
२ वैशाख, काठमाडौं । वृद्धा सासुको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोगमा जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक कमलप्रसाद रेग्मी पक्राउ परेका छन् । बल्खुबाट उनलाई पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।
प्रहरीले उनकी श्रीमती सुष्मा रिजाल रेग्मीलाई २२ चैतमा पक्राउ गरेको थियो । सोही मुद्दामा कमलप्रसाद पनि प्रतिवादी भएकाले पक्राउ गरिएको सिंहले जनाए ।
कमल र सुष्माले स्व. भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको भन्दै उजुरी परेको थियो । यस्तै सृजना फाइन्नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको थियो ।
प्रहरीका अनुसार सुष्माले कुल तीन करोड रुपैयाँभन्दा धेरै रकम लिइ जाहेरवालालाई हेरचाह नगरी सम्पत्ति लिइसकेपछि बेवास्ता गरी ज्येष्ठ नागरिक ऐन, २०६३ अन्तर्गतको कसूर गरेको जाहेरीमा भनिएको छ ।
सुष्मालाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइसकेको छ । उनी हाल केन्द्रीय कारागार, सुन्धारामा छिन् ।
प्रतिक्रिया 4