Comments Add Comment

अस्पताल चहार्दा चहार्दै कोरोना संक्रमित महिलाको मृत्यु

६ वैशाख, विराटनगर । कोरोना संक्रमित महिलाको विराटनगरका अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेकी ३५ वर्षीय जैनव खातुनको सोमबार बिहान मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार बिहान करिब ३ बजे विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । इमर्जेन्सीबाट आईसीयूमा ‘सिफ्ट’ गर्नुअघि एण्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पतालले भर्ना गर्न मानेन ।

आफन्तले गोल्डेन अस्पतालबाट बुढीगंगा गाउँपालिका–२ मा रहेको  करिब ८ किलोमटर टाढा विराट मेडिकल कलेजमा पुर्‍याए । तर अस्पतालले भर्ना लिन मानेन । ‘अवस्था गम्भीर भएकाले हतार–हतार गर्दै सुरुमा गोल्डेन लग्यौं । एण्टीजेन पोजेटिभ देखिएपछि गोल्डेनले फर्कायो,’ एम्बुलेन्स चालक राजा मियाले अनलाइनखबरसँग भने, ‘विराटले पनि भर्ना गर्न मानेन, त्यहाँबाट कोशी अस्पताल लग्यौं ।’

कोशी अस्पताल पुर्‍याउँदा करिब साढे ४ बजेको थियो । तर एण्टीजेन पोजेटिभ केस भन्दै अस्पतालले आइसोलेसनमा राख्यो र पीसीआर परीक्षण नगरी उपचार शुरु नहुने बतायो । आफन्तले विरामीलाई लिएर नोबेल मेडिकल कलेज पुर्‍याए ।

कोशी अस्पताल लैजानु अघि सम्पर्क गर्दा म्याक्स अस्पतालमा सम्पर्क गरे, तर फोनमै  विरामी नल्याउन भनियो । त्यसपछि नोबेल पुर्‍याए । तर एण्टीजेन पोजेटिभ भएको जानकारी पाएपछि नोबेल मेडिकल कलेजले पनि आईसीयू छैन भन्दै विरामीलाई फर्कायो । आफन्तले पुनः कोशी अस्पतालमा लगे । त्यसबेला बिहान ६ बजिसकेको थियो ।

आइसोलेसनमा राखेर उपचार शुरु गर्दैगर्दा महिलाको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. चुमनलाल दासले बताए ।

अस्पतालमा ल्याउँदा विरामीमा अक्सिजन लेभल कम देखिएको थियो । ‘सामान्य अवस्थामा अक्सिजन लेभल ९० प्रतिशत हुनुपर्छ तर बिरामीमा ६० प्रतिशत मात्रै थियो,’ उपचारमा खटिएका एक चिकित्सकले भने,‘अक्सिजन दिएर उपचार शुरु गर्दैगर्दा उहाँको मृत्यु भयो ।’ बिरामीको मृत्यु भएपछि आफन्तले शव बुझेर घर लगेका छन् ।

कोरोना अस्पताल सञ्चालन गर्न निर्देशन दिने प्रदेश सरकारको तयारी

प्रदेश १ सरकारले निजी अस्पतालहरुलाई कोरोना अस्पताल सञ्चालन गर्न निर्देशन दिने तयारी गरेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले निजी अस्पताललाई कोरोना संक्रमितको उपचारको व्यवस्था गर्न निर्देशन दिने तयारी रहेको बताए ।

‘स्वास्थ्य विभागबाट आइतबार निजी अस्पतालसँग समन्वय गर्न भनेर पत्र आएको छ,’ उनले भने, ‘मन्त्रालयमा एक चरण छलफल भयो, अब केही दिनभित्र अस्पतालहरुलाई निर्देशन दिन्छौं ।’

विराटनगरमा नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र न्यूरो अस्पतालले छुट्टै कोरोना अस्पताल सञ्चालन गरेका थिए । बिरामी नभएपछि तीनवटै अस्पताल गत पुसयता बन्द छन् । ती अस्पतालले कोरोना संक्रमित बिरामी आए अन्य अस्पतालमा रेफर गर्दै आएका छन् । रेफर गरेकै कारण सोमबार उदयपुरकी महिलाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment