Comments Add Comment

एनभिए क्लब लिग भलिबल : आर्मीमाथि बुलबुले राराको पुनरागमन जित

२१ चैत, काठमाडौं । बुलबुले रारा क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पाँचौ संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ पहिलो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शुक्रबार भएको पुरुषतर्फ खेलमा पाकिस्तानी खेलाडी सम्मिलित बुलबुले राराले पहिलो सेट हारेर पनि त्यसपछि लगातार तीन सेट जित्दै आर्मीलाई ३-१ ले पराजित गरेको हो ।

बिहीबार एपीएफसँग ३-१ ले पराजित भएको बुलबुले राराले दोस्रो दिन भने अर्को विभागीय टोलीमाथि शानदार जित हात पारेको हो ।

रोमान्चक बनेको खेलमा बुलबुलेले आर्मीलाई २०-२५, २५-२१, २५-१९, २५-२३ ले हरायो । पहिलो जितपछि बुलबुले राराले २ खेलबाट ३ अंक जोडेको छ ।

पहिलो दिन मणिमुकुन्द भलिबल क्लबलाई पराजित गरेको आर्मीको यो पहिलो हार हो । आर्मीको पनि २ खेलबाट ३ अंक छ ।

नेपाल भलिबल संघ (एनभिए)को आयोजनामा भएको च्याम्पियनसिपमा एपीएफले लगातार दोस्रो जित हात पारेको छ । यस्तै हेल्प नेपाल स्पोर्ट्स क्लबले पनि विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको खेलमा एपीएफले लगातार दोस्रो जित निकाल्ने क्रममा मणिमुकुन्दलाई २५-२२,२५-२०, २५-१९ को सेटमा हरायो । मणिमुकुन्दको यो लगातार दोस्रो हार हो ।

यस्तै अर्को खेलमा हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लबलाई २५-१४,२३-२५, २५-२२, २५-१६ ले हरायो । जितपछि हेल्प नेपालले ३ अंक जोडेको छ ।

चैत २६ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा पुरुषतर्फ सात र महिलातर्फ ६ टिम सहभागी छन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, बुलबुले रारा क्लब, नयाँ बजार सामाजिक युवा क्लब र मणिमुकुन्द भलिबल क्लब छन् ।

महिलातर्फ एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्ट्स क्लब, ढोरपाटन स्पोर्ट्स क्लब र भरतपुर मेट्रो खेलकुद परिषद छन् ।

लिग च्याम्पियनसिपको महिला र पुरुष दुवैतर्फको विजेताले ३ लाख पुरस्कार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथोले ३७ हजार ५ सय पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment