
६ वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउन नेतृत्व गरेका ८ जना*लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बसेको बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दुई दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यस्तै कर्णालीमा फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पनि स्पष्टीकरण सोधिएको छ ।
स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गर्ने एक नेताले जानकारी दिए । माधव समूहका प्रमुख नेताहरू नेपाल, रावल, भुसाल र पाण्डेलाई यसअघि नै ६ महिना पार्टी सदस्यबाट निलम्बन गरिसकेकाले अबको कारबाही निस्कासन हुनसक्ने एक नेताले बताए ।
माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित भएको बैठकको सुरूमै अध्यक्ष केपी शर्मा ओलीले कर्णाली फ्लोर क्रस गरेर अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको भन्दै कारबाही गर्ने बताएका थिए ।
कर्णाली प्रदेशमा एमालेको नेपाल समूहका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गर्दै महेन्द्रबहादुर शाहीलाई मत दिएका थिए । उनीहरुकै मतका कारण शाही नेतृत्वको सरकार जोगिएको छ भने फ्लोर क्रस गर्नेमध्ये तीन जना मन्त्री समेत भइसकेका छन् ।
बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पास गरेको छ, जसमा पार्टीमा विभाजनकारी गतिविधि बन्द गर्न र पार्टी एकतामा आउन आह्वान गर्न आह्वान गरिएको छ । ‘अहिले विभाजनकारी गतिविधिमा लागेका नेताहरुले अन्तिम विनाश हुनुभन्दा अगाडि आफैंले आफैंलाई गम्भीरतापूर्वक रिभ्यु गर्नुस् र गलत बाटो छोड्नुस भन्ने हाम्रो आश्य छ’ प्रवक्ता प्रदीप ज्ञवालीले भने ।
साथै प्रतिनिधिसभा पुनर्स्थापना भएपनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याहरुको समाधान हुने सम्भावना एकदमै कम देखिएको निष्कर्ष प्रतिवेदनमा रहेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
पार्टी निर्माण तथा सुद्धीकरण र सवृद्धिको अभियानलाई तीव्रता दिने पार्टी आगामी कार्यभार भएको प्रतिवेदनमा कुनै पनि बेला निर्वाचनमा जानु पर्ने भएकाले तम्तयार हुन पार्टी पङ्तीलाई आह्वान गरिएको छ ।
बैठकले संठनात्मक प्रतिवेदन पास गरेको छ, जसमा साउनमा विधान सम्मेलन गर्ने समेत कार्यतालिका छ ।
प्रतिक्रिया 4