Comments Add Comment
विराजबारे भरत :

विराज अनुशासित खेलाडी र राम्रो लिडर हो : भरत खवास

१८ चैत, काठमाडौं । विराज महर्जनले सोमबार थ्री नेसन्स कपको फाइनल खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदा उनीसँगै डेब्यु गरेका भरत खवासले भने बेन्चबाटै खेल हेरे ।

विराज र भरतको अनौठो संयोग छ । यी दुई खेलाडी डेब्यु गर्दा रुममेट थिए, १३ वर्ष संगै अन्तर्राष्ट्रिय फुटबल खेल्दा पनि रुममेट नै रहे । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदा स्वदेशमा वा विदेशमा रहँदा उनीहरु एउटै कोठामा बस्थे ।

विराजबारे के भने भरतले ?

हामी एकदमै मिल्ने साथी हौं । दुई दशकसम्म उनी संगै रहँदा र खेल्दा धेरै रमाइलो भयो । हामीले सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थियौं ।

विराज एकदमै मिहिनेती र अनुशासित खेलाडी हो र राम्रो लिडर पनि । उनी नेपाली फुटबल टिमकै सफल कप्तान हो, उनको कप्तानीमा नेपालले धेरै उपाधि जित्यो ।

हामी राष्ट्रिय टिममा डेब्यु गर्दादेखि नै रुमरेट छौँ । अहिले थ्री नेसन्स कपमा पनि हामी रुममेट नै हौँ ।

राष्ट्रिय टिममा १३ वर्ष बिताउँदा जहाँ गएपनि विराज र म रुम पार्टनर भयौँ । विराज मिहिनेती, अनुशासित र क्षमतावान खेलाडी हो । उनको देब्रे र दाहिने दुवै खुट्टा चल्छ । दुवै खुट्टा चलाउन सक्ने एक/दुई जना खेलाडीमध्ये पनि विराज राम्रा छन् ।

हाम्रा कुरा पनि आपसमा धेरै मिल्छ । एकपटक कुवेत जाँदा भने हामी टाइमिङमा चुक्यौँ । बिहान ९ बजे ब्रेकफास्टको समय थियो, हामी धेरै सुतेर ९:३० बजे मात्र पुग्‍यौँ । ढिला पुग्दा प्रशिक्षक जोहान कालिनले ट्वाल्ल हेर्नुभएको थियो । त्यसपछि कोही खेलाडी ढिला आउँदा पनि हामी त्यही सम्झिन्छौँ ।

लगातार १३ वर्ष राष्ट्रिय टिमबाट खेल्नु चानचुने कुरा होइन । त्यसको लागि खेलमा निरन्तरता र समर्पण चाहिन्छ । विराजबाट नयाँ पुस्ताका खेलाडीहरुले धेरै कुरा सिक्न सक्छन् ।

अब आउने पुस्ताका खेलाडीले पनि कसरी मिहिनेत गर्ने र राष्ट्रिय टिममा कसरी निरन्तर रहिरहने भनेर सोच्नुपर्छ । कसरी चोटमुक्त भएर निरन्तर खेल खेल्ने भन्ने कुरा पनि विराजबाट सिक्न सकिन्छ ।

मेरो अहिले तत्काल सन्यास लिने सोच छैन । मेरो फिटनेसमा समस्या छैन र इन्जुरी पनि छैन । त्यसैले अझै केही वर्ष खेल्न सक्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment