Comments Add Comment

फेरि लकडाउन गर्ने योजना छैन : स्वास्थ्यमन्त्री त्रिपाठी

२४ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने दावी गरे । उनले लकडाउन भन्दाअघि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको पनि बताए ।

लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।

‘हामी यो चाहँदैनौं कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् । लकडाउन भन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन् सरकार ती सबै कदम चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ’ उनले भने ।

छिमेकी मुलुकमा कोभिड-१९ को नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे ।

‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं । तर आतंकित हुनुपर्ने अवस्था छैन । आतंकित हुनु भनेको यो संक्रमणलाई झन् थप्नु हो । सावधान हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरु अबलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन’ उनले भने ।

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोप प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको मन्त्री त्रिपाठीले बताए ।

चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबार शुरु हुने पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment