Comments Add Comment

प्रदेशस्तरीय यू-१६ क्रिकेटमा बर्दिया र नवलपरासी विजयी

२२ चैत, बुटवल । भैरहवामा जारी अन्डर-१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बर्दिया र नवलपरासी विजयी भएका छन् । सिद्धार्थ रंगशालामा आइतबार भएको खेलमा बर्दियाले प्युठानलाई १० विकेटले हरायो भने नवलपरासीले बाँकेमाथि ५ विकेटको जित निकाल्यो ।

टस जितेर ब्याटिङ गरेको प्युठानले ५ विकेटको क्षतिमा १०४ रनको योगफल बनायो । उसका लागि सुजन पुन मगरले २७ र सविन केसीले १५ रन बनाए । बलिङमा बर्दियाका रोहित सुनारले २, नितेशकुमार यादव, हेमन्त आचार्य र राजीव साहुले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बर्दियाले १२ ओभर १ बलमा विनाक्षति १०५ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा नितेशकुमार यादवले ४६ बलमा ७ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै, साहिल शेखले ३५ रन जोडे । नितेशकुमार यादव म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले १९ ओभर २ बलमा सबै विकेट गुमाएर १०४ रन बनायो । उसका लागि प्रविन कुमालले २६ र पियुष प्रजापतिले २३ रन बनाए । बलिङमा नवलपरासीका रमेश पाण्डेले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । यस्तै, नूर आलम अन्सारीले ३, विजयकुमार लोहार, गया सहानी र हिल्सन पाण्डे क्षेत्रीले समान १/१ विकेट लिए ।

प्रतिउत्तरमा नवलपरासीले १६ ओभर १ बलमा ५ विकेटको क्षतिमा १०५ रन बनाउँदै जित निकाल्यो । उसका लागि हिल्सन पाण्डे क्षेत्रीले ३५ र अभिषेक पटवाले १७ रन बनाए । बलिङमा बाँकेका धनबहादुर थापा र मग्बुल राईले समान २/२ विकेट लिए । हिल्सन पाण्डे क्षेत्री म्यान अफ द म्याच भए ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment