Comments Add Comment

रेसुङ्गामा वर्षेनि डढेलो, करोडौं क्षति

२९ चैत, गुल्मी । सुक्खा मौसम शुरु भएसँगै सदरमुकाम तम्घास नजिकैको रेसुङ्गा वनमा वर्षेनि डढेलो लाग्दा करोडौंको क्षति हुने गरेको छ ।

केही दिनयता गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

सुक्खा मौसम, पानी तथा जनशक्तिको अभाव, हावाहुरी र सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रण आउन नसक्दा वर्षेनि करोडौंको क्षति हुने गरेको हो ।

तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्रको अधिकांश भू-भाग प्रत्येक वर्ष डढेलोले ध्वस्त हुने गरेको छ ।

केही दिनयता पनि रेसुङ्गा क्षेत्रमा आगलागी भएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको टोली खटिए पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीले सयौं रोपनी क्षेत्रफल रहेको रेसुङ्गा वन क्षेत्र सखाप भैसकेको छ ।

डढेलोले प्रत्येक वर्ष वन क्षेत्रभित्रका पशुपक्षी, महत्वपूर्ण जडीबुटी, रुख, बिरुवा जलेर नष्ट हुने गरेका छन् ।

आगोलागीले रेडियो नेपाल, एनसेल, भ्यु टावर तथा यज्ञशालालगायत महत्वपूर्ण मन्दिर र भौतिक संरचना जोखिममा छन् भने जडीबुटी तथा वन्यजन्तुको अस्तित्व संकटमा पर्न थालेको छ ।

रेसुङ्गा वन क्षेत्र ऐतिहासिक धार्मिक क्षेत्र हो । जहाँ ठूला रकम खर्चिएका भौतिक संरचनासमेत छन् । आगो नियन्त्रणमा ल्याउन नसकिए वन क्षेत्र नजिकका पराल्मी, वलिथुम, गौडाकोट, दुविचौर, तम्घास र अर्खलेसम्मका बस्ती समेत जोखिममा छन् ।

हाल जिल्लाका रेसुङ्गासँगै दैनिक जसो एक दर्जन बढी सामुदायिक वनमा आगलागी हुने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । सुक्खा सिजन हावाहुरी चलिरहेकाले आगो नियन्त्रणमा कठिनाइ हुने गरेको उनको भनाइ छ ।

जिल्लामा फागुनयता दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा डढेलो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment