Comments Add Comment
कभर स्टोरी :

६०० स्थानीय तहमा दमकल छैन, डोजर चाहिं फालाफाल

तीन वर्षमा ५ हजार आगलागी, १५८ को मृत्यु, ८ अर्बको क्षति

२७ चैत, काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा १८ फागुनमा आगलागी हुँदा ५८ घर जले । बिहान ९ बजे स्थानीय भोला पौडेलको घरमा विद्युत् ‘सर्ट’ भएर सल्किएको आगो क्षणभरमै बस्तीमा फैलियो ।

आगलागी नियन्त्रणका लागि जिल्लामा एउटा मात्रै दमकल थियो, सदरमुकाम फुङलिङ बजारमा । ‘फुङलिङबाट एक घन्टामा दमकल आइपुग्दा बस्तीभरि आगो फैलिनबाट रोक्न सक्ने अवस्था रहेन’ गाउँपालिकाका अध्यक्ष गणेश लिम्बूले भने, ‘सानो बजार आगो तीव्र गतिमा फैलिरहेको थियो, एउटा दमकलले कति नै रोक्न सक्थ्यो र !’

उनको भनाइमा, तत्काल आगो नियन्त्रणमा लिन सम्भव नदेखिएपछि जोडिएकामध्ये स्काभेटर प्रयोग गरेर केही घरहरू भत्काएर आगो फैलिनबाट रोकिएको थियो । तर त्यतिबेलासम्म बजारको आधा भाग जलिसकेको थियो ।

२० वैशाख २०७७ मा ताप्लेजुङकै फुङलिङ बजारमा आगलागी हुँदा पनि यस्तै भएको थियो । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रहरी निरीक्षक मोहनप्रसाद पोखरेल भन्छन्, ‘एउटा मात्र दमकल थियो, एकपटक भरिएको पानी सकिएपछि फेरि पानी भरेर आउँदा आगो उस्तै भइसकेको हुन्थ्यो ।’

पोखरेलका भनाइमा, ३७ घर–परिवार विस्थापित हुने गरी भएको त्यो आगलागीलाई नियन्त्रणमा लिन पाँचथरमा रहेको दमकल बोलाउनु परेको थियो । उनी भन्छन्, ‘तीन घन्टामा पाँचथरबाट दमकल आएपछि पानी भर्न जाने–आउने बीचको समय पनि मिल्यो र आगो नियन्त्रणमा आयो ।’

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङको विवरणबाट जिल्लामा पछिल्लो चार वर्षमा ११४ स्थानमा आगलागी भएको देखिन्छ । आगलागीले २०४ वटा घरमा क्षति पुर्‍याएको थियो । जिल्लामा आगलागी हुँदा अहिले पनि त्यही एउटा दमकलको भर छ ।

दोभान बजारमा भएको आगलागी ।

१६ मंसीर २०७५ मा झापाको शिवसताक्षी नगरपालिका–७, लालझोडामा एउटा परिवार नै सखाप हुने गरी आगलागी भयो । आगलागीमा परेर ३४ वर्षीय लक्ष्मण खनाल, २८ वर्षीया उनकी श्रीमती राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा र पाँचमहीने छोरा टीकारामले घरभित्रै ज्यान गुमाए ।

स्थानीयले तत्काल दमक नगरपालिकाको दमकललाई खबर गरे । तर, दुई बजे मात्रै दमकल पुग्दा धेरै ढिला भइसकेको थियो । स्थानीयका अनुसार शिवसताक्षी नगरपालिकामै दमकल भएको भए यो मानवीय क्षति नहुन सक्थ्यो । तर, अहिलेसम्म पनि नगरपालिकाले दमकल खरीदमा चासो देखाएको छैन ।

१३ पुस २०७५ मा झापाकै मेचीनगर नगरपालिका–६, काँकरभिट्टामा आगलागी हुँदा २२ घर जलेर नष्ट भए । नजिकै रहको दमकल पनि समयमा आइनपुग्दा यतिविघ्न क्षति भएको स्थानीयको आरोप छ ।

झापामा सबै स्थानीय तहसँग दमकल छैनन् । भारतसँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा पर्ने झापा गाउँपालिका, केचनकवललगायतका क्षेत्रमा आगलागी भए भगवान भरोसामा बस्नुपर्ने स्थिति रहेको स्थानीयवासी बताउँछन् ।

झापा गाउँपालिका–६ का वडा सदस्य मोहनप्रसाद पोखरेल भन्छन्, ‘यता आगलागी भए दमक वा बिर्तामोडबाट दमकल बोलाउनुपर्छ । त्यहाँबाट दमकल आउञ्जेलमा घर सखाप भइसकेको हुन्छ ।’

यो पनि पढ्नुहोस एक वर्षसम्म अन्योलमै रह्यो आगलागीमा ४ जना मारिएको घटना

५ असोज २०७४ मा मोरङको कानेपोखरी गाउँपालिका–३, हरकपुरमा आगलागी हुँदा एकै परिवारका चार जनाको जलेर मृत्यु भयो । मृत्यु हुनेमा ५६ वर्षीय चन्द्रकुमार राई, ५० वर्षीया पार्वता राई, ४५ वर्षीया विष्णुकुमारी राई (तामाङ) र ८५ वर्षीया गंगामाया राई थिए ।

बिहान दुई बजे आगलागी हुँदा इटहरी, विराटनगर र दमकबाट दमकल बोलाइएको थियो । स्थानीय वासिन्दाहरू कानेपोखरीमै दमकल भएको भए यतिविघ्न क्षति नहुने बताउँछन् ।

२०७६ मंसीरमा सुनसरीको इटहरीस्थित ‘बिग बार’ होटलमा आगलागी हुनेवित्तिकै इटहरी उपमहानगरपालिकाको दमकललाई खबर गरियो । तर, धरानको दमकल पहिले आइपुग्यो, त्यतिञ्जेलमा चार करोड रुपैयाँभन्दा बढीको क्षति भइसकेको थियो ।

०००

२५ पुस २०७५ मा प्रदेश–२ को महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर–७, बखरीमा काठमाडौं–महोत्तरी रुटमा चल्ने ना ८ ख ३३१६ नम्बरको, यात्रु झारेर रोकिराखिएको बसमा एक्कासी आगो लागेको थियो ।

चालक धीरेन्द्र सिंहले तत्कालै आगो नियन्त्रणका लागि प्रहरी र दमकललाई खबर गरे । तर, एक किलोमिटरको दूरीमा रहेको दमकल पनि पुग्न सकेन ।

बिग्रिएको दुई सातासम्म पनि मर्मत नगरिकन राखिएको हुँदा आगलागी नियन्त्रणमा समस्या भएको प्रहरीको भनाइ थियो । महोत्तरीमा बर्दिवास, जलेश्वर र गौशाला नगरपालिकामा तीन वटा दमकल थिए । तर, त्यो घटना भएका बेला सबै बिग्रिएको अवस्थामा थिए ।

२० फागुन २०७४ मा पर्साको पोखरिया नगरपालिका–४ का वशिष्ट नारायण वर्णवालको घरमा आगलागी भयो । पोखरियामा दमकल नहुँदा वीरगञ्जबाट बोलाउनुपर्‍यो, जसले आगो नियन्त्रणमा ढिलाइ भयो र करीब १५ लाख रुपैयाँ बराबरको क्षति भयो । स्थानीय धर्मेन्द्र चौरसियाले नगरपालिकामा दमकल नभएकैले धेरै क्षति व्यहोर्नु परेको बताए ।

०००

मनाङ जिल्लामा पछिल्लो एक वर्षमा पाँच वटा आगलागीका घटना भए । तीमध्ये चार वटा डढेलोका थिए भने एउटा चाहिं धारापानीमा रहेको गुम्बामा आगो लागेको घटना थियो ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मनाङका चार वटा स्थानीय तहमध्ये कुनैले पनि दमकल राखेका छैनन् ।

‘सबैतिर दमकल जान सक्ने अवस्था त छैन, तर दमकल भएको भए बाटो पुगेको ठाउँमा आगो नियन्त्रणमा लिन सहज हुन्थ्यो’ उनले अनलाइनखबरसँग भने, ‘कुनै एउटा स्थानीय तहले भए पनि दमकल किने सहज हुनेथियो ।’

जिल्ला प्रहरी प्रमुख डीएसपी सुवास खड्काका अनुसार, दमकल नहुँदा धारापानीमा लागेको आगो स्थानीय, सेना र प्रहरीले माटो हालेर निभाएका थिए ।

०००

२१ चैतमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा १२० वटा घरटहरा जलेर ध्वस्त भए ।

नरैनापुरको आगलागी

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह भन्छन्, ‘अघिल्लो वर्ष गाउँपालिकाले दमकल खरीद गरेका कारण समयमै आगो नियन्त्रणको प्रयास त गरियो तर, त्यो पर्याप्त भएन ।’

‘फुसका घर लहरै भएको ठाउँमा एउटा मात्र दमकलले आगो नियन्त्रण गर्न सम्भव नहुने रहेछ’ शाहले अनलाइनखबरसँग भने, ‘नेपालगञ्ज र कोहलपुरबाट दमकल आइपुग्न एक घन्टाभन्दा बढी समय लाग्यो ।’

०००

३ पुस २०७५ मा सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला सदरमुकाम खलंगाको घाटबजारमा पदम बडालको फेन्सी पसलमा आगलागी भयो । नेपाल–भारत जोड्ने पुल नजिकै भएको आगो निभाउन स्थानीय र सुरक्षाकर्मीले महाकाली नदीबाट पानी ओसारे । सबैको प्रयासपछि डेढ घन्टामा आगलागी नियन्त्रणमा आयो ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार जिल्लाको महकाली नगरपालिकामा एउटा दमकल छ । तर, भौगोलिक अवस्थाका कारण त्यो सबैतिर जान सक्दैन । ‘जिल्लामा दमकलको प्रयोग एकदमै कम हुन्छ, बजार क्षेत्रमा पनि दमकल गुड्न समस्या हुन्छ’ चन्दले भने, ‘राजमार्ग आसपास चाहिं दमकलको प्रयोग हुन्छ ।’

२२ फागुन २०७७ मा धनगढीमा आगलागी हुँदा एक फर्निचर उद्योग जलेर खरानी भयो । आलोक मल्टी कन्सर्न नामक उद्योगमा भएको आगलागी नियन्त्रणका लागि दमकल समयमा नआएको भन्दै सञ्चालकले गुनासो गरे ।

कैलालीकै गोदावरी नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट दमकल आइपुग्दा समेत धनगढीको दमकल आइनपुगेको उनको गुनासो थियो । गुनासो सुनेपछि धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले घटना छानबिन गर्ने आश्वासन दिएका थिए ।

तीन वर्षमा ५ हजार स्थानमा आगलागी, १५८ जनाको मृत्यु, ८ अर्बको क्षति

घटना विवरणहरूले देखाउँछन् कि मुलुकका कुनै पनि प्रदेश आगलागीको जोखिमबाट मुक्त छैनन् । यसबाट मुलुकले वर्षेनि ठूलो जनधनको क्षति व्यहोरिरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता वसन्त कुँवरका अनुसार, पछिल्लो तीन वर्षमा देशभर ५ हजार ६४ वटा आगलागीका घटना भएका छन् । तिनमा १५८ जनाको मृत्यु भएको छ भने ८७१ जना घाइते भएका छन् । २ हजार ५०५ घरमा क्षति पुगेको छ ।

प्रवक्ता कुँवरका भनाइमा, आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ७८ करोड ८९ लाख; २०७६/७७ मा २ अर्ब २१ करोड ५६ लाख र २०७७/७८ मा ३ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तर अझै पनि ६०० स्थानीय तह दमकलविहीन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये ६ महानगरसँग १९ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् । त्यस बाहेक ११ वटा उपमहानगरपालिकासँग दुई वटाको दरले २२ वटा दमकल छन् ।

मन्त्रालयका अनुसार, काठमाडौंमा चार, ललितपुरमा तीन, पोखरामा तीन, भरतपुरमा दुई, वीरगञ्जमा तीन र विराटनगर महानगरपालिकामा चार वटा दमकल छन्, १२ उपमहानगरहरूमा पनि कम्तीमा दुई/दुई दमकल भए पनि सबै ठीक अवस्थामा छैनन् ।

झापाको कमल, मोरङको कानेपोखरी, सुनसरीको कोशी, तेह्रथुमको आठराई, भोजपुरको हतुवागडी, खोटाङको खोटेहाङ, उदयपुरको रौतामाई र बाँकेको नरैनापुर गाउँपालिकाबाहेक ४५२ वटा गाउँपालिका अहिले पनि दमकलविहीन रहेको सामान्य प्रशासन मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका उपसचिव ऋषिराज आचार्य बताउँछन् ।

उनका भनाइमा २७६ नगरपालिकामध्ये दमकल नभएका २०३ नगरपालिकामा केहीले खरीद गर्ने प्रयास गरेका छन् । तर, कसैले बजेट अभाव त कसैले धान्न नसकिने भनेर प्रक्रिया अघि बढाएका छैनन् ।

आचार्यका अनुसार प्रदेश–१ मा २०, प्रदेश–२ मा ९, वागमतीमा ११, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशमा ९ वटा गरी ७३ वटा स्थानीय तहमा दमकल छन् । तीमध्ये कतिपय चालु अवस्थामा छैनन् ।

मन्त्रालयले गरेको अध्ययन अनुसार तत्कालै प्रदेश–१ मा थप २६, प्रदेश–२ मा २२, वागमतीमा १२, गण्डकीमा ८, लुम्बिनीमा १२, कर्णाली र सुदूरपश्चिममा ८/८ वटा गरी कम्तीमा ९६ वटा दमकल आवश्यक पर्छन् ।

तराईका २१ जिल्लाका २७६ स्थानीय तहमध्ये २० वटासँग मात्रै दमकल रहेको मन्त्रालयको विवरणले देखाउँछ । ती जिल्लामा पनि तत्कालै थप ५२ वटा दमकल आवश्यक रहेको आचार्यको भनाइ छ । तराईका जिल्लामा बर्खायाममा आगलागीको जोखिम बढी हुन्छ ।

जनघनत्व, बाक्लो बस्ती, थुप्रै पेट्रोल पम्प, प्रज्ज्वलनशील पदार्थको भण्डारणलगायतका कारण उपत्यका आगलागीको जोखिममा छ । तर उपत्यकामै पर्याप्त मात्रामा दमकल छैनन् ।

दमकल विना शहरी आगलागी नियन्त्रण कल्पना गर्न सकिन्न । अन्य उपायबाट सबै मानिस मिलेर भलै आगो निभाइएला तर, त्यसले आगो निभाउने काम मात्रै हुन्छ, क्षति न्यूनीकरण गर्न सक्दैन – किशोर भट्टराई, अग्नि नियन्त्रण विज्ञ

काठमाडौं महानगरपालिकासँग पाँच वटा दमकल छन् । तीमध्ये तीन वटा मात्रै चालु अवस्थामा छन् । बेलायत सरकारले २०६९ सालमा दिएको भोल्भो, इटालीले १९९२ मा दिएको मर्सिडिज र भारतबाट सात वर्षअघि खरीद गरिएको आइचर कम्पनीको दमकल सञ्चालनमा छन् । यी तीनवटा दमकलले काठमाडौंलाई धान्न धौ–धौ पर्छ ।

२०७३ असार पहिलो साता कीर्तिपुर नगरपालिकाले दमकल चलाउने खर्च धान्न नसकिने भनेर आफूसँग भएको दमकल जुद्ध बारुण यन्त्रलाई दिएको थियो । त्यो दमकललाई महानगरपालिकाले अहिले बौद्धमा राखेको छ ।

चन्द्रागिरि र कागेश्वरी मनोहरा नगरपालिकाले खरीद गरेको दमकल जनशक्ति नभएको भनेर चलाइएको छैन । चन्द्रागिरिका मेयर घनश्याम गिरी भन्छन्, ‘कर्मचारी अभावका कारण दमकल एक वर्षका लागि काठमाडौं महानगरपालिकालाई दिने तयारी गरेका छौं ।’

ललितपुरमा तीन वटा दमकल रहेकोमा एउटा बिग्रिएको छ । भक्तपुरमा ६ वटा दमकलमध्ये दुईवटा मात्रै चालु अवस्थामा छन् । उपत्यकामा दमकलको अवस्था थाहा पाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नायव सुब्बा राजन दाहाल भन्छन्, ‘उपत्यकामा तत्कालै अत्याधुनिक दमकल खरीद गर्नुपर्ने आवश्यकता छ ।’

नासु दाहाल उपत्यकाका घरमा हुने आगलागीका ९५ प्रतिशत घटना दमकलको सहयोगमा नियन्त्रणमा आएका हुनाले यसको प्रभावकारितामा प्रश्न उठाउनु नहुने बताउँछन् ।

तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल नेपालको भौगोलिक अवस्थिति र उच्च सञ्चालन खर्चका कारण स्थानीय निकायलाई दमकल धान्न धौ–धौ परिरहेको बताउँछन् । त्यसैले आगलागी हुनै नदिनेतर्फ सोच्नुपर्ने र भइहाले पनि दमकलको ठाउँमा अन्य विकल्पबारे पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

असनमा पानी भर्न प्रयोग गरिएको पम्प ।

असन र साँखुमा दमकलको विकल्पमा गरिएको पम्पको प्रयोग उदाहरणीय रहेको उनको भनाइ छ । ‘टोल, छरछिमेकमा हुने इनार, पोखरी, तलाउ जस्ता स्रोतबाट पानी तानेर दमकल भन्दा कम खर्चमा आगो निभाउन सकिन्छ’ उनले अनलाइनखबरसँग भने, ‘एउटा दमकल खरीद गर्ने खर्चमा १० वटा पम्प तयार हुनसक्छन् ।’

तर, जुद्ध बारुण यन्त्र कार्यालय, काठमाडौंका प्रमुख किशोर भट्टराई भने अहिलेको अवस्थामा घरमा लाग्ने आगो नियन्त्रणका लागि दमकलको कुनै विकल्प नभएको बताउँछन् ।

‘दमकल विना शहरी आगलागी नियन्त्रण कल्पना गर्न सकिन्न’ भट्टराईले अनलाइनखबरसँग भने, ‘अन्य उपायबाट सबै मानिस मिलेर भलै आगो निभाइएला तर, त्यसले आगो निभाउने काम मात्रै हुन्छ, क्षति न्यूनीकरण गर्न सक्दैन ।’

झापाको शिवसताक्षी नगरपालिकाले २०७७ असारमा नगर विकास योजना २०७७/७८ सार्वजनिक गर्दै दमकल खरीद गर्ने घोषणा गर्‍यो । बारुण यन्त्र सञ्चालन तथा व्यवस्थापन शीर्षकमा ८० लाख रुपैयाँ पनि छुट्टियो तर, अहिले त्यो बजेट रकमान्तर गरी अन्यत्रै प्रयोग गरिएको छ

भएका पनि तयारी अवस्थामा हुँदैनन्

२२ पुस २०७५ मा विराटनगर महानगरपालिका–४, जामुनगाछीमा उर्मिलादेवी दासको घरमा आगलागी भयो । लगत्तै स्थानीयवासीले महानगरपालिकाको दमकललाई खबर गरे ।

केहीबेरमा दुईवटा दमकल आगलागी भएको ठाउँमा त पुगे तर, एउटाले कामै गरेन । अग्नि नियन्त्रक त्यत्तिकै फर्किए । आगलागी भइरहेका बेला दमकल फर्किएपछि आक्रोशित स्थानीयले महानगरपालिकाविरुद्ध नारावाजी नै गरे ।

४ असार २०७७ मा इनरुवाको हनुमान बस्त्रालयमा भएको आगलागी समयमै नियन्त्रणमा आउन सकेन । नगरपालिकाको दमकल बिग्रिएको ६ महीनासम्म मर्मत नभई थन्किएको थियो । सो आगलागीमा सृजना फाइनान्स, कपिल टेलर्स, सन्तोषी हार्डवेयर, नेरोल्याक पेन्ट्सको गोदाम जलेर नष्ट भएका थिए ।

पोखरामा पनि त्यस्तै भयो । ११ असार २०७१ मा त्यहाँको सूर्य नेपाल प्रालिको गोदाममा आगलागी भयो । तुरुन्तै दमकल बोलाइयो ।

तर, पोखरामा रहेको एक मात्र दमकल बिग्रिएका कारण आगो नियन्त्रणमा लिन समस्या भयो । पछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ट्यांकरबाट ल्याएको पानी प्रयोग गरेर आगो नियन्त्रणमा लिएका थिए ।

दाङको लमही नगरपालिका, देउखुरीमा रहेको श्रीराम पेट्रोल पम्पमा ३० कात्तिक २०७३ मा आगलागी भयो । राति ११ बजेतिर आगो लाग्न थालेलगत्तै सञ्चालकले दमकललाई खबर गरे ।

तर, लमहीमा रहेको दमकल बिग्रिएका कारण आगो निभाउन दमकल तुलसीपुरबाट बोलाउनु परेको थियो ।

दमकल चालक जीतबहादुर बुढाथोकी भन्छन्, ‘पीडितलाई तनाव हुन्छ, समयभित्रै पुग्दा पनि उहाँहरू गुनासो गर्नुहुन्छ । बिग्रिएको अवस्थामा बाहेक हामी ढिलो गर्दैनौं ।’ उनका भनाइमा पानी र आगोमा काम गर्नुपर्ने दमकलमा धेरैजसो टायरमा समस्या हुन्छ । अनि कतिपय बेला ट्यांकीबाट पानी चुहिने समस्या पनि देखिन्छ ।

बुढाथोकीका भनाइमा कतिपय अवस्थामा पानी तान्ने उपकरणमा पनि समस्या हुने गर्छ । ‘सशस्त्र र प्रहरी छन् भने वेग्लै कुरा नभए कति ठाउँमा त स्थानीयले पनि आगो नियन्त्रणमा लिन सहयोग गर्दैनन् र समस्या हुन्छ’, बुढाथोकीले भने ।

काठमाडौंको एक अग्लो घरमा लागेको आगो निभाउँदै अग्नि नियन्त्रक ।

अव्यवस्थित शहर दमकललाई समस्या

शहरी क्षेत्रमा हुने आगलागी नियन्त्रणमा दमकल प्रभावकारी देखिएको जानकारहरू बताउँछन् । तर, अव्यवस्थित घर निर्माणले चाहिं कतिपय अवस्थामा समस्या सिर्जना गरेको प्रमुख कार्यकारी अधिकृत पोखरेल बताउँछन् ।

‘कतिपय अवस्थामा दमकलसमेत आगलागी भएको ठाउँसम्म पुग्न सक्ने अवस्था हुँदैन, त्यसैले आगो नियन्त्रणमा लिन समस्या पर्छ’ उनले अनलाइनखबरसँग भने, ‘रविभवनको सोल्टी सिटी अपार्टमेन्टको १४औं तलामा आगो लाग्दा दमकललाई निभाउन समस्या भएको थियो ।’

उपत्यकाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं महानगरपालिकामा भर्‍याङसमेत प्रयोग गर्न मिल्ने दमकल राखिएका छन् । यद्यपि, ती दमकलमा पनि १० तलाभन्दा अग्लो स्थानमा आगो नियन्त्रण गर्न जान सकिने सुविधा छैन ।

विपद् व्यवस्थापन मामिलाका जानकार पूर्व एआईजी ठुले राई भन्छन्, ‘अहिले भएका दमकल अग्ला संरचनामा प्रभावकारी हुने किसिमका छैनन् ।’ उनको भनाइमा, उपत्यकामा हालसम्म भीषण आगलागी भएको छैन तर भइहाले अहिलेको क्षमताले भ्याउन सक्ने स्थिति देखिंदैन ।

दरबारमार्गको भिक्ट्री लाउन्जमा भएको आगलागी

दमकल सञ्चालन प्रभावकारी बनाउन अग्नि नियन्त्रकहरूको व्यवस्थापन मुख्य विषय हो । त्यसैले अग्नि नियन्त्रकलाई सुरक्षा निकायझैं अनुशासनमा राख्न दमकलका लागि छुट्टै संरचना आवश्यक पर्ने विज्ञहरू बताउँछन् ।

जुद्ध बारुण यन्त्र कार्यालय, काठमाडौंका प्रमुख किशोर भट्टराई बारुण यन्त्रका लागि छुट्टै संरचना बनाउने प्रचलन अन्तर्राष्ट्रियरूपमै रहेको बताउँछन् । यद्यपि, कमाण्डका कारण उपत्यकाबाहिर देखिए जस्तो समस्या काठमाडौं, भक्तपुर र ललितपुरमा चाहिं नरहेको उनको भनाइ छ ।

पूर्व एआईजी राई पनि दमकल जस्तो अत्यावश्यक सेवामा खबर आउने वित्तिकै २४सै घन्टा तत्कालै रेस्पोन्स हुनुपर्ने बताउँछन् । ‘स्थानीय निकायले राम्रो व्यवस्थापन गरिरहेको भए, औंला ठड्याउने कुरा त भएन’ उनी भन्छन्, ‘तर, जनतालाई सेवा दिन भनेर राखिएको चिजले तदनुसार काम गर्न सकेन भने विकल्पको खोजी गर्नुपर्छ ।’

यो पनि पढ्नुहोस ‘हरेक स्थानीय तहले दमकल राख्नुपर्छ’

स्थानीय तहः दमकल किन्नै अनिच्छा

सरकारले २०७१ सालमा दमकल खरीदका लागि भन्दै स्थानीय विकास मन्त्रालयमार्फत विभिन्न स्थानीय तहलाई ६०/६० लाख रुपैयाँको दरले बजेट दिएको थियो । तर, २८ वटा स्थानीय तहले मात्रै दमकल खरीद गर्न सके, अन्यले नसकेपछि त्यो बजेट पुनः दिइएन ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि हालसम्म यस सम्बन्धी कार्यविधि बनेको छैन ।

स्थानीय तहहरू किन हो दमकल खरीदका लागि रुचि राख्दैनन् । एउटा उदाहरण झापाको शिवसताक्षी नगरपालिका हो । नगरपालिकाले २०७७ असारमा नगर विकास योजना २०७७/७८ सार्वजनिक गर्दै दमकल खरीद गर्ने घोषणा गर्‍यो ।

बजेट पुस्तिकामा उल्लेख भएअनुसार नगरपालिकाले यो आर्थिक वर्षका लागि बारुण यन्त्र सञ्चालन तथा व्यवस्थापन शीर्षकमा ८० लाख रुपैयाँ छुट्याएको पनि थियो ।

तर, अहिले त्यो बजेट रकमान्तर गरी अन्यत्रै प्रयोग गरिएको छ । मेयर चन्द्रकुमार शेर्मा भन्छन्, ‘एउटा विदेशी संस्थाले दिने भएपछि खरीदको प्रक्रिया अघि नबढाएका हौं ।’ तर नगरपालिकाका एक कर्मचारीका भनाइमा चाहिं दमकल किन्ने भन्दा पनि त्यसलाई सञ्चालन गर्नु स्थानीय तहका लागि चुनौती भएकाले धेरैले खरीद गर्न चासो दिंदैनन् ।

झापाको शिवसताक्षी नगरपालिका–७ मा १६ मंसीर २०७५ मा चार जनाको मृत्यु हुने गरी भएको आगलागी

मोरङको एक नगरपालिकामा कार्यरत प्रशासकीय अधिकृतका अनुसार सामान्यतया दमकलको मूल्य ७० लाख रुपैयाँ माथि पर्छ । यसका लागि कम्तीमा तीन जना कर्मचारी २४ सै घन्टा खटिनुपर्छ ।

एउटै टोलीलाई दिन–रात दुवै समयमा खटाउन नमिल्ने भएकाले दुई ‘सिफ्ट’ कर्मचारी राख्नुपर्ने हुन्छ । त्यसो हुँदा थोरैमा ६ जना कर्मचारीलाई महिनामा १२ देखि १५ हजार रुपैयाँका दरले तलब दिनुपर्‍यो ।

उनले अनलाइनखबरसँग सुनाए, ‘फेरि दमकल बिग्रिरहने हुँदा मर्मतका लागि पनि खर्च हुन्छ । त्यसैले हत्तपत्त कसैले खरीद गर्ने सोच नै राख्दैनन् ।’

तर डोजर फालाफाल

दमकल खरीदमा विभिन्न बहाना गर्ने स्थानीय तहहरूलाई डोजर किन्न भने कुनै समस्या छैन । ठूलो संख्यामा मुलुकका स्थानीय तहले आफैं डोजर किनेका छन् । जस्तो कि झापाको बुद्धशान्ति गाउँपालिकासँग डोजर छ तर, दमकल छैन ।

डोजर पनि बिग्रन्छ । त्यसलाई पनि चालक चाहिन्छ । तर ती फालाफाल किनिन्छन् । त्यसैले दमकल किन्न देखाइएको अनिच्छा आश्चर्यलाग्दो नै छ ।

हेभी इक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक तथा पूर्वअध्यक्ष ताराबहादुर कुँवरका अनुसार अहिले देशभर करीब ९४ हजार हेभी इक्विपमेन्ट छन् । यातायात व्यवस्था विभागले ६ महीनाअघि देशभरबाट संकलन गरेको तथ्यांकमा २०४६ सालयता ९३ हजार हेभी इक्विपमेन्ट दर्ता भइसकेको देखिन्छ । यसमध्ये अधिकांश डोजर, एस्काभेटर र ब्याकहोलोडर छन् ।

नेपालमा सबैभन्दा धेरै हेभी इक्विपमेन्ट बिक्री गर्दै आएको जेसीबीको आधिकारिक बिक्रेता एमएडब्लु अर्थ मूभर्सका ‘सेल्स हेड’ सूर्यप्रसाद ओझा करीब ३५ हजार मेसिन अहिले काममा सक्रिय रहेको बताउँछन् । चल्न शुरू गरेको ६ वर्षपछि हेभी इक्विपमेन्टले राम्रो पर्फमेन्स नदिने भएकाले सबै मेसिन नचल्ने उनको भनाइ छ ।

हेभी इक्विपमेन्ट व्यवसायी महासंघ आवश्यकताभन्दा बढी ‘हेभी इक्विपमेन्ट’ खरीद भएको बताउँछ । ‘देशलाई चाहिने भन्दा करीब २५ प्रतिशत बढी हेभी इक्विपमेन्ट दर्ता भइसके’ पूर्वअध्यक्ष कुँवर भन्छन्, ‘पुराना मेसिनहरू प्रविधि र प्राविधिक जनशक्तिको अभावले नबनेर थन्किएका छन्, नयाँ–नयाँ व्यवसायीहरू भित्रिएपछि सबै नयाँ मेसिन किन्न मात्रै ध्यान दिन्छन् ।’

धेरै वडा सदस्य, वडाध्यक्ष, स्थानीय तहका अध्यक्ष तथा मेयर, प्रदेश तथा प्रतिनिधिसभा सदस्यसहितका जनप्रतिनिधि पछिल्लो समय यो व्यवसायमा आएको उनी बताउँछन् ।

‘४५ लाखदेखि ३ करोडसम्मका मेसिन बजारमा छन्, औसत एउटा मेसिन किन्न ८० लाख रुपैयाँ खर्च हुन्छ’ उनी भन्छन्, ‘तर, चाहिनेभन्दा बढी मेसिन भएकाले पुराना मेसिन भएकालाई व्यवसायमा टिक्नै अप्ठेरो अवस्था आइसक्यो ।’

भन्सार विभागको तथ्यांकअनुसार पनि सन् २०१८ मा करीब ४ हजार ३००, सन् २०१९ मा २ हजार ३५०, र सन् २०२० मा १ हजार ६५० हेभी इक्विपमेन्ट भित्रिएका छन् ।

यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको सडक विभाग अन्तर्गत मात्रै अहिले १९१ वटा डोजर छन् । नायव सुब्बा दाहाल भन्छन्, ‘डोजर पनि बिग्रन्छ । त्यसलाई पनि चालक चाहिन्छ । तर ती फालाफाल किनिन्छन् । त्यसैले दमकल किन्न देखाइएको अनिच्छा आश्चर्यलाग्दो नै छ ।’

यो पनि पढ्नुहोस ‘दमकल आगो नियन्त्रणको अन्तिम विकल्प हो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment