Comments Add Comment

ऐश्वर्य रायदेखि अक्षयकुमारसम्म, जो पाककलामा रुचि राख्छन्

खाना पकाउनु कतिको काम, कतिको पेशा हो, कतिको रहर पनि । थुप्रै हुन्छन्, जो भान्सामा नयाँ नयाँ व्यञ्जन बनाउन रुचाउँछन् । आफ्नै हातले थरीथरी परिकार बनाउने र अरुलाई चखाउने रहर हुन्छ । उनीहरु पकाउने नयाँ सीप र शैली पनि खोजिरहेका हुन्छन् । नयाँ स्वाद खोजिरहेका हुन्छन् । यसबाट अछुतो छैनन्, बलिउडकर्मी पनि ।

खिलाडी ब्वाई अक्षयकुमारले जतिसुकै व्यस्त सेड्युलमा पनि परिवारका लागि समय निकाल्छन् । पारिवारिक समयमा उनी नयाँ नयाँ पाककलाको अभ्यास गरिरहेका हुन्छन् । भान्सामा पसेर मीठो मसिनो बनाउनु उनको साेख हो । बेलामौकामा भान्साको काम गर्छन् ।

त्यसो त बलिउडका अभिनेता अक्षय कुमार फिल्ममा आउनुअघि व्यावसायिक सेफकै रुपमा सक्रिय थिए । फिल्ममा आउनुअघि उनले बैंककमा सेफकै रुपमा काम गरेका थिए । त्यस पछि मात्र उनी अभिनयमा आएका हुन् । उनी आज बलिउडका सफल अभिनेताको रुपमा स्थापित भए पनि उनले भान्सासँगको आफ्नो सम्बन्धलाई अहिलेसम्म तोडेका छैनन् । उनी आज पनि आफ्नो परिवारका सदस्यका लागि आफैं खाना तयार पारिरहेका हुन्छन् ।

अब कुरा गरौं अजय देवगणको । बलिउडमा सिंघमको उपनामले स्थापित अभिनेता अजय देवगण पनि खाना बनाउन सिपालु मात्र छैनन्, सौखिन पनि छन् । उनी रमाइलो एवं आनन्दका लागि खानेकुरा पकाउने गर्छन् । अजय देवगणलाई केही विशेष परिकार बनाउन आउँछ ।

अभिनेत्री शिल्पा शेट्टी बलिउडमा उत्कृष्ट अभिनय गर्ने कलाकारको रुपमा स्थापित छिन् । उनी योगमा पनि उत्तिकै रुचि राख्छिन् भने खाना पकाउने प्रसंगमा पनि उनी एक कदम अगाडि छिन् । खाना पकाउने सेखकै कारण उनी टेलिभिजनको एउटा कुकरी शोमा समेत सहभागी भएकी थिइन् ।

त्यसो त शिल्पा जसरी खाना बनाउन सौखिन छिन्, त्यसैगरी उनलाई थरीथरीका परिकारका स्वाद चाख्ने साेख पनि छ ।

यता अभिनेत्री ऐश्वर्य राय बच्चन सिपालु कुक समेत हुन् । उनलाई थुप्रै प्रकारका डिजर्टहरु बनाउन आउँछ । यति मात्र होइन, उनी आफूले बनाउने प्रत्येक परिकारमा कुनै न कुनै प्रकारका अभ्यासहरु गर्न रुचाउँछिन् ।

ऐश्वर्या राय मात्र होइन, उनका श्रीमान् तथा अभिनेता अभिषेक बच्चनको पनि कुकिङ साेखको विषय हो । उनी आफ्नी श्रीमती झैं मीठा परिकार बनाउन सिपालु छन् । अभिषेकलाई चिकेनका विभिन्न स्वादिष्ट परिकारहरु बनाउन आउँछ ।

बलिउडमा फेसन डिभाको रुपमा स्थापित अभिनेत्री करिना कपूर खान पनि कुकिङकी सौखिन हुन् । करिनालाई भेजिटेरियन (शाकाहारी) खाना बनाउन मन पर्छ । अचम्म लाग्ने कुरा के छ भने करिनाको घरमा आयोजना हुने अधिकांश गेट टुगेदर पार्टीहरुमा आएका आफ्नो परिवारका सदस्य तथा नजिकका साथीहरुका लागि उनी आफैं खाना बनाउने गर्छिन् ।

बलिउड क्विनको उपनामले चिनिने अभिनेत्री कंगना रानौतको बारेमा धेरैलाई जानकारी नभएको एउटा कुरा के हो भने उनी अभिनयमा जसरी अब्बल मानिन्छिन्, त्यसैगरी भान्सामा पनि त्यत्ति नै अब्बल छिन् । उनी कुकिङकी सौखिन हुन् ।

कंगनालाई पहाडी खाना बनाउन असाध्यै मनपर्छ । एउटा फिल्मको छायांकनको क्रममा उनले एक दिन सम्पूर्ण क्रूका लागि चाइनिज खाना तयार पारेर सबैलाई छक्क पारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment