यतिबेलै आफ्नो दोहोरी साँझमा जागिर दिने निर्णय गरे । तलब तोकियो ४ हजार । त्यसपछि उनले अन्य दोहोरी साँझमा पनि गीत गाइन् ।

रेकर्डिङ र स्टेज यात्रा

दोहोरीबाट गायन शुरू गरे पनि गीत रेकर्ड गराउने शान्तिश्रीको सपना थियो । टेलिभिजनमा आफ्नो गीत प्रसारण होस् भन्ने रहर थियो । गायिका बनेर परिवारको अवस्था र इज्जत माथि उठाउने धोको थियो ।

२०६८ सालमा उनले शम्भु थापाको गीत गाइन्, ‘अरूभन्दा फरक म किन ?’ यो गीतले खासै चर्चा पाएन ।

दोहोरीमा तलब कम थियो, केही टिप्स आउँथ्यो । त्यो जम्मा गर्दै उनले आफ्नै लगानीमा ‘घर छ तीनतले’ बोलको लोकदोहोरी गीत बजारमा ल्याइन् ।

कुलेन्द्रले निःशुल्क गाइदिने भए । केही खर्च पृथ्वीले हालिदिए । कुलेन्द्र र शान्तिश्रीको आवाजमा सार्वजनिक भयो, ‘एकतर्फी माया’ ।त्यहीबेला पृथ्वी थकालीले लगाएको गुन शान्तिश्री जीवनभर बिर्सन सक्दिनन् । शिव हमाल, कुलेन्द्र विकसँग उनले भेट गराइदिए । शिवले निःशुल्क गीत बनाइदिए ।

यो गीतपछि शान्तिश्री गायिकाका रूपमा चिनिंदै गइन् । भन्छिन्, ‘त्यसपछि मेरो सांगीतिक करिअर शुरु भयो भनौं ।’ उनलाई रेकर्डिङका लागि अवसरहरू आउन थाले । केही स्टेज कार्यक्रममा बोलाइन थालिइन् ।

कसैको सट्टामा शान्तिश्रीले एकदिनका लागि बागबजारमा रहेको रमाइलो चौतारी दोहोरी साँझमा पुगेर गीत गाइन् । गाएकी के मात्र थिइन्, संचालक याम श्रेष्ठको मन जितिहालिन् । श्रेष्ठले त्यतिबेलै आफ्नो दोहोरी साँझमा जागिर दिने निर्णय गरे ।

गायनमा उनको धीत मरेन । उनलाई लाग्यो, ‘मेरो स्वर सुनाउनका लागि मैले आफूलाई प्रमाणित गर्नैपर्छ ।’

थोरै पैसा आफैं जम्मा गरिन्, केही समयका लागि पृथ्वी थकालीसँग ७० हजार रुपैयाँ सापटी मागिन् ।

अब उनले आफ्नै १ लाख ५० हजार लगानीमा मिलन लामासँग मिलेर गाइन्– ‘गाईलाई दाम्लो, माछीलाई फुर्लुङ्ग’ ।

यो गीत उनको सांगीतिक करिअरको अर्को खुट्किलो बन्यो । ‘त्यसपछि विदेशबाट समेत अफरहरू आउन थाले । पहिलो कार्यक्रम ओमनमा गरें ।

त्यसपछि हङकङलगायत देशमा स्टेज कार्यक्रमका लागि पुगें’ उनले भनिन्, ‘सापटी लिएको ७० हजार तीन महिनामा कमाएर तिरें ।’

शान्तिश्री अब संगीतमा छाउन थालिन् । उनका एकपछि अर्को गीत चल्दै गए ।

लोकगायक पशुपति शर्मासँग गाएको ‘सातो फुक झाँक्री बा’, ‘बुहारी सुत्केरी भैछ’, ‘मेरो छोरा दुई नम्बरी’ लगायत गीत रुचाइए । व्यस्तता बढ्दै गएपछि २०७२ सालमा दोहोरी साँझ छाडिन् ।

‘बोल माया’ पछि एकै दिन ६ वटा गीत रेकर्ड

गीत चलिरहेका थिए । स्टेज कार्यक्रम भइरहेका थिए । त्यही बीचमा २०७४ सालमा नारायण रायमाझी, प्रकाश सपूत र शान्तिश्रीको आवाजमा ‘बोल माया’ गीत बजारमा आयो । यसले छुट्टै उँचाइ दिलाएको शान्तिश्री बताउँछिन् ।

‘त्यसअघि बामे सरिरहेकी म त्यसपछि हिंड्न सकें’ उनी भन्छिन्, ‘त्यो गीत सार्वजनिक भएपछि दैनिक ६ वटासम्म गीत गाएकी छु । स्टेजतिर पनि धेरै व्यस्त भएँ ।’ त्यसको चर्चा कम भएकै थिएन, अर्को गीत ‘गलबन्दी’ ले शान्तिश्रीलाई थप चर्चामा पु¥याइदियो ।

खासमा ‘गलबन्दी’ लाई लिएर शान्तिश्रीमा औसत अपेक्षा थियो । तर टिकटकमा यो गीत एकाएक छायो ।

‘बोल माया’ गीत कार्यक्रम गरेर सार्वजनिक गरिएको थियो । थुप्रै सञ्चारमाध्यममा अन्तर्वार्ता गरिएको थियो । तर, ‘गलबन्दी’ तामझाम नगरी सार्वजनिक भएको थियो ।

‘गलबन्दी’ सार्वजनिक भएको अर्को दिन शान्तिश्री स्टेज कार्यक्रमका लागि ‘यूके’ जाँदै थिइन् । यात्राको क्रममा टिकटक के हेरेकी थिइन्, त्यो त ‘गलबन्दी’ मय भएको देखिन् ।

‘त्यो देखेपछि ओहो ! यस्तो पनि हुँदोरहेछ भन्ने लाग्यो’ अनपेक्षित चर्चा पाउँदाको क्षण सम्झँदै भनिन्, ‘अरू गीत त विदेशमा विस्तारै ‘क्लिक’ हुँदै जान्थ्यो । यो गीत म यूके पुगिसक्दा धेरैको मुखमा झुण्डिसकेको रहेछ ।’

दुवै गीत आफ्नो करिअरको लागि उत्तिकै महत्वपूर्ण रहेको शान्तिश्रीले बताइन् ।

स्टेजमा ‘बोल माया’ र ‘गलबन्दी’ गाउँदाका केही फरकपन छन् । त्यो के भने, ‘बोल माया’ शान्तिश्रीले स्टेजमा एकपटकभन्दा बढी गाउन सक्दिनन् । ‘गलबन्दी’ तीन चार पटक गाउँदा पनि धीत मर्दैन ।

‘मेला महोत्सवमा दर्शक रमाइलो गर्न भनेर आउनुभएको हुन्छ । ‘बोल माया’ गाउँदा उहाँहरू स्तब्ध बन्नुहुन्छ । कति रुनु हुन्छ । त्यसैले आफूलाई पनि त्यो गीत धेरै गाएर भावुक बनाउन मन लाग्दैन’ उनले भनिन्, ‘गलबन्दी बोलको गीत जति गाउँदा पनि ‘वान्स मोर’ आइरहन्छ ।’

शान्तिश्रीका गीतहरू निरन्तर चलिरहेका छन् । लकडाउनको समयमा ‘मायालु आजैलाई’ राम्रै चलेको गीत हो । ‘माया हाँसेको’ गीतलाई पनि श्रोता दर्शकले उत्तिकै रुचाएका थिए ।

****

शान्तिश्रीले २०६८ सालमा विवाह गरिन् । तीन वर्षको प्रेम सम्बन्धपछि धादिङका नारायण भुजेलसँग उनको विवाह भयो । उनीहरूको भेट एक लाइभ दोहोरीमा भएको थियो । सोही कार्यक्रममा नम्बर साटासाट भयो ।

‘कुराकानी हुन थाल्यो । तर प्रेम भन्ने एक वर्षसम्म थाहा थिएन । उहाँले रेस्टुरेन्टमा काम गर्नुहुन्थ्यो । मलाई सपोर्ट गर्नुहुन्थ्यो’ शान्तिश्रीले सुनाइन्, ‘एकअर्काका भावनाहरू मिल्दै गए । अन्ततः २०६८ सालमा विवाह ग¥यौं ।’

अहिले शान्तिश्रीका श्रीमान् एक एनजिओमा काम गर्छन् । दुवैको मायाको निशानी छोरी भर्खरै दुई महिनाकी छिन् ।

शान्तिश्रीले ४२ दिन गीत रेकर्डलाई ब्रेक गरिन् । तर, पनि सो समयमा श्रोताले उनको स्वर खोजे ।

उनको आवाजमा तीन साताअघि ‘चौका दाउ’ बजारमा आयो । यो गीत युट्युब, टिकटकमा भाइरल भइरहेको छ ।

आजसम्म कति गीत गाइन् ? उनले सुनाइन्, ‘डायरीमा टिपेर राखेकी छु । ११०० भन्दा बढी भएछन् ।’ स्टेज कार्यक्रमका लागि उनी ४५ भन्दा बढी जिल्ला पुगेकी छिन् । दुई दर्जन भन्दा बढी देशमा उनले प्रस्तुति दिइसकेकी छिन् ।

‘अहिले गाउन धेरै अफर आइरहेका छन् । दिनहुँजसो एक–दुई वटासम्म गीत रेकर्ड गराइरहेकी छु । छोरीलाई पनि हेर्नुप¥यो’, यसो भनिरहँदा शान्तिश्रीमा मातृत्व झल्कन्थ्यो ।

गफ गरिरहँदा सानी छोरीलाई उनकी आमाले हेरिरहेकी थिइन् । शान्तिश्रीको सफलतामा आज को बढी खुशी होला ? निःसन्देह – आमा । जुन खुशी आमाको मुहारमा पनि झल्किरहेको थियो ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment